बैतडीमा मङ्गलबारदेखि विद्युत् सेवा अवरुद्ध

बैतडी, ७ मङ्सिर । बैतडीको दोगडाकेदारमा मङ्गलबारदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । मङ्गलबार दिउँसो ३ बजे दोगडाकेदार गाउँपालिका–३ खिरेगाउँमा तार चुँडिदा विद्युत् सेवा अवरुद्ध यहाँको  अधिकांश क्षेत्र अन्धकारमय बनेको छ ।

विद्युत् सेवा अवरुद्ध हुँदा अन्धकारमा बस्नुपरेको श्रीकोटका गणेशसिंह विष्टले बताउनुभयो ।  विद्युतका कारण सञ्चारका उपकरण नचल्दा  निर्वाचनको मतपरिणाम सुन्न उत्सुक व्यक्ति पनि विञ्चित भएका छन् । उहाँले भन्नुभयो, “विद्युत् अवरुद्ध हुँदा अन्धकारमा बस्नु परेको छ, मोबाइलसमेत अफ हुँदा सञ्चारविहीन हुनुपरेको छ ।” विद्युत्बाट सञ्चालन हुने मिल पनि बन्द रहेका छन् ।

यता नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टले भने विद्युत्को लाइन मर्मतका लागि प्राविधिक कर्मचारी खटाइएको बताउनुभयो । एक स्थानीय बासिन्दाले रूख काट्दा मेनलाइनको एक किलोमिटर क्षेत्रको तारहरू चुँडिएको छ । उहाँले भन्नुभयो, “प्राविधिक कर्मचारी खटाएका छौँ, मर्मत गरेर सञ्चालन गर्न दिउँसोसम्म समय लाग्छ होला ।”

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको