बुधबार २० मंसिर, २०८०

नेपाली समय

नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि

नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि

काठमाडौँ, ५ माघ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलव ७१ अङ्कले उकालो लागेर दुई हजार एक सय ७८ दशमलव ८१ मा पुगेको छ ।

आजको कारोबारमा ठुला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक एक दशमलव १५ अङ्कले उकालो लागेर चार सय १५ दशमलव शून्य पाँचमा पुगेको छ ।

कारोबार भएकामध्ये ८५ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा एक सय आठ कम्पनीको शेयर मूल्य घटेको छ भने कूल १४ कम्पनीको शेयर मूल्य स्थिर छ । आजको कारोबारमा विभिन्न कम्पनीका कूल ८२ लाख ४७ हजार छ सय ४६ कित्ता शेयर रू तीन अर्ब चार करोड ४५ लाख २९ हजार तीन सय २९ मूल्यमा कारोबार भएको छ । आजको कारोबारपछि बजार पुँजीकरण रु ३१ खर्ब ४५ अर्ब ६३ करोड ५२ लाख १२ हजार दुई सय ३३ पुगेको छ ।

कारोबार रकमका आधारमा एनआइसी एशिया बैंक शीर्ष  स्थानमा छ । बैंकको रू १८ करोड चार लाख ४४ हजार छ सय ५३ बराबरको शेयर कारोबार भयो । यस्तै, रिडी पावर रू १२ करोड ३२ लाख २७ हजार आठ सय ६८, पिपल्स पावर रू १० करोड ४० लाख ५८ हजार पाँच सय दुई, अपि पावर कम्पनी रू नौ करोड ४५ लाख ७५ हजार एक सय ५२ र नेपाल लाइफ इन्स्योरेन्सको रू आठ करोड ८२ लाख १२ हजार सात सय बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार आर्दश लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । मैलुङ खोला जलविद्युत् कम्पनी नौ दशमलव ५४, नेपाल पूर्वाधार बैंक सात दशमलव २०, ग्रीन भेञ्चर्स छ दशमलव ७१ र श्वेतगङ्गा हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव १० प्रतिशतले कमाएका छन् ।

त्यस्तै, कुमारी धनवृद्धि योजना आठ दशमलव ८९, लक्ष्मी लघुवित्त पाँच दशमलव ४४, सिटिजन म्युअल फण्ड तीन दशमलव ८०, ग्लोबल आइएमई लघुवित्त तीन दशमलव ७७ र स्वाभिमान लघुवित्त कम्पनीको शेयर मूल्य तीन दशमलव ७२ प्रतिशतले घटेको छ ।