राष्ट्रिय जनगणना–२०७८ मा सक्रियताका साथ सहभागी हुन आफ्नो समुदायलाई राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको आह्वान 

काठमाडौं, २७ कार्तिक । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले राष्ट्रिय जनगणना २०७८ मा सक्रियताका साथ सहभागी हुन आफ्नो समुदायका नागरिकलाई अपिल गरेको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा ‘राष्ट्रिय जनगणना २०७८ सम्बन्धी बृहत् सचेतना अन्तरक्रिया’ कार्यक्रमको आयोजना गर्दै महासंघले यस्तो भनेको हो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय ख्रीष्टियन महासंघका अध्यक्ष सिबी गहतराजले नेपालका सम्पूर्ण ख्रीष्टियनहरुलाई यस जनगणनामा ख्रीष्टियन भनेर ५ नम्बरमा टिक लगाउन आग्रह अपिल गरेका छन् । उनले भने,‘यो जनगणनालाई सफल बनाउन ख्रीष्टियन समुदायलाई आग्रह गर्न चाहन्छु । हामी सबै मिलेर यसलाई सफल पार्छौ तर, आस्था र धर्ममा यहाँ ठुलो चलखेल हुँदैछ । खबरदार यसो गरियो भने हामीलाई यो जनगणना स्वीकार्य हुँदैन । सबै धार्मिक समुदायको भावनालाई गणकले सम्मान गर्नुपर्छ । पेन्सिलको प्रयोग गर्नुहुँदैन ।’

उनले अहिले कोही कोही व्यक्तिहरू हिन्दुको प्रतिशत ९० बनाउँछु भनेर लागेको पनि सुनाए । उनले भने,‘खबरदार कागजमा जुनसुकै बनाउनुहोस्, हाम्रो धर्ममा कति मान्छे छन् भन्ने कुरा हामीलाई पनि थाहा छ । यदि त्यसो भयो भने हामीले आफैले गणना गर्छौँ ।’

नेपाली ख्रीष्टियन समुदाय र चर्चका लिडरहरूलाई उनले यो जनगणनाको बेलामा टोलटोलमा पहरेदार भएर बस्न पनि अपिल गरेका छन् । उनले भने,‘यदि खीष्टियन लेखिएको ठाउँमा अन्य लेखियो भने राष्ट्रिय ख्रीष्टियन महासंघमा खबर गर्नुहोस् । त्यसको लागि के गर्नुपर्छ हामी गर्नेछौँ ।’

नेपाली ख्रीष्टियन समाजको स्थिति २०२१ परियोजनाको प्रमुख धनराज घिमिरेले पनि आफ्नो धारणा राखेका थिए । उनले नेपाल सरकारले सुरु गरेको राष्ट्रिय जनगणना २०७८ सबैका लागि महत्त्वपूर्ण रहेको सुनाए ।

उनले नेपालमा अनौपचारिक रूपमा हेर्दा करिब ३० लाखको हाराहारीमा ख्रीष्टियन रहेको तथ्याङ्क सुनाए । उनले भने,‘अहिले देशभरि १२ हजार चर्च रहेका छन् । यद्यपि  यसको यकिन तथ्याङ्क हामीले लिन सकिरहेका छैनौँ ।’

नेपाली ख्रीष्टियन समुदायलाई विभिन्न तत्त्वहरूले अपमानित गरिरहेको अवस्था पनि उनले सुनाए । उनले भने,‘राज्यबाट पाउनुपर्ने अधिकारबाट पनि वञ्चित गरिएको छ ।  सरकारी कार्यालयमा हामी ख्रीष्टियन हौँ भन्दा त्यहाँपनि अपहेलना गरिने गरिएको हामीले महसुस गरेका छौँ । त्यसैले सरकारले सबै धर्मलाई समान ढङ्गले हेर्नुपर्छ । यो नै नेपाली ख्रीष्टियन समुदायको माग हो ।’

उनले राष्ट्रिय जनगणना २०७८ आफूहरूको लागि निकै महत्त्वपूर्ण रहेको सुनाए । यसअघि २०६८ को जनगणनामा नेपाली ख्रीष्टियन समुदायको संख्या एकदम न्यून देखाइएको उनको गुनासो छ । उनले भने,‘त्यो हामीलाई स्वीकार्य थिएन र छैन ।  कसैको दबाबमा नपरेर जति संख्या रहेको छ त्यति नै तथ्याङ्कमा उल्लेख गर्न राष्ट्रिय तथ्याङ्क विभागलाई हाम्रो जोडदार अपिल छ ।’ गणकहरू घरदैलोमा जाँदा ख्रीष्टियन समुदायलाई सतर्क भएर हेर्न पनि उनले आग्रह गरे । उनले भने,‘पेन्सिलले लेखिरहेको भए त्यो गलत हो त्यहाँ पेनले लेख्नको लागि हामी आग्रह गर्दछौँ ।’

कार्यक्रममा बोल्दै जनसंख्या विज्ञ प्रा.डा. योगेन्द्र गुरुङले एक अध्ययन सुनाउँदै ख्रीष्टियनमा दलितहरू धेरै रहेको सुनाए । उनले भने,‘ख्रीष्टियनभित्र पनि जात व्यवस्था रहेको छ । बुद्धिजम, मुस्लिममा पनि ठुलो जात र सानो जात भन्ने धेरै नै छ । त्यसैले जबसम्म यो जात व्यवस्थाबाट हामी बाहिर निस्किन सक्दैनौँ । यो जनगणनामा पनि त्यसको रिफ्लेक्सन् परेको छ जस्तो मलाई लाग्छ ।’

जनगणना क्रमशः प्रजातान्त्रिक र जनमुखी हुँदै आएको उनले सुनाए । उनले भने,‘१९९१ मा जनगणनामा पहिलोपटक जातजाति उल्लेख गरिएको थियो । यसपटक वडा स्तरदेखि नै सञ्चालन गरेको हुँदा र गणकहरू पनि स्थानीस्तरकै भएको हुँदा यसपटकको जनगणना प्रभावकारी हुन्छ । त्यसैले तथ्याङ्कमा कुनै तलमाथि हुँदैन भन्ने परिकल्पना गरिएको छ । नयाँ संरचनामा पहिलो जनगणना भएको हुँदा यो जनगणनामा समावेशी रहेको छ । यस्तै पहिलोपटक गणनाको इतिहासमा संसारमै कतै नहुने सामुदायिक प्रश्नावली रहेको छ । जुन एउटा वडामा एउटा भरिन्छ यो नौलो विषय हो । यस्तै यसपटक तथ्याङ्कमा स्तरियता हुन्छ ।’

जनजाती महासघंका पूर्व महासचिव आङकाजी शेर्पाले जबसम्म खुल्लामञ्चमा दशैंको फूलपातीमा हर्षबढाइँ हुने, बाहुनले जनै फेर्दा तोप पड्काउने, हिन्दुको चाडबाडमा १५ दिन बिदा दिने तर अरूको चाडबाडमा दिएको एक दिनको बिदा पनि कटौती गरिन्छ तबसम्म हिन्दुको तथ्याङ्क घट्ने अनि मुस्लिम, ख्रिटियन र बुद्धिष्टको जनसंख्या बढ्छ भन्ने दिवा सपना त्याग्न आग्रह गरेका छन् ।

उनले भने,‘यसको कारण के हो भने ८० हजार गणकमा १५  हजार पनि गणक धर्मनिरपेक्ष पक्षधर छैनन्  । बाँकी कमल थापा र ज्ञानेन्द्रको हण्डी खाने र भारतको योगी आदित्यनाथको हण्डी खाएर उनीहरूलाई प्रशिक्षण दिएर जसरी भएपनि हिन्दु लेख्नु भनेको छ ।’

अबको जनगणनाले ८६ प्रतिशत हिन्दुको जनसंख्या कायम राख्यो भने सबैले हातमा आगोको मुस्लो लिने र चारै दिशाबाट तथ्याङ्क विभाग जलाउनुको विकल्प आफूहरूसँग नभएको उनको चेतावनी छ।

ईस्लाम सोसाईटीका अध्यक्ष नजुरेल हुसेनले केही ठाउँमा मान्छेको नाम मात्र लिएर अरू डाटा अफिसमा गएर भर्छु भनेर गणकहरूले लगेको भन्ने सुनिएको उल्लेख गदै आपत्ति जनाए । उनले भने,‘कसैले पेन्सिलले लेखेको भन्ने कुरा सुनिएको छ । यस्तो गर्नु गम्भीर गल्ती हो ।’

उनले अर्को धर्मलाई कम देखाएर आफूहरू ठुलो भनेर अरूलाई सधैँ दबाउने आपराधिक मानसिकताबाट निस्किनुपर्ने पनि बताए । उनले भने,‘यस्तो मानसिकता गणकमा नहोस् ।  यस्ता विकृति रोक्न आवश्यक रहेको छ । मानव–मानव बिचमा वादविवाद रहनु एकदम गलत हो । यसलाई हटाउनुपर्छ । हामीले यो अभियान आफूबाट सुरु गरौँ ।’

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको