वैकल्पिक चिन्तन र नेपाली राजनीतिको सार्थक निकास

आरम्भ,

जहानियाँ राणातन्त्र अन्त्य पश्चातको साढेसात दशकमा पाँचवटा संविधान र छ वटा व्यवस्था फेरिंदापनि आमूल परिवर्तनको तिर्खा नमेटिएकोे आम नागरिकहरूले गुनासो गरिरहेका छन् । पटक-पटकको हिंसात्मक तथा अहिंसात्मक आन्दोलनहरू भए कुनै सापेक्षिक सार्थकता पायो भने कुनैले पाएन । तर आन्दोलन परिवर्तन मुखरित नै थियो, आन्दोलनकारीको रगत पसिना अघिल्लो व्यवस्थाको विरुद्ध पछिल्लो व्यवस्था ल्याउने सिर्जनात्मक पुँजीको काम ग-यो नै । त्यसले मात्रात्मक परिवर्तनको निम्ति भूमिका निर्वाह गरेपनि गुणात्मक परिवर्तनमा भूमिका खेल्न नसकेकोमा आम नागरिकहरूको गुनासो छ । त्यसैले राष्ट्रोन्नतिको कार्यभार पुरा गराउन, आम नेपालीको जीवन र जगतमा आमूल परिवर्तनको प्रत्याभूति दिलाउन सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनलाई सामाजिक रूपान्तरणको दायित्व बहन गर्न परम्परागत सोच चिन्तन र राजनीतिक प्रणाली अपुग भएकै कारणले त्यसका सकारात्मकताको रक्षा गर्दै नकारात्मकता मिल्काउने सैद्धान्तिक र व्यवहारिक चिन्तन नै वैकल्पिक चिन्तन हो । यो केवल राजनीतिक प्रणाली र अर्थतन्त्रको सवाल मात्र होइन सामाजिक चिन्तन प्रणालीको समेत नवीनताको खोज नै वैकल्पिक चिन्तन प्रणालीको चासोको क्षेत्र हो ।

के हो वैकल्पिक चिन्तनको मूल ?

राजनीति मूलतः राष्ट्रलाई विद्यमानताबाट नवीनतामा पु¥याउन, पुरातनबाट नुतनमा पु¥याउने सबैभन्दा शक्तिशाली बिधिसंगत उपाय हो । समय कटाउने उद्देश्यले फुर्सदमा गरिने बुद्धिबिलास होइन, न त अँध्यारो कोठामा गरिने ठगिधन्दाको जालसाजी नै हो । त्यसैले वैकल्पिक चिन्तनलाई पेसाको रूपमा अपनाउने हो भने त्योपनि नयाँ प्रकृतिको ठगी हुन्छ भने त्यसलाई नशाको रूपमा अपनाउने हो भने राष्ट्रोन्नतिको असली उपाय हुनसक्छ ।

हामी वर्गीय समाजमा छौँ, फरक भूगोल र फरक सामाजिक संरचनामा हुर्कियौँ, त्यसैले हाम्रा चेतनाहरू भिन्न भिन्न हुनु स्वभाविकै छ । र आफ्नो चेतनाको परिधिभित्रको सीमित बुझाइले स्वाभाविक रूपमा स्वार्थ समूहको रूप लिन्छ । त्यसले आफ्नो समुदायको रक्षा गर्न समय सापेक्ष राजनीतिक रङ्ग पनि दिने गरिन्छ । वास्तवमा त्यही रूप र रङ्गको सामूहिक अस्तित्वको जीवित पिण्ड नै पार्टी हो । जसमा कम्युनिष्टहरु वर्गसापेक्ष न्याय खोज्छन्, जातीय संकिर्णतावादीहरु जात सापेक्ष न्याय भन्दै निर्धामाथि भएको अन्यायलाई वैध मान्छन् । क्षेत्रीयतावादीहरू क्षेत्रको वकालत र त्यसको परिपूर्ति नै सामाजिक न्याय मान्छन् । त्यस्तै अन्य मझौलावादीहरु टिप्पन टाप्पन सामाजिक विकृतिको कुरा समात्दै विद्यमानताको विरोध त गर्छन् तर त्यसलाई सार्थक निष्कर्षमा पु¥याउने बेलामा आफ्नै सिद्धान्तहीनता, राजनीतिक आदर्शबिहिनताले उनीहरूलाई शक्तिकेन्द्रको वरिपरि केन्द्रित गरेको हुन्छ । प्राय यस्ता सिद्धान्तविहीन अराजक तत्त्वहरू समस्या देखाउन सक्छन् समाधान दिन सक्दैनन् र निर्णायक बेलामा शक्तिकेन्द्रको वरिपरि आफ्ना सम्पूर्ण पूर्व भनाइहरू, पूर्व विद्रोहका यथार्थ कारणहरू विसर्जन गर्न पुग्छन् । लामो समयदेखिको राष्ट्रिय अराजकताको मूल जिम्मेवार यो पक्ष हो ।

वैकल्पिक चिन्तनले देशमा रहेका हजारौँ समस्याहरुमध्य सबैलाई प्रतिनिधित्व गर्ने सामर्थ्य राख्नुपर्छ, नत्र एकाधमात्र समेट्ने हो भने त्यो एकाङ्गी बन्छ, राष्ट्रिय चिन्तनको स्वरूप ग्रहण गर्ने सामर्थ्य राख्दैन । त्यस्तै हजारौँ मध्य सबैलाई समेट्ने नाममा हरेक समय, काल परिस्थिति र स्थानमा सबैको बिस्कुन लाउन थाल्यौँ भने प्रहारको निशाना बुच्चो हुने र त्यसले विद्रोह होइन, बौलाहाको बक बकमात्र ओकल्छ । त्यसैले देशमा विद्यमान हजारौँ समस्याहरूको सङ्कलन, वर्गीकरण गर्ने र समय सापेक्षरुपमा त्यसलाई वैज्ञानिक विश्लेषण गरी प्रयोग गर्दा नै विषय वस्तुपनि समेट्ने र सामाजिक विकृति बिसंगतिहरुको समाधानमा राज्यलाई केन्द्रित गराएर परिवर्तन वा रुपान्तरणपनि गर्न सकिन्छ ।
एक समय, काल र परिवेशको निम्ति योग्य भएको वैकल्पिक चिन्तन संधैको निम्ति वैकल्पिक रहँदैन, समयको सापेक्षतामा विकसित परिवेशले नयाँ सीमाहरूको माग गर्छ र त्यही मागले नयाँ परिवेशमा नयाँ निकासको खोजी गर्छ, त्यसको समाधानको मूल बाटो नै नयाँ प्रकारको वैकल्पिक चिन्तन हुन्छ । यदि विगत मात्र भजेर समय बिताउने हो भने त्यो केवल आदर्शवाद हुन्छ, यथार्थवाद हुँदैन । सामाजिक परिवर्तनमा आदर्शवादले इतिहासको किस्सा समेटिएको कथा भन्न काम लागेपनि नयाँ परिवेशले ल्याएको नयाँ आवश्यकता पूर्ति गर्ने सामाजिक अभियानको नेतृत्व गर्न, सामाजिक विकृतिहरूको उपचार गर्न सक्दैन । तर कसैले रटान लगाइरहन्छ, त्यसैलाई सबैभन्दा सधैँ, सबैभन्दा उत्कृष्ट भनिरहन्छ भने त्यो परम्परागत मान्यता मात्र हुन्छ, अझ त्यसमा सौन्दर्य थप्ने नाममा फुँदा गाँस्दै अतिरिक्त प्रचार गरिन्छ भने त्यो संस्कृति बन्छ । त्यसैले वर्तमान युगको प्रतिनिधित्व त्यस्तो परम्परा र संस्कृतिको विरासत धानेर क्रान्ति, परिवर्तन र सामाजिक रूपान्तरण आउँदैन । त्यसको लागि जीवन जगतको बृहद र तथ्यसंगत अध्ययनको जरुरत पर्छ । त्यहाँको अन्तर्विरोधहरूको सूक्ष्म अध्ययन र वस्तुगत विश्लेषण हुन नसक्दा सामाजिक विसङ्गति राज्यको कुनीति विरुद्ध गरिएको प्रहार खेर जान्छ, जनतासँग मागिएको रगत पसिनाको मोल फजुलमा नासिन्छ ।

दाशप्रथाको अवशेष बाँकी नै रहेको बेला, सामन्ती शासनको प्रारम्भिक चरण, नीति नियमको कुनै सङ्गति नमिलेको अवस्थामा बुद्धबचनको सापेक्षिक सङ्गतिपूर्ण अहिंसात्मक तर्कपूर्ण ज्ञान वैकल्पिक चिन्तन बन्यो । अठारौँ शत्ताब्दिको मध्यदेखि पुँजीवादी लुट खसौटले साम्राज्यवादी रूप लिँदै गरेको बेला, कुटीर उद्योगबाट बृहद उद्योगमा पाइला चाल्दै गर्दा बजार कब्जाको नाममा देशै कब्जा गर्ने र आफ्नो रक्षार्थ सेना हतियार र युद्धसामाग्रीको विकास र विस्तारले नरहत्याको भयानक दृश्यले पूर्व जङ्गली युगको सम्झना गराइरहेको थियो, जसको कारण निजी स्वामित्व, धनको लालसाले वर्गहरूको जन्म र त्यसमा बिभेदीकरणको तीव्रता आततायीरुपमा बढेको र बढ्ने कुराको वस्तुगत अध्ययनद्वारा कार्ल मार्क्सले यसको उपर्युक्त उपचार वर्गविहीन समाजको सिर्जना हो र त्यसको निम्ति समाजवाद र साम्यवाद जस्तो दीर्घकालीन विकल्प दिए । त्यस्तै आजको नयाँ परिवेशले समाजवाद राज्यकेन्द्रित भएको हुँदा साम्यवादको दिशा भूलेको, र पुँजीवादले एकाधिकार कायम रहँदै साम्राज्यवादको पनि विकृत रुमलिएको कारणले पुँजीवादको सामान्य धर्म (उत्पादन) गर्न छोडेर हस्तक्षेप, कब्जा, र लुट खसौट गर्न दिशातिर लागेकोले त्यसलेपनि समाजको सर्वाङ्गीण उत्तरदायित्व निर्वाह गर्न नसकेको हुँदा अबको विकल्पमा कुनै न कुनै रूपले नयाँ आयाम थप्नु जरुरी देखिन्छ ।

विषय वस्तुको सापेक्षतामा कुनै विकल्प रणनैतिक हुन्छ जो युग युगसम्म काम लाग्छ कुनै विकल्प कार्यनीतिक वा अल्पकालिक हुन्छ जो सीमित अवधि वा समयमात्र काम लाग्छ । जस्तै बुद्धको शान्तिवादी चेतनाले हजारौँ वर्ष काम ग¥यो । यद्यपी संसारको उत्पत्तिदेखि हालसम्मको इतिहासमा अस्तित्वको निम्ति संघर्ष नभएको एक निमेष पनि छैन । तैपनि क्रान्ति भित्रको शान्तिको प्रवर्तन गर्दै बुद्धवाद स्थापित भएपनि १८औँ शताब्दीमा मार्क्सको नयाँ ज्ञानले संसारलाई शान्ति सापेक्ष र क्रान्ति निरपेक्ष हुने कुरा सिकायो । यी दुइटै दर्शनले मानव समाजलाई युगान्तकारी तरङ्ग पैदा गराइरह्यो । यी दुवै चिन्तनधारा विपरितार्थक जस्तो देखिएपनि बुद्ध दर्शनका विभिन्न पाटापक्षमा भौतिकवादको छनक मिलेपनि भौतिकवादलाई द्वन्द्वात्मक पद्धतिबाट बुझ्ने र त्यसमुताबिक समाजको रूपान्तरणमा जोड दिने पाइँदैनथ्यो, जसको कारणले बुद्धवचन भौतिकवादी सिद्धान्त नबनी धर्मशास्त्रको सूत्र र कपटी अनुयायीहरूको मागिखाने भाँडो बन्न पुग्यो । तर मार्क्सवाद बोलाई गराई र नीति सिद्धान्तमैपनि वस्तुभित्रको द्वन्दात्मकता र सामाजिक सहिष्णुतापूर्ण “शान्ति” केवल सामाजिक विभेदको अन्त्यबाट आउने समुन्नत न्याय प्रणालीवाटमात्र स्थापित हुने सक्ने र त्योपनि क्षणिक हो । किनकि जितपछि बनेको नयाँ समीकरणले फेरी नयाँ संघर्ष जन्माउने शाश्वत तथ्य उजागर गरेको छ । त्यसैले त कम्युनिष्ट पार्टीको घोषणापत्रको पहिलो वाक्यमा नै उहाँहरूले “संसारको इतिहास भनेकै वर्गसंघर्षको इतिहास हो…!” लेख्नुभयो । बुद्ध बचनले कसैले एउटा गालामा हान्छ भने अर्को गाला पनि थाप्ला नैतिक मूल्यवोधले उनले हान्न नसक्ने र शान्तिको जन्म हुने आदर्श स्थापित गरेको छ भने मार्क्सवादले कसैले एउटा गालामा हान्छ भने त्यसलाईपनि थप्पड लाउँदा शक्तिको सन्तुलन हुने र शान्ति स्थापित हुने तथ्य राख्छ । यी दुइटै तथ्यले समाजलाई प्रेरणा दिइरहेकै छ, नैतिकताको मूल्यसहितको समाज, काल, परिस्थितिमा बुद्धवचनले काम गरेको छ भने नैतिकताको मूल्यवोध हराएको स्वार्थी नीच र आततायी समाजमा मार्क्सको दर्शनले काम गरेको छ । यद्यपी यी दुईवटै आदर्श दर्शनले सामाजिक सापेक्ष महत्त्व बोकेको र सापेक्ष स्थान ओगटेकै छ, किनकि यी दुईवटै दर्शन रणनैतिक महत्त्वको दर्शन हो । भने हरेक देशका संविधान परिवर्तन, सानादेखि ठूला सम्म आन्दोलनहरूको मर्म, त्यसबाट हुने सरकार, सत्ता, वा व्यवस्थाका परिवर्तनहरू सबै यसको तुलनामा कार्यनैतक विकल्पहरू हुन् ।

वर्गीय समाजको प्रतिबिम्ब झल्कनेगरि सबैले आ–आफ्नो विवेचना र विश्लेषण गर्दै आफ्नै बुझाइलाई पूर्ण मान्दै विकल्पको रूपमा प्रस्तुत गरिरहेका हुन्छन् । तर त्यस्ता विश्लेषणहरूले आफू बाहेक अरूको पनि प्रतिनिधित्व गर्नुपर्छ भन्ने कुरा मान्दैनन्, आफैमात्र भलो हुने आफ्नै मात्र हित हुने तर्क आफू भलो त जगत् भलो भन्ने सामन्ती सोचाइयुक्त सन्देश दिइरहेका छन् । के त्यस्तो विश्लेषणले समग्र समाजको महारोगको रूपमा स्थापित भ्रष्टाचार, अनियमितता, कालाबजारिया, माफियातन्त्र, नातावाद–कृपावाद, अपारदर्शी प्रशासन, राजनीतिक कुशासन, वैदेशिक गुलामितन्त्र, मगन्ते संस्कृतिको उन्मुलन होला ? जसले आफ्नो हक अधिकारमात्र बुझ्दछ, आफ्नो सुरक्षित गर्दा अरूमाथि अन्याय थोपर्छ त्यस्तो न्यायले सामाजिक उन्नतिको अवस्थामा पु¥याउला ?

वैकल्पिक चिन्तन केवल राजनीतिक प्रसङ्ग र सत्ताको छिनाझपटीमा सीमित रहँदैन । विज्ञानमा आउने वैकल्पिक चिन्तनले समाजलाई नयाँ अनुसन्धानतिर डो¥याउँछ ! प्रविधिमा आउने नयाँ चिन्तनले समाजलाई नयाँ नयाँ वस्तुको आविष्कार गर्न मदत गर्छ ! श्रम सिप माथि आउने नयाँ चिन्तनले समाजलाई कला संस्कृतिको जगेर्ना मात्रै गराउँदैन बल्की सामाजिक अग्रगतिलाई समेत यथोचित न्याय दिलाउँछ, विज्ञान प्रविधिको विकासलाई सार्थकता दिन्छ ! भने राजनीतिमा देखापर्ने वैकल्पिक चिन्तनले यी सबैकुराको यथोचित व्यवस्थापनका साथै देश काल परिस्थितिको मागमुताबिक प्रयोग गर्ने र सामाजिक आवश्यकताहरूको नयाँ खोजी गर्न सिकाउँछ ।

राजनीतिक वा गैर राजनीतिक समस्याहरूको समाधानार्थ प्रस्तुत गरिएको कुनै पनि ऐजेण्डा आवधिक र विषयगत मात्र हुन्छ र निरपेक्ष हुँदैन बल्की वस्तु वा समयसापेक्ष हुन्छ । विकल्प आफै निर्विकल्पक रूपमा रहँदैन त्योपनि विकल्पहरूको लामेताँतिमा असल मध्य असल चयन गर्ने हो । त्यसैले विकल्प आफै निर्विकल्प होइन । त्यसैले आजको लागि एउटा विषयमा दिइएको पूर्ण भोलिको लागि अलि अलि अपुग हुँदै पर्सि र निपर्सि हुँदा पूर्ण अपुग नै हुन्छ । किनकि समय गतिशील छ, समाज गतिशील छ, र समस्या र समाधानहरुपनि गतिशील नै हुने कुरा द्वन्द्वात्मक भौतिकवादी मान्यता हो । यदि कसैले एउटै कुरालाई संधैको लागि निरपेक्ष विकल्पको रूपमा प्रस्तुत गर्छ भने त्यसले समय, समाज वा वस्तुको गतिशीलतालाई नबुझेको वा बुझ पचाएको ठहर्छ । र त्यसले समाजको अग्रगतिमा भूमिका निर्वाह गर्दैन बल्की परम्परागत रटान वा भजनमात्र गाइरहेको साबित हुन्छ । जो इतिहास कायम गर्न त सहयोग पु¥याउला तर समाजको सामयिक उन्नतिमा भूमिका हुँदैन ।
नेपालमा वैकल्पिक चिन्तनको प्यास कसले मेटाउला ?

देशको वर्तमान समस्याहरूलाई विकराल देखाउँदै त्यसको समाधानको अचुक ओखती आफूसँग भएको…भन्दै थुप्रै वैकल्पिक चिन्तकहरू आएका छन् । त्यसको संस्थागत प्रतिनिधित्वको लेखा राख्ने हो भने रविन्द्र मिश्र, ज्ञानेन्द्र शाही देखि हेमराज थापासम्मका अभियन्ताहरू, कुलमान, बिजयलामा, प्रेम सञ्जेल, भीम उपाध्याय देखि रवि लामिछानेसम्मका उत्कृष्ट नागरिकहरुलाईपनि आम नागरिकहरूले विकल्पको रूपमा प्रस्तुत गर्ने गरेका छन् । त्यसैले वाम राजनीतिमा अब्बलता कायम रहेका डा। बाबुराम भट्टराई पनि देशमा रहेको बाम र लोकतान्त्रिक दिशाभन्दा पृथक वैकल्पिक राजनीतिको खोजीमा पार्टी परित्याग गरेर विभिन्न व्यवहारिक अभ्यासमा लागेको देखिन्छ ।

अर्थात् हालको नेपाली राजनीतिमा रहेको कलुषित आचरण संस्कार तथा भ्रष्ट व्यवहारलाई चिर्न तीन कोणबाट विकल्प प्रस्तुत भइरहेको छ । त्यसैले उक्त तीन विकल्पमध्ये सर्वोत्तम विकल्प छान्ने र लागू गर्ने जिम्मेवारी आम नेपालीको हुन आउँछ ।

पहिलोः विभिन्न अभियन्ता तथा पूर्व कर्मचारीहरूको विकल्प उनीहरूले वर्तमानको समस्याहरू त बहुत सुन्दर ढङ्गले प्रस्तुत पनि गरेका छन्, भ्रष्टाचारको त उनीहरूले सिरा सिरा केलाएको देखिन्छ । तर समाधान के त ? के गर्दा समाधान हुन्छ ? के भ्रष्टाचारीलाई कार्यवाही गर्दा, वा सम्बन्धित संस्थामा योग्य मानिस पठाउँदा मात्र भ्रष्टाचारको यत्रो महामारी शान्त हुन्छ ?

अभियन्ताहरुमध्य अधिकांशले राजसंस्था पुरस्थापना र राजतन्त्रलाई अभिभावक मानेपछि अनुशासनको परम्परा बस्ने र त्यसले भ्रष्ट अनैतिकता घट्ने उपाय दिएका छन् के त्यसो गर्दा भ्रष्टाचार अनियमितताको अन्त्य गर्ने भए तीसवर्षे पञ्चायतमा भ्रष्टाचार किन बाँचिरह्यो ? गाउँ गाउँका सामन्त जालिफटाहा सुदखोर लगायत हजारौँ दरबारका प्रतिनिधिहरू जसको सरकारी निकायमा राम्रो पहुँच छ, तिनले जनतामाथि गर्ने अत्याचारको यहाँ वर्णन गर्न मुस्किल छ । भने राज्य कोषको दोहन त कुरै छोडौँ, किन त्यसको च्याप्टर क्लोज भएन ? बरु त्यतिले नपुगेर दरबारकै ओहदावालाहरु देशका प्रगऐतिहासिक मूर्तिहरू, परम्परागत तथा सांस्कृतिक महत्त्व राख्ने चित्रकला, वास्तुकला, ढुङ्गा, काठ, वा तामाका वस्तुहरूको तस्करीमा लागेका चोरी निकासीमा हात रहेको बेला बेलामा चर्चामा किन आयो ? त्यसैले राजतन्त्र ल्याउनु तानाशाही लाद्नु यो व्यवस्थाको विकल्प होइन न त मौलिक र नयाँ ऐजेण्डा नै मान्न सकिन्छ । बरु परम्परागत पुरानो प्रयोगमा आइसकेर असफल साबित भइसकेको व्यवस्थाको वकालत गरेर अग्रगामी होइन प्रतिगामी दिशामा उनीहरू छन् । सबैलाई थाहा छ प्रतिगमन कुनै शर्तमापनि वर्तमानको विकल्प बन्न सक्दैन । बरु पुरानोको रटान लाई मौलिक विकल्पको रूपमा प्रस्तुत गर्दा सत्तरी वर्षको बलिदानपूर्ण संघर्षको उपहास मात्र हुँदैन बल्की आफ्नै आत्मलाई पनि नराम्रैढंगले ढाँटेर समाजलाई पुनः बल्लतल्ल निस्केको अँध्यारो सुरुङ्गभिभत्र फेरी हुलेर अक्षम्य अपराध गरेको साबित हुन्छ ।

दोश्रोः रविन्द्र मिश्र, पुन्य प्रसाईँ, देवप्रकाश त्रिपाठी लगायतका नयाँ राजनीतिको खिचडी पकाउन आफूलाई विकल्पको रूपमा प्रस्तुत गर्न लालायित छन् । उनीहरू “राजनीति भन्दा माथि देश” भन्ने मिठो नारा त दिन्छन् , तर देश, काल, परिस्थितिको सूक्ष्म अध्ययनलाई फोहोरी राजनीति भन्दै दुत्कार्दै नुतनको खोज र प्रयोगमा बन्ध्याकरण गर्ने र उही असफल प्रतिगामीहरूको हातमा सत्ताको निरन्तरताको निम्ति समाजमा निराशावादको खेती गरिरहन्छन् । र सनातनदेखि चल्दै आएको विविध विकृतिका बहाकहरुलाई जोगाउने पासा फ्याँक्छन् । भर्खरै आफ्नो प्रस्तावको रूपमा पेस गरेको धर्मनिरपेक्षता र संघीयतासम्बन्धि जनमतसंग्रहपनि त्यही जालसाजीको एउटा रूप हो । जबकि सनातनको बचाउको नाममा धर्मनिरपेक्षतामाथिको हस्तक्षेप र जातीय सङ्कीर्णता र त्यसको रक्षाको निम्ति उफ्रने प्रतिगामीहरूको ऐजेण्डालाई सार्थक बनाउन उराल्ने नारा कसरी वर्तमान समस्याको निकास वा विकल्प बन्न सक्छ रु यदि हिन्दु अधिराज्य कायम गर्दा वा राजतन्त्र फर्काउँदा कुन मानेमा वर्तमान समस्या समाधान हुन्छ रु उनीहरू लोकतन्त्रको विरुद्ध अधिनायकवाद लागू गर्दा समाधान देख्छन् । तर यथार्थ भिन्न छ, कि लोकतान्त्रिक समस्याको समाधान अझ बढी लोकतन्त्र हो, समस्याको मुहानमाथिको प्रहार धार परिवर्तनबाट होइन, शुद्ध पार्ने वैज्ञानिक विधिबाट हो ।

तेश्रो: डा. बाबुराम जस्ता पुरानो धारको राजनीतिमा सबैभन्दा सफल मानिएका नेता पनि नयाँ तथा वैकल्पिक शक्तिको खोजीमा लागिरहेका छन् । तर उनले विरासतको धार पुरानो भएपनि खोजीको विषय नयाँ बनाएका छन् । तर अरूले धार नयाँ अपनाएपनि खोजी पुरातन संस्कार संस्कृति, परम्परा, जाति, क्षेत्र, लिङ्गको एकाधिकार वा वर्चस्व दाबीको पुरानै उपाय अपनाएका छन् । जबकि ती पुराना विधिले काम नगरेरै आजको अवस्थामा समाज आइपुगेको यथार्थ बिर्सन्छन् ।

डा. बाबुराम भट्टराईले सामाजिक सहिष्णुता कायम गर्दै राष्ट्रियताको जगेर्नाको लागि समानुपातिक समावेशी, लोकतन्त्र, पहिचानसहितको संघीयता, धर्म संस्कृतिमाथि राज्य निरपेक्ष अर्थात् नागरिकको स्वैछाले आफ्नो निम्ति धर्म संस्कृति मान्न/रोज्न वा बनाउन पाउने अधिकार प्रदान गर्ने १ आर्थिक पारदर्शीताको निम्ति जनलोकपाल को परिकल्पना, राज्यको पुनर्संरचना निम्ति १० जोड १को अवधारणा, र समग्र नयाँ नेपाल निर्माणको खातिर पाँच “स” को अवधारणा साँच्चै नै वर्तमान नेपालको समस्या समाधान गर्न सक्षम र योग्य अवधारणाहरू मान्न सकिन्छ । यद्यपी यो नै पूर्ण होइन समयको गतिसँगै नयाँ नयाँ आउँदै गर्छन् र त्यसलाई सापेक्षरुपमा रूपान्तरण गर्दै देश निर्माण गर्न सकिने अपेक्षा गर्न सकिन्छ ।

पाँच “स” नै वर्तमान असङ्गतिहरूको विकल्प हो !

जसले जतिसुकै समानताको कुरा गरेपनि देशको सामाजिक धरातल अझै पनि विभेदकारी आधारमा उभिएको छ । सत्ताधारी जात नै उन्नत वर्गको रूपमा संस्थागत बन्ने र सत्ताविहीन जात सम्पूर्ण प्रकारको अवसरहरूबाट वञ्चित बनी क्रमशः दिन हीन सामर्थ्यबिहिन वर्गको रूपमा निरीह र चुत्थो बन्दैछ । भ्रष्टाचार अनियमितता, कालावजारिया, सुदखोर तथा तस्कर त्यत्तिकै मौलाएको छ । प्रशासनिक ढिलासुस्ती, अनियमितता र अराजकताले सीमा नाघेको छ । राजनीतिक अराजकताले देशलाई सदा सर्वदा अस्थिरता तर्फ धकेल्दै अन्तमा देशलाई नै असफल राष्ट्र बनाएर विदेशीहरूको कृडास्थल बनाउने डरलाग्दो सम्भावना देखापर्दै गएको छ । त्यसैले यस्तो अवस्थामा हाम्रो सामु डा. बाबुराम भट्टराईले पेस गरेको पाँच “स” को विकल्प नै हालको लागि सर्वोत्तम विकल्प बन्न सक्छ ।

१) समतामूलक समृद्धि

जात जाति, भाषिक समुदाय र सम्प्रदाय, धर्म संस्कृति अल्पसंख्यक तथा सीमान्तकृत समुदाय आदिको लागि मुखले होइन व्यवहार मै प्रत्याभूति गर्न सकिनेगरि समतामूलक समृद्धिको लागि योजना बनाउनु आजको आवश्यकता हो ।

२) समानुपातिक समावेशी, सहभागितामूलक लोकतन्त्र

७० वर्षको कठोर संघर्षपश्चात हामीले प्राप्त गरेको उपलब्धिले हामीलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा त पु¥याएको छ, तर लोकतान्त्रिक अधिकार आम जनताले प्रत्याभूति गर्न पाएका छैनन् त्यसैले सीमन्तकृत समुदाय र राज्यको मूल प्रवाहबाट बहिस्कृत समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउनको लागि केवल औपचारिक लोकतन्त्रबाट समानुपातिक समावेशी विधिसहितको पूर्ण लोकतन्त्रमा पु¥याउनुछ ।

३) स्वाधीनता र सार्वभौमिकता

राजनीतिक पार्टीहरूले देशलाई अस्थिर बनाउँदै विदेशीको हातबाट आफू परिचालित भएपनि दोष अन्यलाई दिँदै राष्ट्रियताको नक्कली बिम्ब खडा गर्दै आम नागरिकलाई ढाँट्दै आए । त्यसैको परिणाम आज हामीले देशलाई स्वाधीन बनाउन सकिरहेका छैनौँ । देशको सिमानामाथि बेला बेलामा दक्षिणतिरबाट वैध अवैध ढङ्गले आक्रमण भएको छ, सरकारी पार्टीहरूको लाचारी, विपक्षमा बस्दा राष्ट्रियता सम्झने सत्तामा बस्दा बिर्सने बानी सबैजसो सत्ताधारी पार्टीहरूमा लागेको छ, त्यसको अन्त्य गरी देशको सार्वभौमिकतालाई जोगाउँदै आम नागरिकलाई स्वाधीन बनाउने दिशातिर आम राजनीतिक प्रवृत्ति केन्द्रित गरिनुपर्छ ।

४) सुशासन र सदाचार

देशको राजनीतिक सत्ता भन्दा प्रशासनिक सत्ता विगत लामो समयदेखि स्थायी सत्ताको रूपमा कायम रहेको छ । यसको शुद्धताले आम नागरिकको जीवनमा मात्रात्मक मात्र होइन गुणात्मक परिवर्तन गर्न धेरै भूमिका खेल्न सक्छ । तर हामीकहाँ प्रशासनिक भ्रष्टाचार र अनियमितता यति धेरै चुलिएको छ किः त्यसको महिना दिनको शुद्धताले बर्षदिनको विकाश खर्च पु¥याउन सकिने प्रक्षेपण गरिरहेका छन् । त्यसैले देशको दिशा बदल्न आम नागरिक सदाचारी बन्ने र प्रशासनिक यन्त्र सुशासित बन्नुपर्ने आजको आवश्यकता हो । वैकल्पिक चिन्तनको थालनी यहाँबाट हुनु वर्तमान सामाजिक अन्तर्विरोधहरूको हल हो ।

५) समुन्नत समाजवाद

यति सर्त पूरा भइसकेपछि राज्यकेन्द्रीत समाजवाद र पुँजीवादीहरूले भनिरहेको उदारवादी समाजवाद भन्दा पृथक देश काल परिस्थितिअनुकूलको समुन्नत समाजवाद आजको आवश्यकता हो जसले समाजको उन्नति प्रगतिको मात्र प्रतिनिधित्व गर्दैन बल्की स्वाधीन समृद्ध र सुशासित प्रशासन र सदाचारी नागरिकहरूको प्रतिनिधित्व गर्ने क्षमता राख्दछ ।

धन्यवाद !

-श्रीराम खाईजु

(भक्तपुर)

मितिः २०७८–०५–२१ सोमबार

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको