पर्साको भिस्वाका व्यापारी जयसवालमाथि भएन राजश्वको निगरानी, तस्करी गरि करोडौँ राजश्व छलेको खुलासा

वीरगंज, २९ भदौ। पर्साको भिस्वका एक जना ठुला व्यापारीले तस्करीमार्फत सरकारलाई तिर्ने करोडौँ राजश्व छली गरेको खुलेको छ । पर्साको पश्चिमी ग्रामीण भेगमा पर्ने छिपहरमाई गाउँपालिका–५, भिस्वाका मुन्न जयसवालले तस्करी गरि करोडौँ राजश्व छली गरेको खुलेको हो ।

मुन्ना जयसवालले तस्करीमार्फत करोडौँ मूल्य बराबरको राजश्व छली गरी कारोबार गर्दै आए पनि नियमनकारी निकाय आन्तरिक राजश्व कार्यालय वीरगंज पर्साले अनुसन्धान गरी कारबाही गर्नमा चुकेको स्थानीयले बताएका छन् । चाइनिज स्याउ, मटर (केराउ), कस्मेटिक्स सामान लगायत विभिन्न चाइनिज सामानको कारोबार गर्ने व्यापारी रहेका मुन्ना जसवाल भारतको सीमाभन्दा करिब ५० मिटरको दुरीमा नेपाल भारत दुबै ठाउँमा गोदाम राखी तस्करी गर्ने गरेको स्थानीयले बताएका छन् ।

नाम नराख्ने सर्तमा एक जना स्थानीयले भने, ‘‘मुन्ना जयसवालले भिस्वा बजारमा नै एक गोदाम राखेका छन्, जुन भारतको सीमासँग करिब ५० मिटरको दुरीमा होला’, उनले अगाडी भने,‘ उक्त गोदामबाट रातीको समयमा स्थानीय करिब १ सय ५० जनाभन्दा बढी कामदारमार्फत प्रहरीको मिलेमतोमा भारततर्फ निर्यात गरी करोडौँको राजश्व छली गर्ने गरेका छन् ।’ स्थानीय कामदारमार्फत ५ मिनेटमै भारतको सिकटा बोर्डर नजिकै एक राईस मिलमा राखेको गोदाममा पु¥याई सरकारलाई तिर्ने राजश्व छली गरेको उनको दाबी छ ।

तस्करी गरी कारोबार गर्नेमा मुन्ना जयसवाल मात्रै नभई उनका बुवा किशोर जयसवाल र सानो बुवाका छोरा रामु जयसवाल पनि रहेका छन् । तर, कारोबारको मुख्य हर्ताकर्ता भने मुन्ना जयसवाल नै रहेको स्रोतको दाबी छ । पछिल्लो समय नेपालबाट तस्करी भई भारततर्फ गएको चाइनिज स्याउन समेत भारतको सिक्टा बजारबाट त्यहाँका प्रहरीले बरामद गरेको भारतीय पत्रिकामा समेत समाचार आएको घटनाले समेत तस्करी मार्फत राजश्व छली गरेको प्रमाणित हुन्छ । भिस्वासंग जोडिएको भारतको सिक्टा बजारमा एक चोटी मात्रै होइन, कयौँ पटक भारतीय प्रहरीले छापामारी चाइनिज स्याउन लगायतको सामान बरामद गरेको छ, जसको मुख्य कारोबारी मुन्ना जयसवाल नै रहेको स्रोतको दाबी छ ।

कुनै पनि व्यापार गर्ने व्यापारीले कारोबार गर्ने स्थलमा पान नं. वा कम्पनीको नाम देख्ने गरी अनिवार्य राख्ने कानुनी प्रावधान भएपनि जयसवालले भिस्वा बजारमा राखेको गोदाममा सरकारको मापदण्ड विपरीत कारोबार गरे पनि राजश्व कार्यालय वीरगंजको ध्यान गएको छैन । तस्करी गरी करोडौँ राजश्व छलेको विषयबारे मुन्ना जयसवालसंग बुझ्दा उनले यो काम राजश्व अनुसन्धान कार्यालयको भएको बताए ।

कारोबार स्थलमा पान नम्बर वा कम्पनीको नाम नराखेको प्रश्नमा उनले जवाफ दिनबाट पन्छिएर फोन काटे । यता, आन्तरिक राजश्व कार्यालय वीरगंज पर्साले किटानी रूपमा कम्पनीको नाम र पान नम्बर दिइएको खण्डमा अनुसन्धान अगाडी बढाई दोषी ठहरिए कारबाही गरिने जनाएको छ । तर यता, स्रोतले दाबी गरेअनुसार करोडौँको कारोबार गर्ने मुन्ना जयसवालले बुवा किशोर जयसवाल वा अन्य कुनै व्यक्तिको नाममा कम्पनी दर्ता गरी कारोबार स्थलमा कुनै प्रमाण नै नराखी कारोबार गर्दै आएका छन् ।

यी व्यापारीले गरेको खरिद बिक्री लगायतको कारोबारको कागजात अनुसन्धान गरियो भने सरकारलाई करोडौँ राजश्व सङ्कलन भई कानुनी दण्ड पनि हुने स्रोतले दाबी गरेको छ । बजार अनुगमनका क्रममा कानुनले निर्धारण गरेको नियम पालना नगरेका करदातालाई कारोबार स्थलमै कारबाही गरिने आन्तरिक राजश्व कार्यालय वीरगंजका कर अधिकृत तथा सूचना अधिकारी ह्दयनारायण महतो बताउँछन् । तर मुन्ना जयसवाल, किशोर जयसवाल र रामु जयसवालले गर्दै आएको चाइनिज स्याउ, केराउ आदी कारोबारको गोदाम भिस्वा बजारमै रहेपनि राजश्व कार्यालय वीरगंजको निगरानी नहुँदा करोडौँ राजश्व छली भएको छ । अतः तस्करीमार्फत सरकारको राजश्व छली गरी कारोबार गर्ने यी व्यापारीहरूमाथि सम्बन्धित निकायको ध्यानजान आवश्यक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको