‘मधेसी महिला घुम्टो भित्र रहिरहने अवस्था अब छैन’: सांसद यादव

वीरगञ्ज, ३० पुष। पर्सा क्षेत्र नम्बर १ का संघीय सांसद प्रदिप यादवले मधेसी महिला घुम्टो भित्र रहिरहने अवस्था नरहेको बताएका छन्। एकता महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्ने क्रममा उक्त कुरो बताएका हुन्।

‘घुम्टो प्रथाको अन्त्य भइसकेको छ र अब मधेशी महिलाले पनि आर्थिक उन्नतिमा आफ्नो पाइला चालेको देखेर खुशी लागेको छ,’ उहाँले भन्नुभयो, “तपाईँहरूको सहयोगमा निरन्तर साथ दिने बाचा गर्दछु“ ।

महानगरको ९ वटा वडाको २७ वटा समुदायमा विस्तार भएको ’एकता महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड’मा महिला, पुरुष र बालबालिका गरी चौबीस सय बढी सदस्य आबद्ध छन ।

महिलाहरूद्वारा सञ्चालित ’एकता महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भवन निर्माणको जिम्मा सांसद यादवले लिएका छन् । एकता महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सांसद यादवले संस्थाको भवन निर्माणको सबै खर्चको जिम्मा लिने आश्वासन दिनु भएको हो ।

‘तपाईँहरू जग्गा खोज्नुहोस्, भवन निर्माण कहाँबाट कसरी गर्ने त्यो मेरो जिम्मा हो’ सांसद यादवले भन्नुभयो, ‘वीरगन्ज महानगरपालिकाले कसैलाई जग्गा र कसैको भवन निर्माण गर्दै आएको भए पनि महानगर भित्रकै महिलाहरूलाई वास्ता गरेको छैन” उनले भने।

आज आयोजित वार्षिक साधारण सभाबाट अध्यक्ष, सचिव र एक जना सदस्य पदमा सर्वसम्मत नियुक्त गरिएको संस्थाका कर्मचारी साहेब हुसैनले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको