प्रेमिकाको अश्लील फोटो सामाजिक सञ्जालमा पोस्ट गर्ने युवक पक्राउ

काठमाडौं, २९ भदौ । आफ्नै केटी साथीको अश्लील फोटो, भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने युवक पक्राउ परेका छन् । सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राममा आफ्नै केटी साथीको अश्लील फोटो, भिडियो पोस्ट गरी चरित्र हत्या गरेको अभियोगमा दोलखा बैतेश्वर गाउँपालिका–८ ठेगाना भएका काठमाडौं टोखा धनेश्वर बस्ने २३ वर्षीय सुजन जिरेललाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

आफ्नी प्रेमिकासँग प्रेम सम्बन्धमा रहेको समयमा खिचिएका अश्लील फोटो तथा भिडियोहरू प्रेमिकासँग विवाद परेपश्चात् मोबाइल समेत खोसी उक्त अश्लील फोटो, भिडियो पोस्ट गरी चरित्र हत्या गरेका जिरेल काभ्रे पाँचखालमा लुकिछिपी बसेका थिए ।

विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय काभ्रेसँग समन्वय गरी पाँचखालबाट पक्राउ गरेको जनाएको छ ।

उनलाई विद्युतीय कारोबार ऐन कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको उक्त महाशाखाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको