२७ सय विद्यार्थीले पाए ६० लाख बरावरको झोला र शैक्षिक सामग्री

भोजपुर, २ साउन । पौवादुङमा गाउँपालिकाका सम्पूर्ण विद्यालयका विद्यार्थीलाई झोलासँगै शैक्षिक सामग्री वितरण गरिएको छ । यहाँका ३३ ओटा सामुदायिक विद्यालयका बाल कक्षा देखी कक्षा–८ सम्मका करिब दुई हजार सात सय विद्यार्थीलाई करिब रु. ६० लाखको सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ । विद्यार्थीलाई झोलासँगै कलम,कपी, हाईजेनिक किड्स लगायत दर्जन बढी शैक्षिक सामग्री दिइएको हो ।

शैक्षिक विकासका लागि गाउँपालिकाले नीति तथा कार्यक्रम तयार गरेर काम गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । गाउँपालिकाले शैक्षिक विकासका लागि प्राविधिकमुलक शिक्षामा जोड दिइरहेको अध्यक्ष राईको भनाइ छ । अध्यक्ष राईले भने,‘हामीले यहाँको शैक्षिक विकासका लागि प्राथमिकताका साथ काम गरिरहेका छौँ । यहाँबाट उत्पादन भएका विद्यार्थीहरूले देशका अन्य विद्यालयका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्ने वातावरण दिने लक्ष्यका साथ काम भइरहेको छ । जसको लागि कम्प्युटर कक्षा, विज्ञान ल्याब, पुस्तकालय स्थापना, भौतिक विकास लगायतमा तीव्रताका साथ काम गरिरहेका छौँ । यसको नजिता पक्कै पनि सुखद हुनेछ भन्नेमा म ढुक्क छु ।’

झोला तथा शैक्षिक सामग्री वितरण गर्ने संस्थालाई धन्यवाद दिँदै अध्यक्ष राईले भने,‘ निकै ठुलो मेहनत तथा पहलकदमीले आज हाम्रा सबै विद्यार्थीले झोला र शैक्षिक सामग्री पाएका छन् । संस्थासँग धेरै पटक छलफल, परामर्श गरे पश्चात् हामीले यो सफलता पाएका छौँ । यो आर्थिक रूपमा पनि निकै ठुलो लगानी हो । हामीलाई विश्वास गरेर यति ठुलो सहयोगको लागि यस केन्द्रलाई गाउँपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गर्दछु ।’

गाउँपालिकाले राष्ट्रिय अपाङ्ग पुनः स्थापना केन्द्रको सहयोगमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो । केन्द्रले चीनको एक संस्थासँग सहकार्य गरेर यस गाउँपालिकाका सबै विद्यालयमा सामग्री वितरण गरेको केन्द्रका कानुनी सल्लाहकार देवीराम उपाध्यायले जानकारी दिए ।
सल्लाहकार उपाध्यायले भने,‘ गत वर्ष पनि यहाँका केही विद्यालयमा हामीले झोला वितरण गरेका थियौँ । गाउँपालिकाको निरन्तर पहलकदमीका कारण यहाँका सबै सामुदायिक विद्यालयलाई यस वर्ष पूर्णरुपमा वितरण गर्न सफल भएका छौँ । गाउँपालिकाका सबै विद्यालयमा हाम्रो केन्द्रले गरेको सहयोग पहिलो नै हो । यो गाउँपालिका अध्यक्षले निर्वाह गर्नु भएको भूमिकाको उपज हो ।’

उपाध्यायले चीनको ‘चाइना फाउन्डेसन फर पभर्टी एलेभेसनको सहयोगमा नेपालका विभिन्न विद्यालयहरूमा सहयोग गर्दै आएको जानकारी दिए । गाउँपालिकाले विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरणसँगै न्यानो कपडा वितरण, विद्यार्थीलाई थप प्रोत्साहन गर्नको लागि गाउँपालिका अध्यक्ष अक्षयकोष स्थापना गरेर छात्रवृत्ति वितरण लगाएका गतिविधि सञ्चालन गरिरहेको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिइन । शिक्षा क्षेत्रमा धेरै काम गर्नु पर्ने भए पनि स्थानीय सरकारको सीमित श्रोत साधन कारण पनि समस्या हुने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको