राससको सेवालाई समयानुकूल परिमार्जन गर्दै लगिनेछ : अध्यक्ष झा

गोदावरी, २९ भदौ । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससले प्रदान गर्दै आएको सेवालाई आधुनिकीकरणसँगै समयानुकूल परिमार्जन गर्दै लगिने बताउनुभएको छ ।

कैलालीको धनगढीमा रहेको राससको सुदूरपश्चिम प्रदेश कार्यालयको  निरीक्षणपछि आयोजित छलफलका क्रममा उहाँले राससको समाचार सामग्रीलाई विविधीकरण गर्दै अघि बढाउने कामको थालनी भएको बताउनुभयो ।

उहाँले रासस मिडियाको पनि मिडिया भएकाले राससको समाचार सामग्रीलाई विश्वसनीय र स्तरीय बनाउन सेवा विस्तारको काम अघि बढेकोसमेत बताउनुभयो ।

राससको समाचार सेवालाई क्रमशः सुदृढीकरण गर्न आवश्यक भएको बताउँदै अध्यक्ष झाले त्यसका लागि राससका स्थानीय प्रतिनिधिले सीप र क्षमताको विकास गर्न जरुरी रहेको बताउनुभयो ।

अध्यक्ष झाले औपचारिक कार्यक्रमका भन्दा खोजी समाचार सङ्कलनमा ध्यान केन्द्रित गर्न निर्देशन दिनुभयो । उहाँले विगतको भन्दा अहिले समाचारको सङ्ख्या पनि बढेको बताउँदै राससको समाचार सेवाको अनधिकृतरूपमा प्रयोग भइरहेकाले त्यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले धनगढीमा रहेको राससको कार्यालय जीर्ण भइसकेकाले प्रदेश सरकारको समन्वयमा नयाँ भौतिक संरचना बनाउनु आवश्यक रहेको बताउनुभयो ।

राससका सुदूरपश्चिम प्रदेश प्रमुख सिद्धराज भट्टले कार्यालयबाट भइरहेका सेवा प्रवाह र वस्तुस्थितिका बारेमा अध्यक्ष झालाई जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा राससका कार्यकारी व्यवस्थापक शीतल महतो, रासस भीमदत्तनगर कार्यालयका प्रमुख शेरबहादुर सिंहलगायत कैलाली जिल्लामा राससमा स्थानीय प्रतिनिधिका रूपमा कार्यरत सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको