कागजमा खारेज र बिक्री गरिएको ‘‘हिन्दु राष्ट्र’’ कायम गर्न मेरो उम्मेदवारी: नरेश साह

- ‘‘देश र जनताको भविष्य बिगार्नेसँग प्रतिस्पर्धा छ’’

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको तयारी गर्न उम्मेदवारहरूलाई भ्याई नभ्याई छ । विभिन्न एजेण्डा बोकी चुनाव केन्द्रित घरदैलो कार्यक्रमलाई तीव्रता दिँदै क्षेत्रको समस्याहरू समाधान गर्ने भन्दै जनतालाई फकाउन उम्मेदवाहरु कम्मर कसेर लागेका छन् ।

स्थानीय निर्वाचनको मुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका वीरगंज महानगरपालिका वडा नं. ६ माईस्थानका नरेश कुमार साह पनि पर्सा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका छन् । राजसंस्थाबाट जोडिएको व्यक्ति भएकोले हिन्दु राष्ट्रको पहिचान स्थापित र क्षेत्रको विकासको लागि आफू राप्रपाबाट चुनावमा होमिएका प्रतिनिधि सभा सदस्यका उम्मेदवार साह बताउँछन् ।

सत्ता गठबन्धन र नेकपा एमाले–जसपा गठबन्धनसँग राप्रपाबाट प्रतिस्पर्धा गर्न चुनावमा होमिएका प्रतिनिधि सभा सदस्यका उम्मेदवार साहले देश र जनताको भविष्य बिगार्ने विरुद्ध आफ्नो उम्मेदवारी रहेको बताउँछन् । केही नेताले कागजमा खारेज र बिक्री गरेको ‘‘हिन्दु राष्ट्र’’ समेत कायम  गर्न राप्रपाको मुख्य एजेण्डा रहेको सह बताउछन् । उनै राप्रपाका उम्मेदवार साहसँग गोठालो खबरको लागि बलिराम यादवले गरेको कुराकानीको सम्पादित अंश जस्ताको त्यस्तै।

नयाँ अनुहार हुनुहुन्छ, चुनाव लक्षित घरदैलो कार्यक्रममा जनताले यहाँलाई कतिको पत्याएका छन् ?

उत्साहजनक सहभागिता जुटिरहेको छ । नयाँ अनुहार ल्याई परिवर्तन जनता आतुर छन् । मुलुकलाई सुशासन, समृद्धि र विकासको बाटोमा लैजाने नयाँ र युवा जनप्रतिनिधिको खोजीमा जनता थिए । त्यस अनुसार मेले चुनावी घरदैलो गर्दा उत्साहजनक जनताको साथ र सहयोग पाएको छु ।

बिना कुनै योगदान राजनीतिमा अचानक आउँदा जनताले यहाँलाई किन पत्याउने नि ?

राजनीति जनताको सेवा र देशको विकासको लागि गरिन्छ । जनताको सेवा गर्ने कार्यमा पहिल्यैदेखि सक्रिय हुँदै आएको व्यक्ति हुँ । लामो समय नेपाली काँग्रेसलाई समर्थन गर्‍यौँ । तर देशको हालत हेर्नु कस्तो छ ? एउटै नेता बारम्बार जितेर पनि क्षेत्र र जनताको स्तर उकास्न सकेको छैन । देश बनाउन युवा र राप्रपा बाहेक अन्य विकल्प पनि छैन । किन भने वर्षौँदेखि अन्य दललाई जनताले हेरिसके । दिगो विकास र निकासको लागि मुलुकले राप्रपाका राष्ट्रिय अध्यक्ष राजेन्द्र लिङदेन जस्तो कर्मठ र योग्य नेतृत्व पाएको छ । हिन्दुराष्ट्रको स्थायित्व र समृद्ध मुलुक निर्माणको लागि राप्रपा बाहेकको विकल्प छैन । जुन जनताले सजिलै बुझिसकेका छन् ।

विगत २० वर्षमा सबै उद्योग कलकारखाना बन्द भइसकेको अवस्था छ । आखिर नेपाली काँग्रेस, एमाले र माओवादीकै सरकारमा कलकारखाना बन्द भएको हो नि ! तसर्थस् त्यही पुरानो अनुहारलाई फेरी भोट दिए त देश झन् खतम हुन्छ नि ! त्यसकारण जनता बदलावको पक्षमा छन् । देश बनाउन युवा र नयाँ शक्ति चाहिन्छ । त्यहि शक्तिको रूपमा म प्रस्तुत भएको छु ।

पर्सामा खासै जनाधार नरहेको राप्रपाबाट चुनाव जित्ने आधार के छ ?

चुनाव जित्ने आधार जनता हुन । जुन जनतालाई राप्रपासँग लगाव भइसकेको छ । राप्रपा र अध्यक्ष राजेन्द्र लिंङदेन नेतृत्वको सरकार नेपाली जनताले चाहेको छ । दशकौँदेखि सबै दललाई नेपाली जनताले देखिसकेका छन् । सरकारमा भएर देशको मेरुदण्डको रूपमा मानिने उद्योग कलकारखानालाई बन्द गरी मुलुकलाई कङ्गाल बनाइसकेका छन् । त्यही भएर जनताले यसपालि राप्रपाको नेतृत्वमा सरकार चाहेको छ, त्यही भएर भोट हामीले पाउने हो । जुन घरदैलो कार्यक्रममा उत्साहजनक सहभागिता देखिरहेको छ ।

पर्सा क्षेत्र नं. २ मा जनताको मुख्य समस्या के पाउनु भएको छ रु त्यसको लागि के छ यहाँसँग योजना ?

मुख्यतः त यस क्षेत्रका अधिकांश दलितहरूसँग घर छैन । भएको घर पनि वर्षौँदेखि ऐलानी जग्गामै छ, जसको हालसम्म लालपुर्जा बनेको छैन । धेरै नेताहरू झुटो आश्वासन दिई लालपुर्जा बनाई दिने भने पनि अवस्था जिउको तिउँ छ । केवल भोटको लागि झुटको खेती मात्रै गर्छन् । शिक्षा, स्वास्थ्य र सिचाइसँग जनताको सजिलो पहुँच छैन । वर्षेनी मलखाद्यको लागि जनता भौँतारी रहन्छन् तर पनि क्षेत्र र देशको नेतृत्व गरेका नेताहरूले किसानको आवाज सुनेका छैन । पढेलेखेर युवाहरू रोजगारीको लागि विदेशीने क्रम बढ्दो छ । देशमै बेरोजगार भएर लाखौँ युवाहरू भट्कीरहेका छन् ।

निःशुल्कमा आउने औषधी पनि जनताको पहुँचमा छैन । यो समस्या अहिलेको मात्रै होइन, बर्षौंसम्म यस क्षेत्रको प्रतिनिधित्व गरेका नेताहरूको पालादेखि नै जिउका तिउँ छ । तसर्थस् यस क्षेत्रबाट निर्वाचित भएका सांसदहरू आफ्नो विकास मात्रै गरे । अलिकति पनि समाज र जनताको विकास भएको छैन । रुघाखोकी लागे पनि वीरगंज, हेटौडासम्म पुग्ने अवस्था छ ।

मासिक १०/१५ हजारको महिना कमाउने मजदुर व्यक्तिको घरमा मान्छे बिरामी भयो भने खानै नभ्याउनेले आफ्ना बालबच्चालाई कसरी उच्च शिक्षादीक्षा दिन्छन् ? तसर्थ: अहिले पनि यो क्षेत्र शिक्षा र स्वास्थ्यमा धेरै पछाडि छ । शिक्षा र स्वास्थ्यको विकास भयो भने यस क्षेत्रको कायापलट हुन्छ । तसर्थस् राप्रपा नेतृत्वको सरकारमा बन्द उद्योगलाई पुनः सञ्चालनमा ल्याई युवाहरूलाई स्वरोजगार बनाई शिक्षा, स्वास्थ्य क्षेत्रको विकासलाई तीव्र बढाइने मुख्य एजेण्डा रहेको छ । भनेर मात्र होइन राप्रपाको सरकार बने सबै गरेर देखाउने छौँ ।

सत्ता गठबन्धन र एमाले–जसपा गठबन्धनको सामना गर्न के कस्तो तयारी गर्नु भएको छ ?

मेरो प्रतिस्पर्धा देश र जनताको भविष्य बिगार्नेसँग छ । शिक्षा, स्वास्थ्य, रोजगार जस्ता क्षेत्रमा विकास नगरी जनतालाई सधैँ पीडा र दुःख झेल्न बाध्य बनाएका दल र नेताहरूसँग प्रतिस्पर्धा छ । समाजमा बढिरहेको विकृति, विसङ्गति र भ्रष्टाचारको विरुद्धमा लड्ने प्रतिस्पर्धा छ । जनताको साथ र सहयोग पाइरहेकोले निर्वाचित हुनेमा विश्वस्त छु ।

हिन्दु राष्ट्रको एजेण्डा बोकेको यहाँको पार्टीले साम्प्रदायिक एकतालाई खल्ल पु¥याउने आरोप छ नि ? यस क्षेत्रको निर्णायक भूमिकामा रहेका मुस्लिमहरूको साथै नपाई हिन्दु राष्ट्र मुद्दामा यहाँले जनताको साथ कतिको पाउने विश्वस्त हुनुहुन्छ ?

राजसंस्था हुँदा खेरी पनि हिन्दु राष्ट्र थियो । केही नेताले कागजमा हिन्दु राष्ट्र खारिज र बिक्री गरिदियो । नेपाल हिन्दु राष्ट्र हो भनेर विश्वमै ठुलो पहिचान थियो । केही नेताहरूले त्यो पहिचान सिद्ध्याएका छन् । यही संघीय निर्वाचनबाट पूर्ण बहुमतमा आएर हिन्दु राष्ट्रको पहिचान कायम पनि गर्नुछ ।

चुनाव लक्षित मतदातालाई रिझाउन यहाँको एजेण्डा के छ ?

पहिलो नेपाललाई ‘हिन्दु राष्ट्र’ कायम गर्ने । संघीयता खारिज गरी निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्थापन गर्ने । बाटोघाटोसहित युवाहरूलाई स्वदेशमै रोजगारी हुनुपर्छ । बन्द तथा विस्थापित भएका कलकारखानाहरू पुनः सञ्चालनमा ल्याई कृषिलाई आधुनिकीकरण गर्नु योजना छ । यस्ता धेरै समस्या छन् जसलाई जरैबाट फाल्न राप्रपा नेतृत्वको सरकार अपरिहार्य छ । संघीयता आएपछि झन् भ्रष्टाचार बढेको छ । बिना पैसा कुनै पनि कार्यालयमा काम भइरहेको छैन । यस्ता धेरै विकृति विसङ्गतिलाई हटाउनु छ ।

अहिलेको महँगिँदो निर्वाचनमा चुनावको लागि कति रकम खर्च गर्ने व्यवस्था मिलाउनु भएको छ ?

राप्रपाले कुनै पनि क्षेत्रमा खर्च गरेको छैन । पम्पलेट, ब्यानर बाहेक अन्य कुनै खर्च छैन । अर्को घरदैलोमा जान गाडीमा लाग्ने इन्धन खर्च मात्रै छ । अरूले त भोट लिनलाई मतदाता फकाउन साडी नै वितरण गरिरहेका छन् । पैसा, दाउरा, साडी जस्ता सामान वितरण गरिरहेका छन् । तर जनताले बुझिसकेका छन्, लिनेले लिइरहेछन् तर भोट भने दिनेवाला छैनन् त्यसतालाई । किन भने सबैलाई थाहा छ, हाम्रै पैसा लुटेर पछि नोट बाँडेर भोट खरिद गर्छन् । अब दारु, मासु, साडीमा जनता बिक्ने छैनन् । यसपालि जनता सचेत छन् । त्यसतालाई तह लगाउने छन् ।

पर्सा क्षेत्र नं. २ मा विगतका सांसदहरूले गरेको कामलाई यहाँले कसरी निहाल्नु भएको छ ?

विगतमा त कामै भएको छैन नि । क्षेत्र नं. २ मा मात्रै होइन, कुनै पनि क्षेत्रमा चाहिने जति काम भएको छैन । कति सांसद फेरिए तर विकासको नाममा विनाश भएको भन्न सकिने अवस्था छ । संघीयताको कुरा गरिन्छ । ३ करोडको अबादीमा ७ वटा प्रदेश बनाएर ६०८ वटा सांसद बनाएर देशलाई कति ठुलो भार दिएको छ । देशले धान्नै नसक्ने भार बोकेर मुलुकलाई खोक्रो बनाईदैछ । अरू देशमा १५/२० करोड जनसंख्यामा एउटा मुख्यमन्त्री हुन्छ तर यहाँ त २ करोड ९० लाख मै सात-सातवटा छन् । यो भनेको देश बनाउने होइन, नेता पाल्ने संघीयता आएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको