६ जनाको हत्या पछि चिर्पटलाई आगोमा बाल्ने लोकमान पक्राउ  

संखुवासभा, २७ भदौ । एकै घरका ६ जनाको हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । मादी नगरपालिका १ उम्लिङ खोला गाउँमा एकै घरका ६ जनाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

उक्त गाउँका ५५ वर्षीय तेजबहादुर कार्की, उनकी आमा ८४ बर्सिया पार्वती भन्ने पार्वता कार्की, श्रीमती ५४ बर्सिया कमला भन्ने मनमाया कार्की, बुहारी ३२ बर्सिया रञ्जना कार्की, नाति १० वर्षीय विपिन भन्ने दीपेन कार्की र नातिनी ५ बर्सिया गोमा कार्कीको भदौ २१ गते बिहान चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ परेका लोकबहादुरलाई इलाका प्रहरी कार्यालय चैनपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।

उक्त घटनाको सूचना प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय संखुवासभा समेतबाट खटिएको प्रहरीले उक्त स्थानमा टाउको तथा शरीरको विभिन्न भागहरूमा चिर्पटले प्रहार गरी हत्या भएको अवस्थामा ६ जनाको शव फेला पारेको थियो । थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय संखुवासभा, संघीय प्रहरी कार्यालय धरानबाट डग सहित, प्रदेश प्रहरी कार्यालय विराटनगर र केन्द्रीय अनुसन्धान ब्युरो समेतबाट प्रहरी टोली परिचालित भई घटनाको विश्लेषण तथा अनुसन्धानको क्रममा तेजबहादुरले आफूलाई पटक पटक पागल र काम गर्न नसक्ने भनेको रिसको झोकमा दाउराको चिर्पटले टाउकोमा प्रहार गरी हत्या गरेको, तेजबहादुरले हारगुहार गरेको सुनेर श्रीमती कमला र बुहारी रन्जना घटनास्थलतर्फ आएपछि उनीहरूलाई पनि चिर्पट प्रहार गरी हत्या गरेको, दिपेन र गोमालाई लखेटेर हत्या गरेको र घरमा गई पार्वतलाई भित्तामा टाउको ठोक्काई हत्या गरी आफ्नो घर फर्किएर घटनामा प्रयोग गरेको चिर्पट अगेनामा बालेर नष्ट गरेको अनुसन्धानबाट खुल्न आएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

पक्राउ परेका कार्कीको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको