चाडबाडको नाममा विकृति; अनुगमन गर्ने निकाय मौन रहँदा जनता मारमा

तिहार सुरु भइसकेको छ । धनतेरसबाट प्रारम्भ भएको तिहार आज गोवर्द्धन पूजामा पुगिसकेको छ । भोलि भाइटीका हो । बजारमा सामान किनमेल गर्नेको चर्को भीड देख्न सकिन्छ । तिहारमा दाजुभाइलाई उपहार स्वरुप दिन भाइमसला, मिठाई र फलफूल किन्नेहरूको चाप बढ्दो छ ।

सप्तरङ्गी टीका बेच्ने पनि उत्तिकै छन् । किन्नेको पनि कमी छैन । स्टल नै पिच्छे भाइमसला बेच्न राखिएको छ । दाजुभाइलाई टीकालगाउन चाहिने एकाएक सामान बजारमा पाइन्छन् । पुरा सडक नै ढाक्ने गरी सामान बेच्न राखिएको छ । यता, ओहोरदोहोर गर्ने मानिसहरूलाई भने निकै कठिनाइको सामना गर्नुपरेको छ ।

सामान त जतिपनि छन् तर महँगीले पनि साथ छोडेको छैन । बजारमा सामानको भाउ सोध्ने हो भने कतिपयको त सातो उड्ला । बिहान कमाएर बेलुका छाक टार्नेले त सामान छुन पनि नसक्ने गरी महँगी बढेको छ । पसल नै पिच्छे सामानको मूल्य फरक फरक छ । अहिले हरेक सामानको मूल्य दोब्बर भएको छ । फूल र मालामा पनि त्यति नै चर्को मूल्यवृद्धि भएको छ । महँगीले जनताको ढाड सेकेको छ तर सरकार भने मौन छ । बजार अनुगमनमा सम्बन्धित निकायको ध्यान गएको छैन । बजार महँगीसंग सामानको भाउ दाँज्ने हो भने साधारण रूपमा एकजना दाजु वा भाइलाई टीका लगाउँदा पाँच हजार रुपैयाँ यत्तिकै खर्च हुन्छ ।

कसैले पनि पैसाको लागि टिका लगाउँदैनन् । तर सामान खरिद गर्न त पैसा चाहिन्छ नै । चाडबाडको मौका छोपेर मिठाइ पसलेहरूले गुणस्तरहीन सामान बिक्री गरिरहेको छन् । खानयोग्य नभएको मिठाई बेचेका छन् मिठाइ पसलेले, अनि पैसा पनि मनलाग्दी लिएको छन् । मिठाई बनाउने ठाउँ कसैले देखेको छ रु मिठाई बनाउने ठाउँ निकै नै फोहोर र सफासुग्घरहीन छन् । मिठाई बनाउन प्रयोग हुने भाँडाकुँडा पनि महिनौँदेखि नमाझिएका जस्तो देखिन्छ । मिठाइ बेच्नचाहिँ राख्ने तर मिठाइचाहिँ छोप्दैनन् । अहिले त झन् मिठाई पसलेलाई समेत तिहार लागेको छ ।

रोडमा ल्याएर मिठाइ बेच्न राखेको छन् । मिठाइहरू छोपेको पनि छैनन् । धुवाँ धुलोले सबै मिठाइ नै ढाकेको छ । मिठाइ पसलेहरूले कम तौल सामान दिन्छन् , पैसा भने आफ्नो हिसाबले लिन्छन् । मिठाइ आकर्षक देखाउन विभिन्न केमिकल मिसाउने गरेको छन् ।  मिठाइ बनाउनेदेखि बेच्ने मानिसहरू हामीले देखेका छौ । गञ्जी र गम्छा बेरेका हुन्छन् , त्यही पनि फोहोर । यस्तो मिठाइ किनेर खानु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु जस्तो हो । एकातिर पैसाको नाश त्योभन्दा नि ठुलो आफ्नो स्वास्थ्यको सत्यानाश ।

चाडबाड त व्यापारीहरूलाई लागेको छ । जस्तो मनलाग्यो त्यस्तै सामान बेचेका छन् । हामी जनताहरू पनि चाडबाडको नाममा गुणस्तरहीन सामान किनेर खाइरहेको छौ । मिठाइ पसलेहरूले अनुगमन गर्ने टोलीलाई किनेर जनताको स्वास्थ्यमाथि खेलबाड गरेको प्रष्टै बुझिन्छ । उपभोक्ता मञ्चका नेताहरू जनता हाम्रो लागि देउता हुन् भन्दै ठुलठुला भाषण गर्छन् । जुनचाहिँ व्यापारीहरूले मञ्चका नेताहरूलाई पैसा दिएन त्यो व्यवसायीकामा मात्रै छापा मार्छन् । जनता ठग्ने व्यापारीबाट पैसा पाइपछि यिनीहरूले त्यस्ता व्यापारीलाई खुल्ला छोडिदिन्छन् ।
पैसा नपाउञ्जेल मात्रै हुन् अनुगमन गर्ने पैसा पाइसकेपछि अनुगमन टोली र उपभोक्ता मञ्चका नेताहरू आफै बिलाउँछन् । अनुगमन टोली र उपभोक्ता मञ्चका नेताहरू बिक्दा पनि महँगीले सीमा नाघिसकेको छ । गरिब जनता महँगीको भार थेग्न नसकेर मर्नुपर्ने स्थिति आएको छ ।
पहिले(पहिले दिदीबहिनीहरूले दाजुभाइलाई टीका लगाउन चाहिने सामान सबै आफ्नै घरमा तयार पार्थे । सेलरोटीदेखि लिएर फूलका मालाहरु सबै आफ्नै घरमा बन्थ्यो । अरू केही नभएपनि कोसेलीस्वरुप डालाभर सेलरोटी बोकेर जान्थे । टीका लगाउने दिन दाजुभाइलाई खाना खुवाउन चामलसहित आफ्नै घरबाट लिएर जान्थे ।

आफ्नै घरदेखि तरकारी चामल लिएर माइती पुग्थे दिदीबहिनीहरु । त्यतिखेर आफूले जे सकिन्छ त्यही खुवाउनपर्छ भन्ने मान्यता थियो । दिदीबहिनीहरूले पनि टीका लगाइदिए बापत दक्षिणाको आश गर्दैन थिए । पछिल्लो केही वर्षयता, दिदीबहिनीले टीका लगाउन सामान किन्दा उठेको पैसा पनि दक्षिणा पाइएन भन्ने गुनासोहरू सुनिन्छ ।

परम्परागत चालचलनलाई निरन्तरता दिने चाड हो तिहार । तर, सामान बेच्ने र किन्नलाई मात्र तिहार मनाएजस्तो देखिन्छ । दिदीबहिनी सामान बेच्ने, दाजुभाइ सामान किन्ने । हाम्रो मौलिकता नै हराएर गइसकेको छ । पैसा दिन नसक्ने दाजुभाइले त टीका लगाउन छोडिदिए पनि हुने स्थितिको सिर्जना भइसकेको छ ।

पहिलेको चालचलन र संस्कृति सबैले बिर्सिसकेको छन् । आजभन्दा केही वर्ष अघिसम्म दिदीबहिनी दाजुभाइलाई टीका लगाउन दुईतिन दिनको बाटो हिँडेर माइती जान्थे । आफ्नो कर्तव्य निर्वाह गर्थे । अहिले त दिदीबहिनीले आफ्नो घरमा दाजुभाइ बोलाउँछन् । चालचलन नै उल्टो भइसकेको छ । टिका लगाउन अहिले त दाजुभाइलाई दिदीबहिनीले आफ्नो घरमा बोलाउँछन् । अहिले बजारमा हरेक थोक पाइन्छ । थरिथरिका सामानहरू बजारमा बेच्न राखिएको छ । दिदीबहिनीहरूले जेजे मनलाग्यो त्यहीँ उठाउने गरेको छन् । अनि आफूले खर्च गरेको पैसाचाहिँ कतिपयले दाजुभाइसँग नै उठाउन खोज्छन् । आफूले खर्च गरेको पैसा उठेन भने अर्को सालदेखि टिका लगाउन जाँदैनन् । दाजुभाइहरू पनि टिका लगाउन नपरोस् भनेर विभिन्न बहाना बनाउँछ । पैसाको लागि टीका लगाउने सोचले गर्दा विकृति बढेको छ ।

यस्तै हो भने हाम्रो परम्परा मासिन पनि बेर लाग्दैन । यो कुरालाई गहन रूपमा नहेरिदिने हो भने तिहार नै सङ्कटमा पर्न सक्छ । बजारमा जेजे पाइन्छ त्यो सबै किन्नपर्छ भन्ने छैन । आफूले जति सकिन्छ त्यति नै किन्ने । दक्षिणा पनि जति पाइन्छ त्यसमै खुसी हुनुपर्छ ।

केही वर्षअघिदेखि व्यापारीहरूले थोरै सामान हालेर मसलाका प्याकेट बनाउने र जनता ठग्ने काम गरिरहेको छन् । फलफूल, दुग्ध जन्य पदार्थ, माछामासु पसलेहरुले पनि आफूखुसी भाउ राखर जनता ठगेका छन् । व्यापारीहरू आफू कमाउने अनि दिदीभाइका सम्बन्ध बिगार्ने र चाड सङ्कटमा पारिदिने काम गरिरहेको छन् ।

नेपाल सरकार र हामी जनताले व्यापारीको पोलेसी बुझेनौ भने चाडबाड नै सङ्कटमा पर्छ । मानौँ चाडबाड नै विस्थापन हुनसक्ने स्थिति आउँछ । आफ्नो घाँटी हेरेर हाड निल्नु भन्ने उखान अहिले पनि निकै प्रख्यात छ । टीका लगाउने नाममा कसैको सम्बन्ध नबिग्रियोस् ।

हाम्रो चालचलनलाई पैसामा बेच्ने र किन्ने काम कसैले नगरौँ । ऋण खोजेर टिका लगाउन पर्छ भन्ने छैन । जे सक्छौ त्यसमै खुसी हुन सिकौँ । देखासिकीको पछि लागेर बढी खर्च नगरौँ । आफ्नो संस्कृतिलाई विकृतिको रूपमा फैलाउने काम कसैबाट पनि नहोस् । यो समस्या निम्तिएको नै महँगी र फितलो अनुगमनले गर्दा हो । सरकारले चलाउनुपर्ने देश व्यापारीले चलाएको कारण देशका जनता मर्नुपर्ने स्थिति आएको छ ।

– अनुषा थापा
(भक्तपुर)

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको