शनिबार १२ जेठ, २०८१

नेपाली समय

हेटौँडा सामुदायिक आँखा अस्पतालद्वारा ९७ हजार चार सय नौ जनालाई सेवा प्रदान

हेटौँडा सामुदायिक आँखा अस्पतालद्वारा ९७ हजार चार सय नौ जनालाई सेवा प्रदान

मकवानपुर, २ चैत । हेटौँडा सामुदायिक आँखा अस्पतालले एक वर्षको अवधिमा पाँच हजार दुई सय ६४ जनाको आँखाको शल्यक्रिया गरेको छ ।

अस्पतालले सन् २०२२ मा मात्रै तीन हजार सात सय ७८ वटा ठुला र एक हजार चार सय ८६ वटा साधारण शल्यक्रिया गरेको अस्पतालका व्यवस्थापक सुधीर श्रेष्ठले जानकारी दिनुभयो । सो अवधिमा अस्पतालले ९७ हजार चार सय नौ सेवाग्राहीलाई उपचार गरेको उहाँले बताउनुभयो ।
अस्पतालले एक वर्षको अवधिमा मकवानपुर, बारा, सिन्धुली, रौतहट, सर्लाहीलगायत जिल्लाका ग्रामीण क्षेत्रमा ५९ स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गरेकामा १२ हजार तीन सय ३६ जनाले उपचार गराएका व्यवस्थापक श्रेष्ठले बताउनुभयो ।

ग्रामीण भेगमा पुगेर गरिएको निःशुल्क जाँचपश्चात् शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामीहरूलाई अस्पतालले निःशुल्क सेवा उपलब्ध गराएको थियो । एक हजार ७३६  सेवाग्राहीले साना तथा ठुला शल्यक्रिया निःशुल्क प्राप्त गरेका थिए ।

गैरनाफामूलक संस्थाका रुपमा सञ्चालित सो अस्पतालमा दैनिक तीन सय जनाको हाराहारीमा आँखा जाचाउन आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालले आँखा जाँच तथा बिरामीको अवस्था हेरेर शल्यक्रिया गर्दै आएको छ ।

स्वास्थ्य बिमा कार्यक्रम लागू भएसँगै बिरामीको चाप बढ्न थालेको र अस्पतालमा आउने बिरामीमध्ये ५० प्रतिशतले स्वास्थ्य बिमामार्फत सेवा लिइरहेको जनाइएको छ ।