गीत: कति ढाँट्छौ जनतालाई…

गीत: कति ढाँट्छौ जनतालाई…

 

कति ढाँट्छौ जनतालाई कति लुट्छौ देश

परिवर्तन क्रान्ति देखाई बदल्दैछौ भेष

भोका नाङ्गा गरिब जनता अब उठ्नु पर्छ

भ्रष्टाचारी शासन किल्ला छिट्टै तोड्नु पर्छ

चन्द्र सूर्य झण्डा मेरै तकिया बन्नु पर्छ

भ्रष्ट खेद्न युवा सबै एकै हुनु पर्छ ।

 

प्रजातन्त्र गणतन्त्र सब थोक ल्याई दियौँ

दाजु मार्दा भाइ लडाकु मुक्ति सपना बाँड्यौ

प्राण त्याग्दै सहिद भयौ आफू महल चढ्यौ

भ्रष्टाचारी शासन किल्ला छिट्टै तोड्नु पर्छ

भोका नाङ्गा गरिब हामी अब उठ्नु पर्छ

चन्द्र सूर्य झण्डा मेरै तकिया बन्नु पर्छ

भ्रष्ट खेद्न युवा सबै एकै हुनु पर्छ ।

 

समानताको नारा पढ्दै तातो गोली थाप्यौ

निर्मला र नबराज मै गणतन्त्र बुझ्यौ

भ्रष्टाचारी ब्वाँसाहरू महल ठड्याउदैछौ

मेची काली बेच्दै अब सत्ता चलाउदैछौ

भोका नाङ्गा सचेत जन अब उठ्नु पर्छ

भ्रष्टाचारी शासन किल्ला छिट्टै तोड्नु पर्छ

चन्द्र सूर्य झण्डा मेरै तकिया बन्नु पर्छ

भ्रष्ट खेद्न युवा सबै एकै हुनु पर्छ ।

 

जनतालाई लाग्ने कानुन तिम्लाई लाग्दैन र ?

विलासी छ तिम्रो जीवन श्रोत चाहिँदैन र ?

जता गयो कमिसनै तलब लग्दैनौ र ?

भोका नाङ्गा सचेत जन अब उठ्नु पर्छ

भ्रष्टाचारी शासन किल्ला छिट्टै तोड्नु पर्छ

चन्द्र सूर्य झण्डा मेरै तकिया बन्नु पर्छ

भ्रष्ट खेद्न युवा सबै एकै हुनु पर्छ ।

 

फबिन्द्र प्रधान

भोजपुर

(पुन: प्रकाशन)

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको