पत्रकार महासंघ नवलपरासीकाे आकस्मिक बैठक; पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय

परासी, भदौ १७ । नेपाल पत्रकार महासंघ पश्चिम जिल्ला शाखा नवलपरासीले आकस्मिक बैठक बसी विभिन्न निर्णय गरेको छ । लगातार बर्षाकाे कारण जिल्लामा यही भदौ ११  गते शुक्रबार आएको बाढीले जिल्लाका १४ जना पत्रकारहरू प्रभावित भएपछि आकस्मिक बैठक बसेको हो ।

महासंघकाे बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गरिएको शाखा अध्यक्ष हरि शर्माले जानकारी दिए । बैठकले कोष स्थापना गर्ने निर्णय गर्दै कोषमा आर्थिक सहयोग गर्न अनुरोध समेत गरिएको शाखाले जनाएकाे छ । बाढीका कारण धेरै पत्रकार अप्ठ्यारोमा परेका बेला कोषको आवश्यकता महसुस गर्दै आगामी दिनमा अन्य विपत्तिमा समेत पत्रकारलाई सहयोग गर्न सकिने भएकाले कोष स्थापना गर्ने निर्णय गरिएको अध्यक्ष हरि शर्माले जानकारी दिए । सहयोग रकम प्रभु बैंक परासी शाखाको खाता नम्बर ०५००१५१९३९५०००११ रकम जम्मा गर्न सकिने महासंघले जनाएको छ ।

कोष संञ्चालनका लागी अध्यक्ष शर्माकै अध्यक्षतामा पाँच सदस्यीय समिति पनि बनाइएको छ । कोषमा  २० हजार रुपैयाँ जम्मा भएको छ । जसमा सिद्धार्थ पब्लिकेशनद्वारा प्रकाशित लुम्बिनी दैनिक बुटवलले १० हजार र पत्रकार महासंघ पश्चिम नवलपरासीका कोषाध्यक्ष प्रकाश न्यौपाने र सहसचिव श्याम बुचा मगरले ५/५ हजार रकम जम्मा गरी सहयोग गर्ने बताएका छन् ।

बैठकले प्रत्येक वर्ष बाढी पहिरोका कारण जनधनको क्षति हुने गरेको जनाउँदै तीनै तहका सरकारलाई गम्भीर भएर समस्याको दीर्घकालीन समाधान खोज्न निर्णय गरिएको शर्माले  बताए । पश्चिम नवलपरासीमा हरेक वर्ष बाढीका कारण ठूलो क्षति हुनेगरे पनि समस्या समाधानका चासो नदिएको पाइएकाले प्रभावकारी कदम चाल्न माग गरिएको शाखा उपाध्यक्ष मालती न्याैपानेले जानकारी दिईन  ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको