कविता: मैले नि पासपोर्ट बनाएँ

कविता

“मैले नि पासपोर्ट बनाएँ”
 सुवास विभास 

हिजै त हो
मैले तिमीसँग झगडा गरेको
म देशको भक्त हुँ
गरे सब थोक हुन्छ यो देशमा
म विदेशीको गुलामी गर्दिन
हिजै त हो
तिम्रो हातमा भएको पासपोर्ट
च्यातुँला झैँ गरी थर्काएको
राष्ट्रियताको आन्दोलनमा
सबैलाई घर फर्कन आग्रह गरेको
म देशको भक्त हुँ
विदेशमा श्रम बेच्दिन ।

देशमा नारा मात्रै छ
सर्टिफिकेट बोकेर डुलेको डुलेकै छु
खै कसले किन्छ मेरो बौद्धिक श्रम
गाउँमा ऋण बढेको बढेकै छ
घर परिवारको गुनासो बढेको बढेकै छ
खै कति बसूँ बेरोजगारीको बिल्ला भिरेर
म भाँडा माझ्न तयार हुँदा नि
म ढुङ्गा फोर्न तयार रहँदा नि
किन किन्दैन मेरो श्रम देशले
किन बाटो दिँदैन एक पेट खान देशले

माफ गर साथी
माफ गर मातृभूमि
मैले नि पासपोर्ट बनाएँ
उड्दै छु आजै दुबई
काठमाण्डौं अन्तराष्ट्रिय बिमानस्थलबाट ।

(पुन: प्रकाशन)

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको