अन्तर्विरोधको सञ्चालनमा मध्यमार्गी भूमिका

देशको राजनीति यतिधेरै विषम बन्दै गएको छ। सरल रेखामा एक निमेषपनि टिक्न नसकेको अवस्थामा रहेको छ। सकारात्मक र नकारात्मकबीचको द्वन्द्वमा हजारौँ हारबाट निस्केको तनिक जितपनि त्यसको संस्थागत बन्ने अवसर नै नपाई पुन: जालझेलको प्रपञ्चको सिकार बन्ने र सकारात्मकले आफ्नो जरा गाड्न नपाउँदै नकारात्मकले मुन्टो ठड्याउने त्योपनि सर्वाङ्ग कलात्मकरुपमा ! किन भइरहेछ निरन्तर यस्तो ? के सकारात्मकताले स्थायित्व पाएर देश स्वाधीन, समृद्ध र सबल बन्ने सौभाग्य देशको नियतिभित्र शून्य छ ? त्यसैले देशको दुर्भाग्य बनेको अपूर्ण विजयलाई प्रश्रय दिँदै आएको मध्यमार्गीहरूको संक्षिप्त विवेचना यो रचनाको मूल उद्देश्य सम्झौँ ।

लामो समयदेखिको एमाले विवाद केपी भर्सेस माकुनेको खिचातानी नयाँ नभएपनि नयाँ संविधान कार्यान्वयनमा बाम मौलिकता दिने पवित्र आकाँक्षा प्रेरित भई अझ समाजवाद प्राप्तिको महान् उद्देश्यद्वारा प्रेरित भएर नेकपाको निर्माणसम्म पुग्यो । जतिखेरको संघर्षको ध्रुव पुकदा भर्सेस खड्ग प्र. ओलीको नामबाट स्थापित भयो । यद्यपि पात्र भिन्न भएपनि प्रवृत्ति एकाध कार्यनीतिक मामलामा बाहेक फेरिएन । केपीको प्रवृत्ति सुरुवात देखिनै अग्रगमन विरुद्ध प्रतिगामी अग्रचेतना भने अन्य नेताहरुको चेतना गतिशीलताको लागि अग्रगामी योजना सार्थक बनाउने नै थियो । समय सन्दर्भ फेरिएपनि, संघर्षको मोहरी फेरिएपनि, ऐजेण्डाहरुमा विविधीकरण आएपनि प्रवृत्तिगत विशेषता सधैँ एउटै रह्यो । यो एक प्रकारले सामन्तवादी पुरातनको रक्षाको लागि यथास्थितिको वकालत र आमूल परिवर्तनको अग्रगामी योजनाबद्ध गर्नको लागि गरिएको वर्गसंघर्षकै रूप मान्नु पर्छ । हाल उक्त मोर्चामा जवर्जस्त रूपमा भिम रावललगायतको दश भाइ उभिन पुगेका छन् । थाह छैन.. समयले ककसलाई यो मोर्चामा उभ्याउने हो ?

खासगरि बाम आन्दोलनले सजीव पार्टीहरूमा दुईलाईन सङ्घर्षलाई सार्वभौम यथार्थ मानिन्छ । हरेक सजीव वस्तु वा प्राणीमा निरपेक्ष रूपमा लागू हुने अरू केही चिज छ भने त्यो अन्तरसंघर्ष वा दुईलाईन संघर्ष नै हो । जीवन र मृत्युकोबीचमा आउने यो अनिवार्य र अपरिहार्य सत्य हो यो । चुम्बकमा उत्तरी र दक्षिणी ध्रुव निरपेक्ष भएजस्तै सामाजिक संघर्षको प्रतिबिम्ब बोकेको पार्टीभित्रको अन्तरसंघर्षलाई खासगरि नेपाली राजनीतिमा माओवादी शिक्षा एकता संघर्ष र रूपान्तरण नै हो । जबकि विगतको तितो अनुभव एकता संघर्ष र फुट वा विसर्जन थियो ।

चुम्बक जति चरण टुक्राएपनि उत्तरी र दक्षिणी ध्रुबको बिभक्तिकरण भएझैँ पार्टीहरू टुक्रिँदा वा फुट हुँदापनि अग्रगामी वा प्रतिगामी तप्का जीवन्त रहने तथ्य हाम्रो सामु छ । किनकि हामी वर्गीय समाजमा छौँ, सबैको चेतना आफ्नो भौतिक परिवेशले निर्धारण गरेको परिधिभित्र कैद छ, त्यसैले एउटै वस्तुलाईपनि आ–आफ्नो धरातल अनुसार त्यसको प्रतिबिम्ब देख्ने र सामाजिक रूपान्तरणमा त्यसको भूमिकामा अग्रगामी वा पश्चगामी खुट्ट्याउने चेतना त्यहीँबाट पैदा हुने हुँदा यसलाई अन्यथा मान्नुपनि हुँदैन । त्यसैले तानातानको अवस्थामा दुई ध्रुव वा दुई लाइन नै भएपनि त्यसलाई जोड्ने मध्य बिन्दु हुने गर्दछ, त्यसले सकेसम्म दुई तिरै फर्केको दुवै बिन्दुको मिलनकेन्द्रको रूपमा काम गरेपनि तिनको असफलताले वस्तुमा विभाजन आउने र विभाजित नयाँ वस्तुमा पनि छेउ र टुप्पाको रूपमा नयाँ आधारमा नयाँ ध्रुवहरू स्थापित हुहुकासाथै मध्य बिन्दुको रूपमा नयाँ संयोजनकारी भूमिका निर्वाह फेरी कुनै न कुनै बिन्दुले गर्छ ।

त्यस्तै एमाले वा माओवादी केन्द्र बनिसकेपछि पनि त्यसका ध्रुवहरू, मध्यबिन्दुहरु भिन्न भिन्न अवस्थामा भिन्न भिन्न व्यक्ति, वा शक्तिहरूले निर्वाह गर्दै आएको छ । एमाले मात्र हुँदा माधव र केपीको दुई ध्रुवबीचमा बसेर केही व्यक्तिहरूले मध्यमार्गी भूमिका निर्वाह गरे, डवल नेकपा हुँदा केपी र पीकेको  दुई ध्रुवकोबीचमा बामदेव लगायतले गरे भने केपीले माधवहरूलाई तान्न खोज्ने, पीकेले पनि उनीहरूलाई तान्न खोज्ने हुँदा ध्रुवकै रूपमा स्थापित हुन नसकेका उनीहरुपनि मध्यमार्गीकै रूपमा स्थापित थिए, जो अदालती प्रकृयाद्धारा नेकपा नरहेपछि अस्तित्वमा आएको दुई पार्टीमध्ये एमालेमै बस्ने निर्णयद्वारा पुष्टि भयो । जब केपीको नितान्त अलोकतान्त्रिक प्रतिगामी हरकत सार्थक बनाउनको लागि निषेधकारी भूमिकामा ब्रेक लागेन तब मात्र स्वतह केपी भर्सेस माधव ध्रुव बन्न बाध्य बन्यो, तब मिम रावल लगायतले मध्यमार्गी भूमिकामा उत्रियो । तर अव माधवको नेतृत्वमा नयाँ पार्टी बनिसकेपछि मध्यमार्गी बनेकाहरू नयाँ ध्रुव बन्न विवश हुन्छन् यो सामाजिक अन्तविरोधको अनिवार्य नियम हो ।

अन्तर्विरोधमा दुई ध्रुवबीचमा तानातान हुँदा मध्यमार्गीहरू प्राय पार्टीभित्रको विद्यमान विकृति विसङ्गतिको विरुद्धमा अग्रगामी निकासको निम्ति लालायित हुन्छ, तर जब बिभाजनको संघारमा पुग्छ, तब पार्टी भित्रको विरासत, सत्ता र शक्तिको शान शौकत, आदिको रक्षार्थ पार्टी अविभाज्य बनाउने बहानामा पार्टीको मूल शक्तिसँग पद–प्रतिष्ठाको सौदावाजीको खेलो मेलोमा लाग्छन् वास्तवमा मझौलावादी नेताहरूमा देखिने यही द्वैध चरित्रले नै विद्यमानतालाई बचाइराख्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ । उनीहरू आफै केही समय अगाडि कल्पना गरेको नयाँ रूपान्तरित अवस्था पाउनको निम्ति समय सामर्थ्य र नयाँ प्रकारको त्याग तपस्याको नालीबेली नै बुन्नुपर्ने हुन्छ । पछिल्लो चरणमा भिम रावल सुरेन्द्र पाण्डेहरूको हविगत यही हो । न उनीहरूले केपीको अपराध स्विकार्न सक्छन् न त सुधार्न नै ! तर शान शौकत जोगाउन हिँडेकाहरू त्योपनि जोगाउन नसक्ने भयो, उनीहरू त्यसैमा दुखी छन् ।

नेपालको समग्र राजनीतिक आन्दोलन यही दुर्दशाबाट प्रताडित छ । बलिदानपूर्ण आन्दोलन गरिन्छ, जसको लागि अनेकौं प्रकारको त्याग तपस्या र बलिदानको कुर्वानी गरिन्छ, तर आन्दोलन, बलिदान र त्याग तपस्याका कुनै भूमिका नभएका तर सफलतामा आफ्नो अंश सुनिश्चित गर्ने मनसुवा राख्नेहरूको चलखेल यस्तो हुने गर्दछ कि त्यही मध्यमार्गी धार सफलता वा असफलताबीचको सन्तुलन बिन्दु बन्ने गर्दछ । त्यो जता फर्क्यो त्यता पल्ला भारी बन्ने परिस्थिति बन्ने हुन जाने । चाहे २००७को कुरा गरौँ वा २०४७ अथवा २०६३कै लोकतान्त्रिक आन्दोलन र त्यसले ल्याएको संवैधानिक अवसरहरूकै कुरा किन नगरौँ मध्यमार्गीहरूको दुवैतिरको हुँदो नहुँदो बार्गेनिङ र क्रान्तिकारी ऐजेण्डालाई भुत्ते बनाउन प्रतिक्रान्तिकारीहरुसंग लाभको सौदा गर्दै जनताको परिवर्तनकारी चाहानामाथि कुठाराघात गर्न सधैँ कामयावी बन्दै आयो । परिणामतः क्रान्तिकारीहरुसंग पूर्ण क्रान्तिको दिशाबाट विमुख हुँदै थकानको अनुभूति गर्न थाल्ने र मध्यमार्गीको साहारा पाएमा उच्च बलिदानबाट देशलाई जोगाउन सकिने तनिक अपेक्षामा पुग्ने । प्रतिकृयावादी खेमामापनि क्रान्तिकारीहरूको राजनीतिक निख्खरपनालाई थोरैमात्र धमिलो बनाउन सकिएमा त्यसबाट आफ्नो शान शौकत जोगाउन थोरैमात्र भएपनि समय बचत हुने र उक्त समयमा अनेकौँ जालझेल गरेरै भएपनि विरासत जोगाउन सकिने आशा अंकुराउने हुँदा उनीहरुपनि मध्यमार्गीहरूको खोजीमा भौँतारिने यस्तै अवस्थामा सामाजिक, राजनीतिक रूपमा पहिचान बनाएका, मुखले परिवर्तनको कथा हाल्न जानेपनि व्यवहारले प्रतिकृयावादीहरुको पाउ मोलेर अवसर लुट्न पल्केका अवसरवादीहरूलाई नै फेला पर्ने र दुवैको मध्य बिन्दुको रूपमा हरबखत त्यस्ता समुदायले मध्यस्थता गराएर नै क्रान्ति र प्रतिक्रान्तिबीचको समन्वयबिधि जुराउने गरेका छन् ।

क्रान्ति र प्रतिक्रान्तिकोबीचमा पेण्डूलम झैँ झुण्डिएर सामाजिक र राजनीतिक नाफा मात्रै बटुल्ने बानीपरेका मध्यमार्गीहरूको अवसरवादीताले कुनैपनि आन्दोलन पूर्णतामा पुग्न नपाएको मात्र होइन, त्याग तपस्या बलिदानबाट प्राप्त उपलब्धिको मूल्य चुकाउन नयाँ बलिदान दिनुपर्ने परिस्थिति तयार हुँदै आएको छ ।

इतिहासका तथ्यहरूको अध्ययनबाट के थाहा लाग्छ भने, एकपटकको क्रान्ति अपुरो हुँदा वा त्यसको उपलब्धि संस्थागत हुन नसकेको अवस्थामा पछिल्लोपटक त्यही प्रसङ्ग पूरा गराउन समय सामर्थ्य, र शक्ति अधिक सँगाल्नुपर्ने हुन्छ, त्याग तपस्या र योगदानको भारी बढाउनुपर्ने, बलिदानको कोटा अधिक चुक्ता गर्नुपर्ने हुन्छ । जस्तो भागेर शरणलिन गइसकेको त्रिभुवनलाई संस्थागत गर्न काँग्रेसको भूमिका नभएको भए २००७ सालमै आजको गणतन्त्र आउँथ्यो, ०३५–०३६को आन्दोलनपछि २०३७ सालमा भएको जनमत संग्राम तत्कालीन कम्युनिष्टहरु विशेषतः तत्कालीन माले, चौंम, कम्युनिष्ट नामबाटै राजनीतिमा स्थापित तुलसीलाल समूह, बर्मा समूह, मानान्धर समूह, रूपलाल समूह, लगायत सबैप्रकारका बाम समूहहरूले संस्थागत रूपमा निर्वाचन बहिस्कार नगरेको भए ०४६ मा त्यत्रो जनहत्यापछि आएको प्रजातन्त्र ०३७ सालमै आउँथ्यो । त्यस्तै जनयुद्धको मध्यबेलामा २०५८सालको युद्धबिरामको बेलामा माओवादीले भनेझैँ संविधानसभा दिइएको भए १७००० नागरिकहरूको रगत बग्दैनथ्यो । जतिखेर गरिएको बलिदानले आजको अवस्थामा आउँथ्यो भने त्यो भन्दा पछाडि गरिएको संघर्षले देशले धेरै फड्को मारिसकेको हुन्थ्यो । संविधान सभाको निर्वाचनद्वारा जनताले आफ्नो निम्ति विधिविधान आफै बनाएर बक्सिएको संविधानमा आफूलाई कैद बन्नबाट मुक्त त्यतिखेरै हुन्थ्यो । यतिञ्जेलसम्ममा देशका नागरिकहरू रैती बन्नबाट नागरिक त्यतिखेरै बनिसकेको अवस्था हुन्थ्यो । आज रैतीबाट प्रजा बन्न ०३६ र ०४६ सालको सलको संघर्ष गर्नुप¥यो, प्रजाबाट नागरिक बन्न ०५२–०६३को कुरुवानी गर्नुप¥यो । यो प्रकृया केवल राजनैतिक आन्दोलनमा मात्र हुँदैन । स्वास्थ्य बिज्ञानमा हेरौँ रोगनिवारणको निम्ति औषधीलाई बेवास्ता गर्दा वा अन्य लापरबाहीले रोग बौरियो भने पछिल्लो पटक पुरानै डोज औषधिले पुग्दैन, त्यसको मात्रा वा गुणात्मक परिमाण थप्नुपर्ने हुन्छ । त्यसैले त नेपालीमा आहान चलेको छ, पिलो निचोर्दा खिल ननिस्केमा झन् दुख दिन्छ । सामाजिक वा राजनीतिक आन्दोलनमा पनि पहिलो धक्काले लक्षमा पुग्न नसकेमा पछिल्लो धक्का झन् बढी तागत सँगाल्नुपर्छ ।

त्यसैले मध्यमार्ग वर्गीय समाजको उपार्जन हो, यो सार्वभौम हुन्छ, वर्गीय चेतनाको उपज भएको हुँदा यसलाई नकार्न वा अस्वीकार्न सकिन्न । यद्यपि कम्युनिष्ट आन्दोलनको दुई खास अवस्थामा मध्यमार्गीहरूले बिजयपश्चातको सत्ता साझेदारीमा हिस्सा माग्न सकेनन् किनकि उक्त आन्दोलनले निर्णायक विजय प्राप्त गरेका थिए । अन्य हरेक देशहरू जहाँ संघर्ष बलिदानपश्चात्को सम्झौतामा टुङ्गिन्छ, त्यहाँ मध्यमार्गीहरूले हस्त्तक्षेपकारी भूमिका खेलेर बलिदानको उपज लुँड्याउने र प्रतिगामी तथा प्रतिकृयावादीहरुको लिगेसी यथावत् राख्ने गर्दै आएका छन् । मध्यमार्ग एक प्रकारको प्रतिकृयावादी सत्ताको पेटीबुर्जुवा चेतनाबाट उत्पन्न हुने हुँदा पूर्ण समाजवादी समाजमा यसको सामाजिक भूमिका न्यून देखिन्छ भने सामन्तवाद र पूँजीवादी व्यवस्थामा सर्वथा देखिन्छ । यो कसैको चाहाना र आवश्यकताबाट भन्दापनि सामाजिक उतारचढावको पेचिलोपनाले आफै उत्पादन हुने तत्त्व हो । यो कुनै न कुनै प्रसङ्गमा कुनै न कुनै रूपमा हामी सबैले मध्यमार्गी भूमिका निर्वाह गरेका हुन्छौँ, र सबैप्रकारका मध्यमार्गले हरेकबेला उल्टो भूमिका खेल्छ भन्ने छैन कहिलेकाहीँ सकारात्मक भूमिकापनि खेल्छ । परिवर्तनकारीले मध्यमार्गलाई उपयोग गर्न सक्दा त्यसले सामाजिक परिणाम सकारात्मक नै दिन्छ भने प्रतिकृयावादीहरुले प्रयोग गर्दा त्यसको परिणाम नकारात्मक निस्कन्छ । तर अत्यधिक मध्यमार्ग विरासतमा कायम रहेको पुरातन छोड्न नचाहाने र नवीनताको खोजीमा त्याग तपस्या बलिदान गरेकाहरूको जोड बल पनि खप्न नसकेका वा तिनीहरूको प्रहारले नयाँ आइहाल्यो भने त्यसमापनि आफ्नो उपस्थिति दह्रो बनाउने मनसुवाले नै यसको संरचना निर्माण हुने हुँदा यसको अन्तिम लक्ष जित्नेको पक्ष लिनु वा अवसरवादी चरित्रको प्रदर्शन नै हो ।

धन्यवाद !

-श्रीराम खाईजु

(भक्तपुर)

मितिः २०७८–०७–१० वुधबार

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको