बाल्यकालको दशैं

बाल्यकालको दशैं

रमाईलो हुन्थ्यो कति आगमन हुँदा दशैंको,
नयाँ लुगा चिटिक्क परी वारी–पारी हिँडेको ।

घर पोत्न थुम्कीमा पहेँलो माटो लिन गएको,
खडकुलोमा माटो घोली घर वरिपरि छ्यापेको ।

झ्याल ढोका रङ्गाउन अलकत्रा हातले दलेको,
घर वरिपरि सफा गरी आँगनको झार खुर्केको ।

साथीभाइ सबै मिली बाबियो खोज्न हिँडेको,
चारैतिर बसी गाँस दिई दाइले पिङ बाटेको ।

पिङको काम्रो बनाउन पराल लिन गएको,
लाँकुरीको रूखमा ईन्द्र दाइले पिङ हालेको ।

लठारोलाई हाँगामा कसी दाइ तल झरेको,
को पहिला चढ्ने भनी तँछाड मछाड गरेको ।

कृष्णदाइ नमराज रामेश्वर कुमारले खेलेको,
रामकृष्ण सानोकाजी विनोदले झगडा गरेको ।

सबैजना खुशी हुँदै पालै–पालो टीका थापेको,
खुशीको सीमा थिएन मोहर रूपैयाँ पाएको ।

भाइसँग अँगालो हाल्दै माथ्ला गाउँ गएको,
नेपेकाका कान्छाकाका हजुरबाले टीका लाएको ।

याद अझै डुलीडुली निदारभरि टीका थापेको ।
पारी हजुरआमा च्यान्टे काकाकोमा गएको ।

दश पाँच पैसा मोहर रुपियाँ गरी  भरेको,
लाग्थ्यो म जति पैसावाल दुनियाँमा होला को रु

बल्ल बल्ल बर्षदिनमा मीठो चोखो पाकेको,
चुच्चे करेला, घिरौँलाको स्वादिष्ट सब्जी खाएको ।

भाइ भतिजा सबै मिली गुच्चा खेल्ने गरेको,
बर्षमा टीकाको दिन मात्र लंगुर बुर्जा खेलेको ।

अझै बाल बयको याद आइरहन्छ बेला दशैंको,
टार्नु पुर्‍याउन नपर्ने अवस्था खुशी नै खुशीको ।।

कुरा गर्थे गाउँका बुढापाका दशैं होइन दशा हो,
बाल्यकालमा थाहै थिएन अब पो थाहा भो ।।

कता गयो होला रमाईलो त्यो बाल्य अवस्थाको,
दशैं फेरि आई दिए हुने बेफिक्री चिन्ताको ।।

–हर्ष थापा
इमाडोल, ललितपुर


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको