प्रशासन कार्यालयमा आलोपालो सेवा

वीरगंज, २९ पुष। कोभिडको पछिल्लो नयाँरुप ओमिक्रोन भेरियन्टको सङ्क्रमण फैलिँदै गएपछि सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पर्सा जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई आलोपाला सेवा दिने भएको छ ।

आगामी माघ २ गते आइतबारदेखि लागू हुनेगरी जिल्लाभरिका सबै पालिकालाई सातामा दुई दिन तोकिएको समय पर्ने गरी सेवा दिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । सो बमोजिम आइतबार र सोमबार कालिकामाई, ठोरी, पकाहा मैनपुरगाँउ, धोबिनी, छिपहरमाई र पटेर्वा सुगौली गाउँपालिकाका सेवाग्राहीको कार्य हुने छ ।

मङ्गलबार र बुधबारका दिन जगरनाथपुर, विन्दवासिनी, पोखरीया, पर्सागढी र बहुदरामाई नगरपालिका क्षेत्रको पालो राखिएको छ । बिहीबार र शुक्रबार जिरा भवानी तथा सखुवा प्रसौनी गाउँपालिका र वीरगञ्जमहानगर पालिकाका सेवाग्राहीको काम हुने जनाइएको छ । जिल्लामा पछिल्लो समय कोभिड सङ्क्रमण बढ्दै गएपछि भिडभाड कम गरी स्वास्थ्य मापदण्ड अपनाएर आलोपाला सेवा दिन जिप्रकाले जिल्लास्थित सबै कार्यालयलाई निर्देशन दिएको छ । यसैबीच कोभिडको पछिल्लो नयाँ रूप ओमिक्रोन भेरियन्टको सङ्क्रमण फैलिँदै गएपछि सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले प्रजिअ उमेशकुमार ढकाल आफै जनचेतनामूलक अभियानमा जुट्नु भएको छ ।

सर्वसाधारणलाई वर्तमान अवस्थामा स्वास्थ्य मापदण्डमूलक सन्देश प्रवाह आवश्यक रहेकाले आफै मास्क वितरणसहित अन्य जनचेतनामूलक अभियानमा जुटेको उहाँले जानकारी दिनुभयो । आम नागरिकमा लापरबाही गर्ने परिपाटीले गर्दा जोखिम बढ्नसक्ने भएकाले मास्क वितरणसहित अन्य जनचेतना जगाउन प्रजिअ ढकालसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख अभियानमा लाग्नु भएको हो । जिप्रकाले सामुदायिक प्रहरी सेवा केन्द्रसँगको सहकार्यमा आयोजना गरेको सचेतनामूलक कार्यक्रमअन्तर्गत एकै दिन करिब पाँच हजारलाई निःशुल्क रूपमा मास्क वितरण गरिएको थियो ।

यसैबीच जिप्रकाले सार्वजनिक स्थलमा मास्क नलगाउनेलाई रु १०० जरिवाना गर्ने रणनीति अघि बढाएको छ । क्रसर र बालुवा प्रशोधन उद्योग कारबाहीमा बारा जिल्ला प्रशासन कार्यालयले नियमविपरीत सञ्चालनमा रहेका विभिन्न क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगलाई कारबाही गर्न थालेको छ । ती उद्योगमा अनुगमन गरी नियम विपरीत सञ्चालनमा रहेका उद्योगलाई कारबाही प्रक्रिया अघि बढाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो । कार्यालयका अनुसार पहिलो चरणमा जिल्लाका विभिन्न स्थानमा रहेको क्रसर उद्योग तथा बालुवा प्रशासन उद्योगको अनुगमन थालिएको हो । अनुगमन पश्चात् कानुन विपरीत सञ्चालनमा रहेका उद्योगलाई कारबाही अघि बढाइने सहायक प्रजिअ शिवराज सेडाइँले जानकारी दिनुभयो ।

पहिलो चरणमा जिल्लास्थित चारवटा बालुवा प्रशोधन उद्योगको कागजपत्र नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको हो । कागजपत्र नियन्त्रणमा लिइएका उद्योगमा बारास्थित समृद्धि बालुवा प्रशोधन उद्योग, बालगङ्गा बालुवा प्रशोधन उद्योग, जयलक्ष्मी बालुवा प्रशोधन उद्योग र बाराको कोलबीस्थित बिना दर्ता सञ्चालनमा रहेको अर्को एउटा बालुवा प्रशोधन उद्योग रहेका छन् । नदी उत्खनन् र दोहन भएको चौतर्फी गुनासो आएपछि अनुगमन गरेको जनाइएको छ । अनुगमन टोलीले यस क्षेत्रमा सञ्चालनमा रहेका अन्य चार क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्रबाट आवश्यक कागजपत्रसमेत नियन्त्रणमा लिएको थियो ।

बालगङ्गालगायत खोलामा सञ्चालित बालुवा प्रशोधन केन्द्रमा नदीजन्य पदार्थको उत्खननमा रोक लगाइएको बेलामासमेत क्रसर र बालुवा प्रशोधन उद्योग सञ्चालनमा रहेका थिए ।जिल्लाभित्र २४ वटा क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योग सञ्चालनमा रहेका छन्। रासस


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको