‘सन्तापको धून’ को परिचर्चा पोखरामा

गण्डकी, ४ असोज । कथाकार डा अशोक थापाको कथा सङ्ग्रह ‘सन्तापको धून’ को पोखरामा परिचर्चा गरिएको छ । पोखरेली साहित्यकारको संस्था पुछारसिटे अभियानद्वारा आयोजित परिचर्चाका सहभागीले सन्तापको धुनमा सङ्गृहीत कथाले नेपाली समाजको चित्रण गरेको बताउनुभयो ।

साहित्यकार सरुभक्तले कुनै पनि साहित्यकारको कृति प्रकाशित भइसकेपछि उक्त लेखक अभियुक्तका रूपमा उभिने, अधिवक्ताका रूपमा पाठकले विभिन्न बहस गर्ने र समालोचकले फैसला गर्ने बताउनुभयो ।

समालोचकले नजिक र टाढाको लेखकलाई हेरेर कसैलाई गाली बर्साउने त कसैलाई देवत्वकरण गर्ने गरेको वर्तमानलाई सङ्केत गर्दै उहाँले समालोचकले पछिल्लो समय न्यायाधीशको झैँ निष्पक्ष भूमिका निर्वाह गर्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । समालोचकले आफ्नो कार्यमाथि पनि समालोचना हुन्छ भन्ने सत्यलाई सधैँ आत्मसात् गर्दै कृतिमाथि निष्पक्ष दृष्टिकोण प्रस्तुत गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

पुस्तकमाथि समीक्षा गर्दै प्रा डा रामचन्द्र पोखरेलले लेखकले नेपाली समाजको आफ्नो युगको यथार्थ चित्र प्रभावकारी ढङ्गबाट प्रस्तुत गरेको बताउनुभयो । पुस्तकले मानवीय संवेदनालाई स्पर्श गर्दै नवीनता पस्कन सकेको भन्दै उहाँले प्रशंसा गर्नुभयो ।

आख्यानकार गनेस पौडेलले लेखनशैलीले आफूलाई प्रभावित तुल्याएको कृतिमा नेपाली कथाको किस्सा शैलीलाई कलात्मकरूपमा प्रस्तुत गरिएको बताउनुभयो । कथामा समालोचकीय व्यक्तित्वको प्रभावले कथानकमा असर परेको भन्दै उहाँले आगामी कृतिमा त्यसलाई कम गर्न सुझाव दिनुभयो ।

समीक्षक रीता अधिकारीले पुस्तकमा आमाको कथा, पुरुष सत्ताको हैकम आदि विषयलाई निकै मर्मस्पर्शी ढङ्गबाट उठाइएको बताउनुभयो । नारीले भोग्ने पीडा, नारीमाथिका विभेद, विद्यालयीय प्रेमलगायतका सन्दर्भलाई सुन्दर भाषामा कथामा प्रस्तुत गरिएकाले कृति पठनीय बनेको उहाँले बताउनुभयो ।

लेखक थापाले पहिले ठूलाठूला विषय खोज्दै हिँड्दा लामो समयसम्म साहित्य सिर्जना गर्न नसकेको अनुभव सुनाउनुभयो । ‘सन्तापको धून’ कथा सङ्ग्रहको प्रकाशक संस्था पेज टर्नरका प्रबन्ध निर्देशक भरत पौडेलले प्रकाशनका क्षेत्रमा बामे सर्दै गरेको संस्थाले सुन्दर कृतिलाई पहिलो कृतिका रूपमा पस्कन पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा पुछारसिटे अभियानका तर्फबाट सुरज उपाध्याय, सन्दीप अधिकारी र सञ्जीव पौडेलले सन्तापको धून नेपाली कथाका क्षेत्रमा अर्को महत्त्वपूर्ण सम्पत्तिका रूपमा रहेको धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको