सुनवलमा संचालित अबिनाश अभिषेक ड्रिंक्स प्रालिले जारको पानी लेबल नलगाई बिक्री बितरण गर्दै

परासी, २९ असार । पश्चिम नवलपरासीको सुनवलको बजारमा जिल्ला अनुगमन समितिले बजार अनुगमन गरेको छ । अनुगमन समितिले सुनवल नगरपालिकाको बजारको विभिन्न स्थानमा बजार अनुगमन गरेको हो । अनुगमनको क्रममा सुनवल नगरपालिकाको वडा नं. १मा अवस्थित रहेको एक पानी उद्योगले मापदण्ड विपरीत बिक्रीबितरण गरेको पाइएको बजार निरीक्षक अधिकृत एवं सहायक प्रमुख जिल्ला अधिकारी जोरासिह माझीले जानकारी दिए ।

सुनवलमा वडा नं. १ मा रहेको अबिनाश अभिषेक ड्रिंक्स प्रालिले अनुमति नबिकरण नगरेको र जारमा पानीमा भरेर राखिएको जारमा लेबल नराखी बिक्री बितरण गरेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी जोरासिह माझीले बताए । उनको अनुसार एक वर्षमा एक पटकमात्र पानी ल्याब परीक्षण गराएको तर पानी उद्योगले प्रत्येक हप्तामा पानीको परीक्षण ल्याब गराउनु पर्नेमा त्यसो नगरेको भेटिएकोले दुई वटा जारको पानी सिल गरी ल्याईएको माझीले बताए ।

उक्त दुई वटा सिल गरिएकोजारको पानी पिउन मानव स्वास्थ्य योग्य रहेको छ की छैन भनेर खाद्य गुण नियन्त्रण कार्यालय भैरहवामा परीक्षणको लागि पठाइएको बजार निरीक्षक माझीले जानकारी दिए । बजार अनुगमनको क्रममा अधिकांश पसलहरूले बिना दर्ता व्यवसाय संचालन गरिएको पाइएको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत नेत्रप्रसाद भुसालले बताए ।

उनको अनुसार अधिकांश किराना पसलमा म्याद गुज्रेको अखाद्य बस्तु भेटिएको बताउँदै उक्त सबै अखाद्य बस्तुहरू नियन्त्रणमा लिई नष्ट गरिएको भुसालले जानकारी दिए ।

बिना दर्ता नै व्यवसाय संचालन गरेको पसलहरूलाई सात दिनभित्र व्यवसाय दर्ता गरेर संचालन गर्न निर्देशन दिइएको र पसलमा मूल्य सूची, साइनबोर्ड नराखेको पसलका संचालकहरुलाई तुरुन्त राख्ने निर्देशन दिइएको उद्योग अधिकृत भुसालले बताए । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च प्रतिनिधि र पत्रकारहरूको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको