
काठमाडौं, १२ फागुन । हाम्रो नेपाली पार्टीले बैंक तथा वित्तीय संस्थाको चर्को व्याज र ज्यादतीविरुद्ध भोलि (शनिबार) बाट एक हप्ते रिले अनशन गर्ने भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी अभियानले बैंक तथा वित्तीय संस्थाको ज्यादतीका बारेमा सरोकारवाला निकायका ध्यानाकार्षण गराउँदै एक हप्ते रिले अनशनको घोषणा गरेको हो ।
बैंक तथा वित्तीय संस्थाको चर्को व्याज र मानसिक दबाब सहन नसकेर व्यवसायीहरूले आत्महत्या र आत्मदाहको बाटो अवलम्ब गर्नुपरेको हाम्रो नेपाली पार्टीको बुझाई छ । वैधानिक लाइसेन्स लिएका गुन्डाहरूको कारण प्रेम आचार्य जस्ता व्यवसायीले प्रधानमन्त्रीको अगाडि आत्मदाह गर्ने अवस्था आएको उक्त पार्टीको ठहर छ ।
‘हाम्रो नेपाली पार्टीले विगत एक महिनादेखि विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले चर्को व्याज असुली गरेको कारण व्यवसायमा परेको मर्कालाई सम्बोधन गरी बैंकको व्याज एक अङ्कमा झार्न सम्बन्धित निकायमा दबाब दिने, रिले अनसन गर्ने, ज्ञापन पत्र बुझाउने कार्यक्रम गर्दै आएको सर्वविदित नै छ । हामीले चालेको कदम पछि सबै सरोकारवालाहरू आन्दोलित भएको कुरा हाम्रो सामू छर्लङ्गै छ । तेस्रो चरणको आन्दोलनअन्तर्गत एक हप्ते रिले अनशन गर्ने निर्णय भएकाले सबै आन्दोलित, समाजसेवी, पत्रकारहरू उपस्थित भइदिनुहुन अनुरोध गर्दछौँ,’विज्ञप्तिमा भनिएको छ ।
बैंकिङ ब्याजदर एक अङ्कमा ल्याउनु पर्ने, कम्तिमा दुई वर्षको स्वैच्छिक किस्ता छनोट गर्न पाउनुपर्ने, कालो धनविरुद्ध नोट बन्दी गर्नुपर्ने, व्यावसायिक सुरक्षाका लागि सङ्क्रमणकालीन योजना ल्याउनुपर्ने, स्वर्गीय प्रेमप्रसाद आचार्य लगायतका व्यवसायीले उठाएका मागहरू सम्बोधन गर्नुपर्ने र अनुदान रकम पारदर्शी हुनुपर्ने लगायतका माग राख्दै हाम्रो नेपाली पार्टीले रिले अनशनको घोषणा गरेको हो ।
हाम्रो नेपाली पार्टीका प्रशिक्षण विभाग प्रमुख भीमलाल पराजुलीले एक हप्ते रिले अनशनमा सहभागी हुन विभिन्न सरोकारवाला व्यक्तिहरूलाई आग्रह गरे । प्रेमप्रसाद आचार्यको आत्मदाहले विद्रोहको सङ्केत गरेको उनको दाबी छ ।
‘किन दिनदहाडै प्रधानमन्त्रीको अगाडि एउटा व्यवसायीले शरीरमा आगो लगाउनुपर्यो ?वास्तवमा यो आगो ती शासकहरू र ती वैधानिक लुटेराहरुका लागि सङ्केत थियो । आत्मदाहको प्रयासलाई, आफू मरेर दिएको सन्देशलाई हामीले सबैभन्दा पहिला बोकेका हौं,’– उनले भने ।
जनताको भोटबाट सिंहदरबार छिरेकाहरूबाट यो देश जोगाउनका लागि नेपाली पार्टीको उदय भएको उनको दाबी छ । कार्यक्रममा अर्की वक्ता मञ्जु पङ्गेनीले बैंकले निरन्तर दिएको मानसिक तनावको कारणले श्रीमानको हृदयाघात भई मृत्यु भएको बताइन् । बैंक तथा वित्तीय संस्थाको ज्यादतीविरुद्धमा आफूले पनि अनसन बस्न लागेको उनको भनाइ छ ।
‘मेरो श्रीमान् बितेको भोलि दुई महिना मात्रै हुँदैछ । यही वित्तीय संस्थाको कुरा उठाउने क्रममा म बैकको कुरा जोड्न चाहेँ । एनआईसी एसिया बैकमा मैले घर बनाउने क्रममा ऋण लिएको थिएँ । अहिलेको चलनचल्तीअनुसार भ्यालुएसन गर्ने हो भने दुई करोड ५० लाखको सम्पत्ति छ । हामीले एक करोड २० लाख लिएर त्यो घर सम्पन्न गरेका थियौँ । घर सम्पन्न गरिसकेपछि व्यापार व्यवसाय राम्रै थियो । तिर्छु भनेर नै मान्छेले ऋण लिने हो । पछिल्लो समय हामीले किस्ता तिर्न सकेनौँ । एनआइसीएसियाले लिलाम पत्र पठायो । श्रीमानलाई घर खाली गर्न भनेर बैंकले भन्छ र श्रीमानको हर्टयाट्यकले मृत्यु भयो,’– उनले भने ।
हाम्रो नेपाली पाटीका केन्द्रीय प्रवक्ता रोहन कार्कीले कृषिमा हुने अनुदानको दुरुपयोग रोक्न आवश्यक रहेको बताए । कृषि अनुदानमा कर्मचारीले नै भ्रष्टाचार गरिरहेको उनको आरोप छ । हाम्रो नेपाली पार्टी लौरो अभियानले यसको भर्त्सना गरिरहेको उनले बताए । व्यवसायीलाई राहत दिने ठाउँ हुँदा पनि बैंक तथा वित्तीय संस्थाले अराजकता मच्चाएको उनको आरोप छ । बैंक तथा वित्तीय संस्थाको दबाबका कारण व्यवसायीहरू मानसिक रोगी बन्नुपरेको, घरबार बिग्रेको उनले बताए । सहज परिस्थिति हुँदा बैंक तथा वित्तीय संस्थाले छ/सात प्रतिशतमा ऋण दिए पनि अहिलेको अवस्थामा १६/१७ प्रतिशत व्याज पुर्याएको उनको आरोप छ ।
स्वतन्त्र अभियान संयोजक डम्बर साहुले बैंक तथा वित्तीय संस्थाको ज्यादतीविरुद्ध विद्रोहको सुरुवात स्वरुप रिले अनशन गर्न लागेको बताए ।
‘उद्यमीहरूले गरेर खाने माहौल भएन भनेपछि, यो देशमा बस्न लायक स्थिति भएन भनेपछि देशलाई सराप्नु र वैदेशिक रोजगारको बाटो रोज्नुको विकल्प रहँदैन । त्यसले गर्दा राज्यका निकायहरू, विभिन्न बैंक र सरोकारवाला निकायहरू यसमा गम्भीर भएर लाग्नु आवश्यक छ । अन्यथा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर कारोबार गरिरहेका र कारोबार गर्ने योजनामा भएका व्यवसायीहरू प्रेमप्रसाद आचार्यको जस्तो नहोला भन्न सकिन्न,’–उनले भने ।
साथै, सबै सरोकारवाल र व्यावसायिक सङ्गठनलाई पनि उक्त विद्रोहमा जोडिन उनले आग्रह गरे । हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरेले यो देशलाई बचाएर बनाउन सकिन्छ भन्ने धेयले आफूहरूले अभियान सुरु गरेको बताए ।
अहिलेको अवस्थामा प्रेम आचार्य र मञ्जु पंगेनी जस्ता पीडित देशमा हजारौँको अवस्थामा रहेको उनको दाबी छ । देशको जर्जर अवस्थामा पनि राजनीतिक दलहरू सत्ता स्वार्थमा लागिरहेको भन्दै उनले विकृति र बेथितिका विरुद्ध हाम्रो नेपाली पार्टी प्रमुख प्रतिपक्षी बनेर उभिएको उनले बताए ।
‘यो देशमा जनताको बारेमा छलफल गर्ने समय कसैलाई पनि छैन । देशको बारेमा छलफल गर्ने समय कसैलाई पनि छैन । सत्तामा कसरी जान सकिन्छ र विदेशीको गोटी बनेर कसरी यो देश सिध्याउन सकिन्छ भनेर लागेका छन् । राज्यसत्ताबाट वैधानिक लाइसेन्स लिएका गुन्डाहरूलाई सचेत गराउन हामीले विद्रोहको सुरुवात गरेका छौँ । हाम्रो नेपाली पार्टीले रिले अनशनको आयोजना गरेको छ,’–उनले भने ।
कार्यक्रममा केन्द्रीय सदस्य विनोद बजगाईँ, अभियन्ता इशा खड्कालगायतको उपस्थिति रहेको थियो । केन्द्रीय सदस्य हरि कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए ।