‘कोरोनाको प्रभाव घट्दा बजार व्यवसाय चलायमान भएर राजश्व बढेको छ’: भन्सार अधिकृत गुप्ता

कोरोनाको प्रकोप न्यूनीकरण हुँदै गएपछि लामो समय सुस्त रहेको आयात निर्यात सलबलाउन थालेको छ । सुस्त रहेको अर्थतन्त्र मध्येको आयात निर्यातको पछिल्लो तथ्याङ्कले यस्तो पुष्टि गरेको हो । आयात निर्यातको देशकै मुख्य भार थेगेको वीरगंज भन्सार कार्यालयको पछिल्लो आयात निर्यातको तथ्याङ्क र मालबस्तु बढी आउँदा सङ्कलन भएको राजश्वले पनि यो कुराको पुष्टि गरेको छ । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौ महिनामा भन्सार विभागले दिएको लक्षभन्दा १३ प्रतिशत बढी राजश्व सङ्कलनमा प्रगति गर्नु पनि यसैको उदाहरण हो । गएको वैशाख, जेठमा व्यापारमा परेको प्रभाव अहिले घट्दै गएपछि व्यापार व्यवसाय पनि फस्टाएको वीरगंज भन्सार कार्यालय पर्साका भन्सार अधिकृत सुमित गुप्ताले बताउँछन् । मानिसको आवतजावत बढ्दै गएपछि बजार चलायमान भएर मसलामानको आयातमा पनि बढोत्तरी भएको उनले बताए । आयातित मालबस्तुमा पनि खासगरी कपडा, मसाला, सवारी साधन, गाडीहरूको आयात बढेको सूचना अधिकारी समेत रहेका अधिकृत गुप्ताले बताए । अहिले राजमार्गमा पनि गाडीहरू चल्ने बढेकोले इन्धनको माग र आयात पनि बढेको उनको भनाइ छ । आइटी बेस सिस्टम र आशिकुँणा एप्सबाट कार्यसम्पादन गरिरहँदा नियम कानुनको पालनामा केही अप्ठ्यारो भयो भने हामी आफैमा छलफल गरेर वा माथिल्लो निकायसँग समन्वय गरेर समाधान गर्ने गरेको उनको तर्क छ । उनै भन्सार अधिकृत गुप्तासँग चाडपर्वमा हुने आयात निर्यात लगायतको विषयबारे गोठालो खबरको लागि बलिराम यादवले गरेको कुराकानीको सम्पादित अंश:

१) अघिल्लो महिनामा यहाँबाट हुने कारोबारमा कतिको लक्ष्य पुरा भएको छ ?

अघिल्लो महिना अर्थात् भदौ महिनामा मात्रै ११३ प्रतिशत राजश्व सङ्कलन भएको छ । जुन लक्ष्यभन्दा १३ प्रतिशत बढी हो । भदौ महिनाको लक्ष्य १५ अर्ब ७० करोड ९४ लाख ३४ हजार रहेकोमा १७ अर्ब ७० करोड ५७ लाख ४६ हजार असुली भयो । अर्थात् लक्ष्यभन्दा २ अर्ब बढी राजश्व सङ्कलन भयो । कोरोना भाइरसको महामारीको बेला वैशाख, जेठमा व्यापारमा परेको प्रभाव अहिले घट्दै गएपछि व्यापार पनि फस्टायो । मानिसको आवतजावत बढ्दै गएपछि बजार चलायमान भएर मसलामानको आयात पनि बढेको हो र त्यही अनुसार राजश्व पनि बढेको हो ।

२) चाडपर्वको बेला कुन कुन सामानको आयात बढेको छ ?

अहिले सबैको एक समान नै देखिएको छ । तर उल्लेख्य मात्रामा अलिकति कपडाको आयात भने बढेको छ । यस्तै, मरमसला, सवारी साधन, गाडीहरूको आयात बढेको छ । अहिले राजमार्गमा पनि गाडीहरू चल्ने बढेकोले इन्धनको माग बढेर आयात बढ्दा राजश्व पनि बढेको छ ।

३) आयात निर्यात गर्दा कर्मचारी र व्यापारीलाई कतिको सहज वा अप्ठ्यारो छ ?

अहिले खासै असहज भएको छैन । किन भने कार्यालयमा हामीले गर्नु पर्ने सहजीकरण गरेका छौँ । केही समस्या परेको बेला विभागसँग समन्वय गरेर पनि गरेका छौँ । तर अहिले भने त्यस्तो गुनासो सुनिएको छैन । तसर्थ: व्यापारीहरूलाई आयात निर्यात गर्दा कुनै किसिमको समस्या छैन । किन भने हामी कहाँ सबै आइटी बेस सिस्टम र आशिकुँणा एप्स छ । यसैले सबै कुरा गर्छ । नियम कानुनको पालनामा केही अप्ठ्यारो भयो भने हामी आफैमा छलफल गरेर वा माथिल्लो निकायसँग समन्वय गरेर समाधान गर्ने गरेका छौँ ।

४) झनै सहज हुने गरी सरकारले कस्तो नीति योजना ल्याउँदा आयात निर्यात गर्न सहज हुन्थ्यो ?

नीति नियम राम्रै छ । त्यसमा सुधार हुने काम जारी छ । भन्सार विभागले सुधार गरेको योजना धेरै छ । यसलाई हामीले कागज रहित अवधारणामा लगिरहेका छौँ । त्यो ट्रेन्ड भइरहेको छ । भनेपछि बिना कागज नै कम्पयुटि बेसबाटै काम हुनेछ । मान्छे आउनै पर्छ भन्ने जरुरी हुँदैन । तर त्यो हुन अलि समय लाग्छ । यस्तै, Nepal National Single Window भन्ने लागु भएको छ । त्यसले अनलाइन रिपोर्ट दिन्छ । कुनै ल्याबमा गएर टेस्ट गराउनु भयो भने अनलाइन रिपोर्ट आउँछ । त्यसता सुधार भइरहेको छ र यो निरन्तर सुधार भइरहने प्रकृया हो ।

५) यहाँ आयदेखि वीरगंज भन्सारको उपलब्धि के छ ?

म आएपछि उपलब्धि हुने होइन । भएको उपलब्धिमा सम्पूर्ण कर्मचारीको योगदान हुन्छ । म आएदेखि अनुभव गरेको कुरा के हो भने कोरोना कालमा पनि हामी दिनरात खटेर करिब शत प्रतिशत अर्थात् ९९.६ प्रति राजश्व सङ्कलन ग¥यौं, जुन एउटा उपलब्धि नै हो । हाम्रो टिम एकदमै अनुभवी भएकोले कामको सिलसिलामा खासै समस्या हुँदैन । केही समस्या परे पनि त्यही समाधान गरिन्छ । तसर्थ: यहाँ धेरै ठुलो कारोबार हुने भएपनि त्यति धेरै अप्ठ्यारो नपर्नु पनि एउटा उपलब्धि नै हो ।

६) भन्सारको कर्मचारी, एजेन्ट र व्यापारी बिच कहिलेकाहीँ ताल नमिल्दा आरोप प्रत्यारोप लाग्ने गुनासो निकै सुनिन्छ ? यसलाई के भन्नु हुन्छ ?

त्यस्तो त खासै सुनिएको छैन । एक/दुई वटा उदाहरण त्यस्तो होला । तर एजेन्ट भने कर्मचारी र व्यापारीको बिचमा ब्रोकरको काम गर्छ । उनीहरू टेक्निकल्ली सबै कुरामा परफेक्ट नहुन पनि सक्छन् । हामीले समाधान गरिदिएका छौ । किन भने सिस्टम हाम्रो एकदमै तयार छ । सबैले बुझ्न चलाउन अलि गाह्रै छ । त्यसतै व्यापारीको मध्यस्थता एजेन्ट नै हुन्छ । तर व्यापारी र एजेन्टसँग हाम्रो मिटिङ हुँदा त्यस्तो खासै गुनासोहरू सुनिएको छैन ।

७) भन्सार कर्मचारी, एजेन्ट र व्यापारीको मिलेमतोमा अर्को सामान लोड गरी भन्सार छल्ने काम पनि हुने गरेको सुनिन्छ ? के हो यो ?

त्यस्तो एक/दुई वटा केश भएको होला, नभएको होइन । त्यस्तो गर्नेलाई हदैसम्म कारबाही भएको छ । कतिपय केशमा त एजेन्ट नै सस्पेन्ड हुन्छ । बाहिरबाट आएको सामानको बिल ठिक छ, तर सबै ठिक नै होला भन्ने जस्तो छैन नि । कहिलेकाहीँ केही न केही त्रुटि हुन सक्छ । त्यस्तो गर्नेलाई हदैसम्म कारबाही भएको छ । के पठाएको हुन्छ भने भित्र हामीलाई थाहा हुँदैन । कुनै कम्पनीसँग मालसामान अर्कै मागिएको छ, तर उसंग त्यो माल सकेपछि अर्कै पठाई दिएछ भने हामीलाई व्यवहारमा कठिनाइ हुन्छ । कहिलेकाहीँ नियत खराब भएर पनि हाल्नु पर्ने एउटा सामान, हालिदिन्छन् अर्को सामान । त्यस्तो अवस्थामा हामीले कारबाही गर्नु पर्ने हुन्छ । किन भने को बदमास भन्ने कुरा पता लगाउन पनि गाह्रो छ नि ।

८) गैर कानुनी रूपले आयात निर्यात गर्ने व्यापारीहरूको मालसामानमाथि यहाँहरूले कसरी निगरानी गर्नु भएको छ ?

हामीले कहीँ कतैबाट पाएको जानकारी वा शङ्का लागेमा त्यस्तो व्यापारीको ट्रकको माल नै खोलेर चेकजाँच गर्छौ । ग्रिन, रेड र एलो गरी तिनवटा मालसामान चेकजाँच गर्ने प्रकृया हुन्छ । रेड भएपछि सबै सामान चेकजाँच गर्ने कर्मचारीको जिम्मा हुन्छ । तर एलो र ग्रिनमा सबै मालसामान हेर्नु नै पर्छ भने जरुरी छैन । अन्तर्राष्ट्रिय व्यापार हेर्ने हो भने अधिकांश मालसामान एलो र ग्रिनमा जान्छ । त्यहाँ एकदमै सिस्टमवाईज नै मालसामान आवतजावत हुन्छ । त्यहाँ चोरी, बदमासी गर्ने मान्छे त्यति भेटिँदैन । तर नेपालमा भने हरेक काममा शङ्काको दृष्टिकोणले हेर्नुपर्ने हुन्छ । हरेक सामान खोलेर नै हेर्नु पर्ने हुन्छ, जुन सम्भव छैन ।

तसर्थ: रेडमा बस्ने कर्मचारीले सबै जिम्मेवारी हेर्नै पर्छ । त्यस्तो भएको खण्डमा कर्मचारी र एजेन्ट पनि कारबाहीमा परेका उदाहरणहरू छन् । हामीसँग लिमिटेड मेन पावर छ । एउटा अफिसरको भागमा १०० वटा ट्रक प¥यो भने ५/६ घण्टाको अवधिमा यो सबै ट्रक खोलेर हेर्न सक्छ त ? यद्यापी यसो भन्दै गर्दा पनि जिम्मेवारी भने कर्मचारी कै हुन्छ । त्यतातिर अलिक सजग भएर हेरी काम गरिँदै आएका छौँ ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको