आमा 

आमा 

आमा तिमी हौ ममताकी खानी,
सर्वस्व मेरी हौ महारानी ।। आमा…….

तिम्रो जीवनको सपनाको फूल हुँ,
भविष्य मेरो भन्थ्यौ म नै हुँ  ।
गर्न सकूँ म कर्तव्य जानी,
सर्वस्व मेरी हौ महारानी ।। आमा…….

पहिलो गुरु हौ बोल्न सिकाउने,
तिमी नै सखा हौ पिता चिनाउने ।
गल्तीमा मलाई थप्पड हानी,
सर्वस्व मेरी हौ महारानी ।। आमा…….

संसारमा आउँदा खुशी थ्यौ तिमी नै,
परवाह गरिनौ कष्ट जति नै ।
विषलाई पिउने तिम्रो हो बानी,
सर्वस्व मेरी हौ महारानी ।। आमा…….

मेलापात जाँदा कोक्रामा हाल्ने,
खाजाको बेला दूध ख्वाउन आउने ।
खाएपछि मैले तिम्रो खाने बानी,
सर्वस्व मेरी हौ महारानी ।। आमा…….

हुर्कायौ मलाई  भोकै बसेर,
ख्वाउँथ्यौ मागी खुशी भएर ।
दूध मागी ख्वाउँथ्यौ कर्तव्य जानी,
सर्वस्व मेरी हौ महारानी ।। आमा…….

नौ बर्षसम्म धेरै दुःख दिएँ ,
छाडिन पिठ्युँ पापिष्ट थिएँ ।
कष्ट जति होस् तिम्रो खप्ने बानी,
सर्वस्व मेरी हौ महारानी ।। आमा…….

रात आधी हओस् या चिप्लो बाटो,
परोस् झरी झम्झम् अनि रातो माटो ।
बोकेर मलाई कोसौंसम्म लानी,
सर्वस्व मेरी हौ महारानी ।। आमा…….

नयाँ होस् लुगा  मेरै लागि सिउने,
आफु चैँ फाटेको कपडामा जिउने ।
मीठो मसिनो कोच्याउँथ्यौ तानी,
सर्वस्व मेरी हौ महारानी ।। आमा…….

कहीं कतै सुन्दा मेरो रुवाई,
विना कारण साथीको गर्थ्यौ धुलाई ।
बनाए छोरो घायल भन्ने ठानी,
सर्वस्व मेरी हौ महारानी ।। आमा…….

समयमा घर म पुगिन भने,
घरीघरी बाटो नियाली रहने ।
पुगेमा ढिला कराउने बानी,
सर्वस्व मेरी हौ महारानी ।। आमा…….

–हर्ष थापा
पनौती न.पा.२ काभ्रे
हाल महालक्ष्मी न.पा. १ इमाडोल

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको