शनिबार १२ जेठ, २०८१

नेपाली समय

शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन आग्रह

शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन आग्रह

काठमाडौँ, ४ चैत । विभिन्न राजनीतिक दलका नेताहरूले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन आग्रह गरेका छन् । यहाँ आज आयोजित ‘शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय व्यवस्थापन’ विषयक अन्तर्क्रियामा नेताहरूले शान्ति प्रक्रियामा उल्लेख भएअनुसार न्याय सम्पादन गरिनुपर्नेमा जोड दिनुभयो ।

नेकपा (क्रान्तिकारी माओवादी)का वरिष्ठ नेता सिपी गजुरेलले जनयुद्धकालीन घटनालाई नियमित अदालती प्रक्रियामा लिए नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मात्रै नभएर तत्कालीन सात राजनीतिक दलका नेताहरू पनि उत्तिकै जिम्मेवार रहेको तर्क गर्नुभयो । सशस्त्र द्वन्द्वका पीडितले न्याय चाँडो पाउनुपर्ने बताउँदै उहाँले न्यायका लागि शान्ति प्रक्रियाअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगबाट टुङ्गो लगाउनुपर्नेमा जोड दिनुभयो ।

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बाँस्तोलाले गणतन्त्र ल्याउन बलिदान गर्नेहरूमाथि नै मुद्दा लगाइएको भन्दै आपत्ति  जनाउनुभयो । सोही पार्टीका  प्रवक्ता हेमन्तप्रकाश ओलीले राजनीतिक विषयलाई राजनीतिक विषयभन्दा कानुनी विषयमा हल गर्न खोजिएकाले समस्या पैदा भएको तर्क गर्नुभयो । माओवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव रामनारायण पालले सशस्त्र द्वन्द्वको इतिहासलाई संविधानले स्वीकार गरिसकेको बताउँदै द्वन्द्वका पीडितहरूलाई न्याय नियमित अदालतमा दिन नमिल्ने बताउनुभयो ।