मकवानपुर बहुमुखी क्याम्पस प्रशासनले छात्रवृद्धी वितरणमा त्रुटि भएको स्वीकार्यो; क्याम्पस प्रशासन र स्वतन्त्र विद्यार्थी युनियनबीच सम्झौता

हेटौँडा, ०८ कार्तिक। क्याम्पस प्रशासनलाई बुझाएको ज्ञापन पत्रमा छात्रवृद्धी वितरण त्रुटि सच्याउन दिइएको २४ घण्टे अल्टिमेटम समाप्त भएसँगै सोमबार नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू र मकवानपुर बहुमुखी क्याम्पस प्रशासनबीच सम्झौता भएको छ।

आइतबार स्नातक चौथौँ वर्षका विद्यार्थीहरुलाई प्रदान गरिने छात्रवृद्धीमा अनियमितता तथा नियम विपरीत मनपरी ढङ्गबाट वितरण गरिएको भनी क्याम्पस प्रशासनलाई बुझाएको ज्ञापन पत्रमा गल्ती सच्याउन दिइएको २४ घण्टे अल्टिमेटम समाप्त भयसँगै आज क्याम्पस प्रशासनसँग सम्झौता भएको हो। क्याम्पस प्रशासनले छात्रवृद्धीमा वितरण त्रुटि भएको र अब यस्ता गल्ती नदोहराउने, जेहेन्दार तथा अन्य विद्यार्थीहरूले पाउने छात्र वृद्धिका लागि अङ्कलाई आधार मानी अधिकतम अङ्क प्राप्त गर्ने विद्यार्थीहरू यकिन गरी छात्र वृद्धि थप गर्न सञ्चालक समितिलाई सिफारिस गर्ने, प्रचलित छात्र वृद्धि सम्बन्धी कार्यविधिमा उल्लेखित प्रावधानमा रही परिमार्जन, थप वा संशोधन गर्दा विद्यार्थी सङ्गठनलाई समेत जानकारी गराई आपसी सल्लाह समजदारिमा कार्यविधि बनाउने प्रतिबद्धता जनाएका छन्।

अनेरास्ववियूका तर्फबाट मकवानपुर बहुमुखी क्याम्पस संयोजक आशिष रौनियार र मकवानपुर बहुमुखी क्याम्पस प्रशासनबाट क्याम्पस प्रमुख डा. शङ्कर प्रसाद उपाध्यायले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्स। सम्झौता भएसँगै क्याम्पस प्रशासनद्वारा निर्णयको जानकारी समेत सार्वजनिक भएको छ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको