अरविन्द आश्रमले झुटो मुद्दा लगाएर फसाउन खोज्यो: शिक्षिका यशोधा विश्वकर्मा

काठमाडौं, २९ भदौ । अरविन्द आश्रमले आफूलाई झुटो आरोप लगाएर फसाउन खोजेको भन्दै एकजना शिक्षिकाले न्यायको अपिल गरेकी छिन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शिक्षिका यशोधा विश्वकर्माले आफूलाई फसाउन खोजेको बताएकी हुन् । २ सय भन्दा बढी असहाय बालबालिकाका लागि शिक्षादीक्षा दिँदै आएको अरविन्द आश्रमले आफूलाई झुटो आरोप लगाएर फसाउन खोजेको उनको भनाई थियो ।

६ वर्षदेखि आश्रममा कार्यरत शिक्षिका विश्वकर्माले एउटा निर्दोष र अबोध बच्चाको विषयमा आफूलाई चोरीको आरोप लगाइएको बताइन् । आश्रममा कोही आफन्त नभएको आकाश भन्ने बालकलाई माया गर्दा प्राध्यापक लगायत कसैलाई मन नपरेकोले आफूमाथि झुटा आरोप लगाएर आश्रमबाट निकाल्न खोजेको उनको भनाई छ ।

९ वर्षीय बालक आकाश नेपालीलाई आफूसँग भेट्न पनि नदिएको उनको भनाई छ । ‘आश्रममा स्वामीको बहिनीको २ लाख बढी पैसा चोरेको आरोप आकाशमाथि लगाएर म माथि अन्याय गरियो,’ उनले भनिन् । उनले आफू निर्दोष रहेको बताइन् । यशोधाले भनिन्,‘आकाशले पैसा चोरेर मलाई पैसा राख्न दिएको अभियोगमा धेरै डर, धम्की दिइयो । तर, म निर्दोष छु, मलाई बच्चाले पैसा राख्न दिएको छैन ।’

उनले बच्चाहरूको सानो गल्तीमा पनि प्रिन्सिपल लगायतले कुट्ने गरेको समेत आरोप लगाइन् । बच्चाहरूलाई पिसाब पिसाबले भिजेको ओछ्यानमा सुताइने गरेको, बच्चाहरूलाई पिट्ने गरेको भन्दै आफू गएपछि बच्चाहरूले नयाँ जीवन पाएको उनको भनाई थियो ।

आफन्तको बच्चा भएमा राम्रो गर्ने तर आफन्त कोही नपरेमा केयर नगर्ने पनि उनले बताइन् । ‘बच्चाहरूलाई जुम्रा परेर बिजोग हुन्छ । धेरै पटक मैले बच्चाहरूको कपाल खौरेको छु,’विश्वकर्माले भनिन्,‘आकाशको खाना झिकेर खाएको आरोपमा प्रिन्सिपलले कुटेर दाँत समेत खुस्केको थियो ।’

उनले आश्रमका बच्चाहरूमाथि अत्यन्तै कुटपिट हुने बताइन् । उनले भनिन्, ‘बच्चाहरूले सामान्य काम बिगार्दा पनि बेस्सरी कुटाई खान्छन् ।’ आफूले धेरै पटक बच्चाहरूलाई नकुट्न आग्रह गरेको समेत उनले बताइन् । विश्वकर्माले आश्रमका बच्चाहरू प्रिन्सिपललगायत केही कर्मचारीहरूको छायाँ देखेर पनि डराउने गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको