कृषिमा लागेका महिला उद्यमीहरूको ‘सफलताको कथा तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

काठमाडौं, २२ भदौ । कृषिमा लागेका महिला उद्यमीहरूको प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल महिला चेम्बरले ‘सफलताको कथा तथा अन्तर्क्रिया कार्यक्रम’ आयोजना गरेको छ । कार्यक्रम नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । भर्चुअल माध्यमबाट आयोजित सो कार्यक्रममा कृषि पेसामा लागेका महिला उद्यमीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले अहिले जसरी भए पनि काम गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै मुलुकमा उत्पादन वृद्धि गरी देशलाई आत्मनिर्भर बनाउन उत्पादनशील कृषि क्षेत्रमा लगानी बिस्तार गर्नुपर्ने बताए ।

चेम्बर अध्यक्ष मल्लले विचौलियाका कारण उद्यमीहरूलाई मूल्य र बजारीकरणमा समस्या उत्पन्न हुँदै आएकोले सामूहिक रूपमा मिलेर जाँदा सबैलाई निर्यात एवं बजारीकरण गर्न सहज हुने बताउँदै जिल्लास्तरमा सानो स्केलमा सहकारी मार्फत र केन्द्रीय स्तरमा लिमिटेड कम्पनी मार्फत कृषि क्षेत्रमा काम गर्न पनि उनले सुझाव दिँदै चेम्बरले व्यापार प्रवर्द्धनमा सघाउ पुर्‍याउने जनाए ।

अध्यक्ष मल्लले कृषि पर्यटन  र प्रविधिलाई जोडेर अघि बढनुपर्ने आवश्यकता औँल्याउँदै भन्सार छुटमा ढुवानी साधनहरू खरिद गर्ने व्यवस्था सरकारले मिलाउनु पर्ने आवश्यकता रहेको धारणा समेत राखे ।  साथै उनले महिला चेम्बरले पछिल्लो समय देखाएको सक्रियताको प्रशंसा गर्दै नेपाल चेम्बरको तर्फबाट महिला चेम्बर नेतृत्वको मुक्तकण्ठले प्रशंसा समेत गरे ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष समेत रहेकी नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले अनुभव साटासाटले राम्रा र नराम्रा दुवै पक्षलाई केलाउँदै अघि बढ्दा एक अर्कामाथि परेको समस्या समाधान गर्दै र सहज रूपमा अघि बढ्न सघाउ पुग्ने धारणा राखिन् । अध्यक्ष श्रेष्ठले महिला उद्यमीहरूलाई सहजीकरण गर्ने उद्देश्यका साथ नेपाल महिला चेम्बरले ब्राण्डिङ्, प्याकेजिङ, मार्केटिङ, वित्त व्यवस्थापन लगायतका प्रभावकारी कार्यक्रम गरिसकेको उल्लेख गर्दै स्टोरी टेलिङ र अन्तर्क्रिया कार्यक्रमले थप रूपमा महिला दिदी बहिनीहरूलाई प्रोत्साहन र बजार प्रवर्द्धन समेतमा मद्दत पुग्ने दाबी गरिन् ।  साथै उनले व्यापार, रुचि र विज्ञताले पनि सफलता हासिल गर्न अहम् भूमिका खेल्ने बताउँदै महिला उद्यमीहरूलाई गोलबद्ध गराई प्रभावकारी कार्यक्रमको माध्यमबाट अन्य कार्यक्रममा समेत जोड्दै जाने वचनबद्धता व्यक्त गरिन् ।

कृषि विज्ञ डा दीपक शर्माले आफूले १० वर्ष देखी जडीबुटीको विषयमा अध्ययन गरेको बताउँदै नेपालले भारत र चीन मात्र नभई तेस्रो मुलुकमा समेत निर्यात गर्ने लक्ष्यका साथ  गुणस्तरीय उत्पादन माथि केन्द्रित हुनुपर्ने बताए ।  जडीबुटीजन्य सामाग्री उत्पादक एवम् निर्यातकर्ता प्रेम तिवारीले सरकारबाट आवश्यक सहयोग नपाउँदा जडीबुटीजन्य सामाग्रीको बजारीकरणमा समस्या हुँदै आएको उल्लेख गर्दै आफूले टिमुर र अलैँचीको बिक्री गर्दै आएको र उक्त वस्तुहरू लोकल मार्केटमा भन्दा अन्तर्राष्ट्रिय बजारमा बढी बिक्री गर्ने गरेको जानकारी दिए ।  साथै उनले ल्याब नभएका कारण नेपाली उत्पादनलाई विदेशी बजारमा लैजान अप्ठ्यारो हुने गरेको र  हाल विश्व बजारमा बेसारको राम्रो माग रहेको पनि जनाए ।

सफल चार महिला उद्यमीहरूले आफ्नो सफलताको कथा बारे अनुभव राखेका थिए ।  सो अवसरमा आफ्नो अनुभव राख्दै अदुवा लगायतका कृषिजन्य उत्पादनको बजारीकरण गर्दै आएकी महिला उद्यमी सुलोचना श्रेष्ठले आफूले कर्णाली लगायतका देशका विभिन्न ग्रामीण भेगका कृषक वर्गबाट उत्पादित अर्गानिक उत्पादनको बजारीकरण गर्दै आएको जानकारी दिँदै उक्त उत्पादनहरूलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन मापदण्डहरू पुरा गर्नुपर्ने भएकाले गुणस्तर माथि बढी ध्यान दिइने गरेको बताइन् ।  साथै, उनले आफूहरूले अर्गानिक उत्पादनका लागि पर्यावरणीय सन्तुलनमा समेत विशेष महत्त्व दिँदै आएको जनाइन्। किसानलाई बिचौलियाहरूबाट ठगिनबाट जोगाउन सचेतनामूलक गतिविधीहरुको गर्दै आएको र यसका लागि प्रभावकारी कार्यक्रम समेतको खाँचो महसुस गरी निकट भविष्यमा किसानको हितमा हुने गरी कार्यक्रम प्रस्तुत गर्ने लक्ष्य बोकेर अघि बढेको पनि उनले बताइन्। मौरी पालक महिला उद्यमी सरिता भट्टराईले आफू दश वर्ष देखी मौरी पालनमा लाग्न थालनी गरेको जानकारी दिँदै लगन र अठोटका साथ कर्ममा तल्लीन भएकाले चुनौतीहरूको सहज रूपमा सामना गर्न सकेको बताइन् ।  सिपका कारण  आफू अगाडि भएको महसुस गरेको र शुद्ध महको माग विश्व बजारमा अधिक रहेको उल्लेख उनले गरिन् ।
त्यसैगरी, चिया उत्पादक महिला उद्यमी रुचि शिवाकोटीले आफूहरूले उत्पादन गर्ने चियाको ३० प्रतिशत स्वदेशी बजार र ७० प्रतिशत भारतीय बजारमा खपत हुँदै आएको जानकारी दिँदै चिया पत्तीहरू संकलन गर्दा ग्रेडका आधारमा बगानलाई शुल्क तिर्ने गरेको बताइन्। उनले चियाको रङ र लिक्करका आधारमा चियाको गुणस्तर मापन हुने र सोही अनुरूप मूल्य निर्धारण हुने जनाइन्।् । चिया बिक्री गर्दा स्याम्पलिङ गरी क्रेताहरूलाई पठाउने गरेको पनि उनले उल्लेख गरिन् ।

कार्यक्रममा सहजकर्ताको भूमिका निर्वाह गर्दै नेपाल चेम्बर अफ कमर्शकी कार्यकारिणी सदस्य तथा नेपाल महिला चेम्बरकी महासचिव लिमा अधिकारीले महिला चेम्बरले महिला उद्यमीहरूलाई एकत्रित गरी सामूहिक लगानीमा व्यवसाय संचालन गर्न चेम्बर नेतृत्वको सुझावलाई ग्रहण गर्दै अघि बढ्न गृह कार्यमा जुटने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रम माझ देशभरबाट सहभागी महिला उद्यमीहरूले अन्तर्क्रिया सत्र माझ आ आफ्नो अनुभव र समस्याहरू राखेका थिए भने वक्ताहरूले फ्लोरमा उठेका सवालको जवाफ दिएका थिए ।

कार्यक्रममा नेपाल महिला चेम्बर अफ कमर्शकी कार्यसमिति सदस्य जानकी प्रधान श्रेष्ठले कार्यक्रममा उपस्थितिका लागि सबैलाई धन्यवाद ज्ञापन गरिन् ।

कार्यक्रममा विशेष गरी बेसार,मौरी पालन तथा मह उत्पादन, कफी र चियाको व्यावसायिक खेती गरेर नेपालको उत्पादनमुखी अर्थतन्त्रमा जोडिएका विभिन्न जिल्लाका सफल महिला उद्यमीहरू कार्यशाला तथा अन्तरक्रिया कार्यक्रममा जोडिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको