थपघट गरेका क्रियाशील सदस्यको नाम रद्द गर्न माग

परासी, १७ साउन। पश्चिम नवलपरासी जिल्लाका केही वडाहरूमा क्रियाशील सदस्यहरूको नामावली केन्द्रमा थपघट गरेको भन्दै काँग्रेसको एक समूहले रद्द गर्न माग गरेको छ ।

संघीय क्षेत्र कार्य समिति क्षेत्र नं. २ का सभापति नरेन्द्र कुमार गुप्ता र सोही क्षेत्रका प्रदेश कार्य समिति सभापति दिनेश मणि पटेलले आइतबार विज्ञप्ति निकालेर प्रक्रिया नपुगेका कारण जिल्ला र क्षेत्रले समेत टुंगाउन नसकेका नामहरू जिल्लाका केही नेताहरूको दबाबमा केन्द्रमा थपघट गरेको आरोप लगाइएको हो ।

रामग्राम नगरपालिकाको वडा नं. ३, १५,१६ र पाल्हीनन्दन गाउँपालकाको वडा नं. ४ मा सदस्यता सम्बन्धी वडा स्तरबाटै विवाद उत्पन्न थियो । केन्द्रमा गठित छानबिन समितिको प्रतिवेदनले समेत उक्त वडाहरूमा नयाँ सदस्यता थप नगरी १३ औँ महाधिवेशनका सदस्यबाट अधिवेशन गर्न राय दिइएको तर अधिवेशन आफू अनुकूल बनाउन जिल्लाका केही नेताहरूले नामावली थपघट गरेको आरोप विज्ञप्तिमा लगाइएको छ । छानबिन समितिले टुङ्गो लगाउन नसकेका नामावलीहरू अहिले केन्द्रीय पदाधिकारीहरूलाई जिम्मा दिइएको र नाम थपघट गर्दा अधिवेशन नै प्रभावित हुने भएकाले त्यसलाई रद्द गरी समितिले बुझाएको रायलाई मान्यता दिन उनीहरूको माग छ ।

अन्य पालिकाहरूका केही वडाहरूमा पनि एकपक्षीय रूपमा नामावली थप घट गर्ने, पोष्टिङ्ग भइसकेका नाम झिकेर आफू अनुकूलका व्यक्तिहरूको नाम राख्ने कार्य भइरहेकोले त्यसतर्फ समेत केन्द्रीय पदाधिकारीहरूलाई ध्यानाकर्षण गराउँदै विज्ञप्तिमा त्यस्ता नामावलीहरू रद्द गर्न विज्ञप्तिमा माग गरिएको छ । जिल्लाबाट नयाँ र पुराना गरी ९ हजार बढी क्रियाशील सदस्यहरूको नामावली पठाइएको पार्टी जिल्ला समितिले जनाएको छ ।

जिल्लामा काँग्रेसका २ समूह छन् । जिल्ला सभापतिका लागि अहिले संविधानसभा सदस्य विक्रम खनाल समूहबाट अर्जुन कुमार पोखरेल र देवेन्द्रराज कँडेल समूहबाट मोहन शर्माको नाम चर्चामा छ । पोखरेल वर्तमान जिल्ला उपसभापति हुन भने शर्मा शिक्षक संघका पूर्वअध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको