मंगलबार १५ फागुन, २०८०

नेपाली समय

कविता: आसाका किरणहरू..

कविता: आसाका किरणहरू..

आसाका किरणहरू..

अक्सर मानिस भन्ने गर्छ, चलन पनि छ
कसैको आशमा नबस्नु, कसैको, केहिकुराको पर्खाइमामा नबस्नु,
आस गरेको नपाउँदा दुःख लाग्छ रे ।
मलाई अल्ली अपाच्य लाग्छन्
यी विचारहरू, वास्तविकता देखि दूर,
मानवतादेखि दूर,
क्रूर संसारको भावना हीन तर्क जस्तो ।

मलाई लाग्छ भावनाले नै मानवता झल्काउँछ,
अनि आस गर्नु पनि त मानव भावना हो,
आसले नै मानिसका सपना जीवित गराउँछ,
केही पाउने, केही बन्ने आसले नै मानिसको जीवन सार्थक बनाउँछ
र त हाम्रो जिन्दगीमा आस अभिन्न पाटो हो ।

आस बिना, भावना बिना मानिस निर्जीव जस्तै हुन्छ,
जीवित जतिपनि प्राणी छन्,
तिनीहरू कुनै न कुनै आसमा बाचेका हुन्छन् ।
चराको मुखबाट खसेको दानाले पनि त हुर्कने इच्छा शक्ति व्यक्त गरेरै माटो छेडेर उम्रन्छ
अनि राम्रो हावापानी अनि तत्त्व पाउने आसमा आफूलाई जीवित राख्दछ,
सयौँ पटक काटिएको रुखले पनि त आफू कैले पलाउन छोड्दैन ।

त्यसैले त कसैको आसमा बस्नु राम्रो हो,
जीवित प्राणीको परिचय हो ।
नभए त मानिस मानिस नभई मेसिन पो हुन्थ्यो,
भाव हीन,
अर्थहीन,
परिचय हीन ।

अशोक कुमार कार्की 

(भोजपुर)