सहकारी संघ/संस्थामा बचत तथा ऋण व्यवस्थापन   

१.विषय प्रवेश

सरकारको तीन खम्बे अर्थनीति मध्यको एउटा खम्बाको रूपमा रहको सहकारीले आर्थिक,सामाजिक र सांस्कृतिक विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ । समाजमा छरिएर रहेको सानो सानो पुँजीलाई एकीकृत गरी रोजगारी सृजना देखि सामाजिक कल्याणका कार्यमा यसको भूमिका जोडदार रूपमा देख्न सकिन्छ । सहकारीले मानिसलाई बचत गर्ने बानीको विकास गराउँदछ साथै स्वरोजगार बन्ने बाटो पहिचान गर्न सघाउँदछ । सहकारी संस्थाले समाजमा सामाजिक प्राणीको रूपमा बाच्ने तथा वातावरण अनुकूलित क्रियाकलाप सञ्चालन गरी आत्मनिर्भर हुन सिकाउन सहजता प्रदान गरेको छ । सहकारीको मूलभूत सिद्धान्तहरूलाई आत्मसात गरी सहकारी सञ्चालन भएमा समृद्धि हासिल गर्न सहजता हुने देखिन्छ ।

२.बचत व्यवस्थापन

सहकारी संस्थामा बचत संकलन सबैभन्दा महत्त्वपूर्ण पाटो हो । सहकारी ऐन, नियमावली तथा सहकारी संस्थाको विनियमको परिधिमा रहेर आफ्ना शेयर सदस्य र आफ्नो कार्यक्षेत्र भित्र बचत संकलन गर्नू पर्दछ ।  यसरी संकलन भएको बचत रकमलाई सहकारी संस्थाको योजना मुताबिक तथा सदस्यको हित अनुकूलित हुने गरी लगानी गर्नु पर्दछ । सहकारी संस्थाले मुख्यतय नियमित बचतमा जोड गर्नुपर्दछ र नियमित बचत संचालक, लेखा सुपरिवेक्षक समिति तथा अन्य उपसमितिका सदस्यहरूलाई अनिवार्य गर्नुपर्दछ ।

हाम्रा अधिकांश सहकारी संस्थामा शेयर सदस्य नबनाई पास बुक वितरण गरेर बचत संकलन गर्न प्रचलन रहेको देखिन्छ । यसले संस्थालाई दीर्घकालीन रूपमा ठुलो असर पार्दछ । एकतिर शेयर सदस्य नबनि बचत कर्ताले बचत गर्दा संस्थाबाट पाउने विभिन्न सेवा तथा सुविधाबाट बञ्चित हुनुपर्दछ भने अर्कोतर्फ रकम डुब्ने सम्भावन हुनसक्छ । त्यसैगरि सहकारी संस्थालाई तत्कालीन रूपमा बचत रकम फिर्ता गर्नुपर्ने  परिपस्थिती सृजना हुँदा व्यवस्थापनमा असहजता उत्पन्न हुन्छ । साथै कानूनी रूपमा पनि शेयर सदस्य नबनाई कारोबार गर्न मिल्दैन । त्यसैले शेयर सदस्य बनाएर मात्र कारोबार गर्नुपर्दछ ।

संस्थाले शेयर सदस्यहरूलाई दिने ब्याजदरमा पनि असमानता गरेको यदाकदा सुन्नमा आउँछ । संचालक लगायतका सदस्यले बढी व्याज आउने गरी बचत राख्ने तथा अन्य सदस्यलाई कम ब्याजदर आउनेमा राख्न लगाउने गरेको देखिन्छ । यो सहकारी ऐन विपरीतको कार्य हो । यो समानताका आधारमा र बजारको अवस्थाको मूल्याङ्कन गरी मात्र निर्धारण गर्नुपर्दछ । साथै बचत र ऋण बिचमा रहेको स्प्रेड दर ६ प्रतिशतमा कायम गर्नुपर्ने कानूनी प्रावधान भएपनि अधिकांश संस्थामा यो लागू नभएको पाइन्छ । तसर्थ स्प्रेड दरलाई सो सीमा भित्र कायम गर्नुपर्ने देखिन्छ । त्यसै गरी सेवा शुल्क/व्यवस्थापन शुल्क/प्रशासनिक शुल्कका नाममा अत्यधिक मात्रमा रकम लिने प्रचलन सहकारी संस्थामा देखिएकोले सो शुल्क कानूनी सीमाभित्र रहेर १ प्रतिशत मात्र  लिने व्यवस्था गर्नुपर्दछ । साथै प्रवेश शुल्कको नाममा अत्यधिक रकम असुल्ने परिपाटि हाबी रहेको विभिन्न सहकारी संघ संस्थामा देखिएकोले सो नगर्ने परिपाटि सृजना गर्नुपर्दछ ।

सहकारी संस्थाले आफ्ना सदस्यसँग निक्षेप संकलन गर्दा प्राथमिक पूँजीकोषको बढीमा १५  गुणासम्म मात्र संकलन गर्न सक्नेछ । ( सहकारी ऐन २०७४ बमोजिम प्राथमिक पूँजीकोष भन्नाले शेयर पूँजी र जगेडा कोष भने सम्झनु पर्ने) तर यो कुरा अधिकांश सहकारीले पालना नगरेको देखिन्छ । त्यसै गरी बचत संकलन आफ्नो कार्यक्षेत्र भन्दा बाहिर गएर गरेको पाइन्छ, सो कार्यले संस्था स्वयम र सदस्यलाई पनि असहजता सृजना गर्दछ तसर्थ सो कार्य गर्नुहुँदैन । बचत संकलन गर्दा सहकारी संस्थाले आफूले लगानी गर्न सक्छु कि सक्दिन, संस्थामा आएको रकम ठिक छ कि छैन, बजार प्रतिनिधिबाट आएको रकम पास बुक अनुसार छ छ्रैन, भल्टको अवस्था कस्तो छ त्यसको निरीक्षण भएको छ कि छैन भनी निर्काेल गर्नुपर्दछ । जसबाट संस्थालाई आर्थिक संकटबाट बचाउन सहयोग पुग्दछ साथै हिनामिना र दुरुपयोग रोक्न सकिन्छ  ।

सम्पत्ति सुद्धिकरण ऐन तथा नियमावली अनुसार एकै दिन कुनै सदस्यले १० लाख भन्दा माथि रकम राखेमा वा झिकेमा त्यस रकमको स्रोतबारे राष्ट्र बैकलाई जानकारी दिनुपर्दछ । जसबाट अवैध वा गैरकानूनी रूपमा आर्जन गरेको कालो धनलाई सेतो धनमा रूपान्तरण हुन पाउँदैन जसबाट समाजमा आपराधिक गतिविधिमा कमी आउन सहयोग पुग्दछ ।

३.ऋण व्यवस्थापन

सहकारी संघ संस्थामा ऋण व्यवस्थापन अत्यन्त संवेदनशील विषय हो । यसको सही ढंगले सही ठाउँमा व्यवस्थापन गर्न सकियो भने संस्थाले सोचे अनुसारको लक्ष्य हासिल गर्न सक्छ । नेपालका सहकारी संस्थामा ऋण लगानीमा थुप्रै कमी कमजोरीहरू रहेका छन । ऋण लगानी गर्दा संचालक आफै वा संचालककै आफन्तमा विभिन्न स्किमको नाममा घुमाउरो पारामा मात्र गर्ने गरेको देखिन्छ । त्यसले वास्तविक शेयर सदस्य र कमजोर वर्गलाई लाभ लिनबाट बञ्चित गर्ने देखिन्छ । तसर्थ ऋण लगानी गर्दा आवश्यकताको आधारमा तथा कमजोर वर्गको उत्थानको काममा गर्नुपर्दछ । जसबाट संस्थालाई मजबुद हुन सहयोग पुग्छ । त्यसै गरी ऋण लगानी उत्पादक क्षेत्रमा नभएर अनुत्पादक क्षेत्रमा बढी भन्दा बढी भएको देखिन्छ ,जसबाट शेयर सदस्यको आर्थिक स्तर उक्सिन कठिन हुन्छ । तसर्थ ऋण लगानी गर्दा उत्पादनमूलक क्षेत्रको पहिचान गरेर उपयुक्त हुने क्षेत्रमा मात्र गर्नुपर्दछ ।

संस्थाले एक पटकमा एउटा सदस्यलाई संस्थाको कुल पूँजीकोषको १० प्रतिशत मात्र ऋण प्रदान गर्न सक्ने कानूनी प्रावधान रहेको छ ।  (कुल पूँजीकोष भन्नाले जम्मा शेयर रकम, जगेडा कोष, बाँडफाड नगरेको लााभांश, कर्जा जोखिम  व्यवस्था, डुवन्त ऋण कोष, स्थिरीकरण कोष र घाटापुर्ति कोष आदि पर्दछन) । तर त्यसो नगरी ऋण लगानी एकै व्यक्तिलाई अत्यधिक दिएको पाइन्छ । जसबाट शेयर सदस्य सबैले ऋण प्राप्त गर्ने अवसरबाट बञ्चित हुने अवस्था आउन सक्छ ।

ब्याजदर परिवर्तनको सूचना शेयर सदस्यहरूको जानकारीका लागि सार्वजनिक रूपमा एक पटक प्रकाशित गर्नुपर्ने प्रावधान भएपनि सो कार्य नभएको पाइएको छ । तसर्थ त्यस्तो सूचना अनिवार्य शेयर सदस्य समक्ष कुनै माध्यमबाट सार्वजनिक गर्नुपर्दछ । त्यसै गरी कर्जामा समदर तथा चक्रवृद्धि ब्याज लगाउन नपाइने व्यवस्था भएपनि केही सहकारीले सो गरेको पाइन्छ । जसबाट सदस्यलाई प्रत्यक्ष असर गर्दछ त्यसैले सो कार्य गर्नुहुँदैन ।

संस्था दर्ता हुँदाका बखत रहेका सदस्य बाहेक अन्यको हकमा सदस्यको रूपमा तीन महिनासम्म संस्थामा नियमित बचत गरे पछि मात्र कर्जा प्रवाह गर्नुपर्दछ । जसले सदस्यलाई नजिकबाट चिन्न सहयोग गर्दछ साथै उसको बानी ब्यहोरा पत्ता लगाउन सकिन्छ । जसको मूल्याङ्कनबाट सो सदस्यलाई ऋण लगानी गर्ने वा नगर्ने भन्ने कुरो निधो गर्न सकिन्छ । त्यसै गरी बचत तथा ऋण सम्बन्धि कारोबार गर्ने प्रत्येक संस्थाले कुल निक्षेप रकमको कम्तीमा १५ प्रतिशत तरलता राख्नु पर्दछ । ( तरलता रकम भन्नाले नगद मौजात, बैक मौजात, सरकारी ऋणपत्रमा गरिएको लगानी र सहकारी बैक तथा बचत तथा ऋण सहकारी संघमा रहेको निक्षेप रकम हो ।

सुरक्षित ऋण लगानी गर्दा कुनै पनि संस्थाले सर्वप्रथम आफ्नो सदस्यलाई चिन्नु पर्छ । सदस्यलाई चिन्ने विभिन्न आधार रहेको विभिन्न विज्ञहरूले उल्लेख गरेको पाइन्छ । समग्रमा निम्न मोडेलबाट सदस्यलाई मूल्याङ्कन गर्नुपर्दछ

C 5 Model

  1. C = Capacity (क्षमता)
  2. C = Character (चरित्र)
  3. C = Collateral   (धितो )
  4. C = Cash Flow/ Capital (नगदप्रवाह),
  5. C = Condition (अवस्था)

त्यसै गरी ऋण लगानी गर्दा एकाघरपरिवारका वालिग सदस्यहरूलाई अनिवार्य साक्षीको रूपमा राख्नुपर्दछ । जसबाट ऋणी कुनै कारणबस हराएमा,दुर्घटनामा परेमा, ऋणीले ऋण तिर्न आनाकानी गरेमा साक्षीहरूबाट असुल गर्न सहजता हुनसक्छ । त्यसैगरी सहकारी संस्थामा ऋणको वर्गीकरण गर्नुपर्दछ जसले गर्दा संस्थाको वास्तविक कारोबार थाहा हुन्छ ।

ऋणको वर्गीकरण 

सहकारी संस्थाले कर्जा सुरक्षण कोषको व्यवस्था नगरेको पाइन्छ । तसर्थ कर्जा सुरक्षण कोषको अनिवार्य व्यवस्था गरी संस्थालाई मजबुत तथा वास्तविक बनाउनु पर्दछ । साथै सहकारी संस्था घाटामा भएपनि विभिन्न शीर्षक देखाएर लाभांश वितरण गरेको पाइन्छ । तसर्थ वास्तविक धरातलमा रहेर र नाफा भएपछि मात्र  वितरण गर्नुपर्दछ ।

सहकारी संस्थाले ऋण लगानी गर्दा documentation एकदमै कमजोर देखिन्छ । बचत तथा ऋण सहकारी संस्थाको मुख्य विषय भनेकै ऋण लगानी भएकोले ऋण लगानी गर्दा आवश्यक सम्पूर्ण कागजात जाँची सम्पूर्ण प्रक्रिया पु¥यायर मात्र लगानी गर्नुपर्दछ ।

४.बचत तथा ऋणको वित्तीय कारोवार गर्ने संस्थाले गर्न नहुने कामहरू: 

 वासलत बाहिरको कारोबारहरू

 सदस्यहरूलाई अधिकवर्ष कर्जा प्रवाह ।

 व्यापारिक उद्देश्यले घर जग्गाको खरिद विक्रि तथा सञ्चालकहरूको लगानीमा खोलिएको निजी उद्योग व्यवसायमा लगानी ।

 विदेशी मुद्राको कारोबार वा मुद्रा विनिमय ।

 चिट्ठा तथा उपहार योजना सञ्चालन ।

 कार्यक्षेत्र बाहिरका र सदस्य बाहेकका व्यक्ति तथा निकाय सँगको कारोबार ।

 स्पष्ट नीति अनुसार गरिने लघु कर्जा कार्यक्रम बाहेक विना सुरक्षणमा कर्जा प्रवाह ।

 सुनचाँदी र शेयर प्रमाणपत्र धितो राखी कर्जा प्रवाह ।

सहकारी संस्थाले १० लाख भन्दा माथिको ऋण दिनका लागि धितो राख्दा यसको मूल्याङ्कनका लागि भ्यालिडियटर नियुक्ति गर्नु पर्दछ । साथै ऋण लगानी गर्दा ऋण माग गर्ने सदस्य ऋण प्राप्त गर्न योग्य छ छैन, त्यसको अनुसन्धानबाट प्राप्त नतिजाको आधारमा मात्र ऋण लगानी गर्नु पर्दछ । यसको लागि संस्थाले ऋण अनुसन्धान फारमको विकास गरी ऋण मापन स्केल तयार गर्नु पर्दछ । सो फारमलाई आधार बनाई सदस्यसँग Counseling गर्नु पर्दछ । त्यस पछि मात्र ऋण लगानी गर्ने नगर्ने निष्कर्षमा पुग्नु पर्दछ ।

अन्त्यमा,

सहकारी संस्थालाई सहकारीको सिद्धान्त,मूल्य,मान्यतामा आधारित भई सञ्चालन गर्नुपर्दछ । सहकारी संस्थाले आफ्नो सेवा सदस्यकेन्द्रीत भई प्रदान गर्नुपर्दछ । सहकारीलाई मेरो भन्ने मान्यताबाट पन्छाई हाम्रो भन्ने धारणामा रूपान्तरण गर्नुपर्दछ । जसबाट आर्थिक विकास र समृद्धिको सरकारको लक्ष्यमा पुग्ने बाटोमा सहयोग पुग्ने देखिन्छ ।

नरेन्द्र पराजुली

सहकारी अधिकृत

 

सन्दर्भ सामाग्री:

सहकारी ऐन २०७४

सहकारी नियमावली २०७५

विभिन्न विज्ञद्वारा प्रकाशित लेखहरू

केन्द्रीय प्रशिक्षण केन्द्रका अध्ययन सामाग्री

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको