बुधबार १७ असोज, २०८०

नेपाली समय

जसपा नेता निरालाद्वारा राष्ट्रपति भण्डारीको राजीनामा माग

जसपा नेता निरालाद्वारा राष्ट्रपति भण्डारीको राजीनामा माग

चितवन, ५ असोज। जसपा बागमती प्रदेशका प्रदेश सचिव अजय निरालाले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेका छन्। दुवै सदनबाट पास भैसकेको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि उनले राष्ट्रपतिको राजीनामा माग गरेका हुन्।

उनले भने, “संविधानको धारा ६१ को (४) मा ‘संविधानको पालना र संरक्षण राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ।” भनी स्पष्ट रूपमा उल्लेख छ । तर राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ११३ को (४) बमोजिमको बाध्यात्मक कार्य नगरी संविधानको घोर उल्लङ्घन गर्नु भएको छ । संवैधानिक र शृङ्गारिक राष्ट्रपतिले आफूलाई राजतन्त्र जसरी सबै शक्तिको श्रोत देखाउने कोशिश गर्दै वीरेन्द्र शाहको बाटो पछ्याउन खोजिएको देखिन्छ । यो आफ्नै देशको जनता विरुद्धको विभेद मानसिकताले गरिएको षडयन्त्र हो । हामी राष्ट्रपति विद्या भण्डारीको संविधानको घोर उल्लङ्घनको यस कार्यको भर्त्सना गर्दछौँ ।”

निराला भन्छन्, “संविधानको धारा ११३ को (४) ले राष्ट्रपतिलाई १५ दिनभित्र पुनः पारित भएको विधेयक प्रमाणीकरण गर्नै पर्ने व्यवस्था गरेको छ । सो नगरिए स्वतः प्रमाणित हुने यस धाराको मनसाय हो । यस अनुरूप नेपाल नागरिकता ऐन संशोधन विधेयक ऐन बनेको स्पष्ट रहेको हुँदा सो को घोषणा प्रतिनिधिसभाको सभामुखबाट सूचना टाँस गरी गरिनु पर्ने र नेपाल सरकारले त्यसको संपुष्टि गर्नु पर्ने आग्रह गर्दछौँ ।”

राष्ट्रपति भण्डारीले दुवै सदनबाट पारित नागरिकता विधेयक प्रमाणीकरण नगर्नुमा देश र जनताको राष्ट्रपति नभएर कुनै अमूक पार्टी विशेषको मतियार भएको निरालाले आरोप समेत लगाएका छन्।

संविधानको घोर उल्लङ्घन र आफ्नै देशको जनता विरुद्ध षडयन्त्र गर्ने व्यक्ति कुनै पनि दृष्टिले राष्ट्रपति पदको निमित्त एक क्षणको लागि पनि योग्य नहुने भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले तत्काल राजीनामा गर्नु पर्ने उनको माग छ ।