मुस्ताङमा मतगणना सुरु कांग्रेसको अग्रता

म्याग्दी, ५ मङ्सिर । मुस्ताङको प्रतिनिधिसभा सदस्यतर्फको मतगणना सुरु भएको छ ।

एक अस्थायीसहित ४० वटै मतदान केन्द्रका मतपेटिका आज बिहान जिल्ला सदरमुकाम जोमसोमस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको थियो । त्यस लगत्तै सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिएको हो । आइतबार भएको चुनावमा मुस्ताङमा दश हजार नौ सय ५७ मतदातामध्ये सात हजार दुई सय ३० अर्थात् ६५ दशमलव ९८ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले बताउनुभयो ।

पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले दुई सय ६१ मतले अग्रता लिनुभएको छ । उहाँले एक हजार ६८ र नेकपा (एमाले) का प्रेमप्रसाद तुलाचनले आठ सय सात मत पाउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभातर्फ लोमान्थाङ, मराङ, चिमाङ, लेते, छोसेर, सौरु, मार्फा, चराङ र फल्याकका नौवटा मतदान केन्द्रको गणना सकिएको छ । दुई स्थानमा मतगणना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको