विद्यार्थीले खोप पाउने निश्चित

विद्यालय खुल्ने अनिश्चित

काठमाडौं, २९ पुस । उपत्यकाका किशोर–किशोरी विद्यार्थीलाई दिने भनिएको साढे चारलाख जोड खोपमध्ये बुधबारसम्ममा करिब ४० प्रतिशत वितरण भएका कारण खोपको लक्ष्य पूरा हुने निश्चितता बढेको छ, तर कोरोना संक्रमणले गति बढाएका कारण विद्यालय खुल्ने भने निश्चितता छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२–१७ उमेर समूहका किशोर–किशोरी लक्षित खोप गत शुक्रबारदेखि लगाउँदै आएको छ । भक्तपुरमा मोडर्ना तथा काठमाडौं र ललितपुरमा फाइजर खोप लगाइँदैछ ।

तीनै जिल्लाका जनस्वास्थ्य कार्यालय प्रमुखका अनुसार भक्तपुरमा करिब ८० प्रतिशत तथा काठमाडौं र ललितपुरमा करिब ४० प्रतिशत खोप लगाइसकिएको छ । काठमाडौं र ललितपुरले मंगलबारबाट खोप अभियान शुरू गरेको हो । ‘स्थानीय तहको सहकार्यमा अभियान सञ्चालन गरेको कारण उल्लेखनीय सहभागिता बढेको हो’– काठमाडौं स्वास्थ्य कार्यालय प्रमुख शम्भु काफ्लेले नेपाल समाचारपत्रलाई बताउनुभयो– ‘विद्यालयका प्रअलाई विद्यालयमा खोप लगाउन व्यवस्था मिलाउने निर्देशन दिएको कारण अधिकांश विद्यार्थीले खोप लगाएका छन् । काठमाडौंमा २ लाख ७० हजार मात्रा खोप लगाउने योजना रहेकोमा विद्यार्थीको संख्या बढेर र करिब ३ लाख पुग्ने उहाँको अनुमान छ ।

स्थानीय तहका शिक्षा शाखाले २ सयभन्दा बढी विद्यार्थी भएका विद्यालय र सोभन्दा कम विद्यार्थी भएका विद्यालय भए सँंगैको विद्यालयमा खोप केन्द्र रहने व्यवस्था मिलाएको छ । ललितपुर स्वास्थ्य कार्यालय प्रमुख सतीश विष्टले जिल्लामा ७१ हजार ३ सय १ जनाले खोप लगाउने अनुमान गरिएको छ । उहाँका अनुसार यसअघि १२–१७ उमेर समूहका करिब ५ हजारले पहिलो डोज लगाइसकेका छन्, अहिले बाँकीलाई खोप दिने काम भएको छ ।

ललितपुर महानगरक्षेत्रमा उल्लेख्य सहभागिता रहेको उहाँको भनाइ छ । ‘हामीले तोकिएको उमेर समूहका बालबालिकालाई खोजेरै भएपनि खोप लगाउने व्यवस्था गरेका छौं । महानगरले माघको पहिलो सातासम्म विद्यार्थीलाई खोप लगाइसक्ने योजना बनाएको छ । हामीले सकेसम्म ५ गतेसम्म सबै विद्यार्थीलाई खोप लगाइसक्नेछौं’ उहाँको भनाइ छ ।
भक्तपुरका जनस्वास्थ्य प्रमुख कृष्ण मिजारले अबको दुई–तीन दिनभित्र तोकिएका सबैलाई खोप लगाइसक्ने व्यवस्था गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘जिल्लामा ४ स्थानीय तहमध्ये सूर्यविनायक, चाँगुनारायण नगरपालिकाका विद्यालयमा खोप कार्यक्रम सम्पन्न भइसकेको छ ।

उहाँका अनुसार भक्तपुर र मध्यपुर ठिमी नगरपालिकाले एक–दुई दिनमा सक्ने योजना तय गरेका छन् । उहाँका अनुसार तोकिएको जनसंख्यालाई खोप लगाएपछि स्थानीय तहको समन्वयमा खोजेरै भए पनि पुनः खोप लगाउने योजना छ । तीनै जिल्लाका जनस्वास्थ्य प्रमुखले बिदा मनाउन र विद्यालयबाहिर गएका विद्यार्थीलाई विद्यालयको समन्वयमा बोलाएरै भए पनि खोप लगाउने व्यवस्था गरेको बताएका छन् ।

तीनै जिल्लाका कार्यालय प्रमुखले स्थानीय तहले उपलब्ध गराएका तथ्याङ्कको आधारमा लक्षित समूहले खोप नलगाएसम्म निरन्तर अभियान चलाउने बताएका छन् । सरकारले माघ १५ गतेभित्र उपत्यकाका सबै विद्यार्थीलाई अनिवार्य रूपमा खोप लगाइसकेर विद्यालय सञ्चालन गर्ने योजना बनाएको थियो । कोरोना संक्रमण बढ्दै जाँदा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सो योजना भने विफल हुने सम्भावना बढेको छ । यसअघि, पुस १३ देखि २२ सम्म खोप अभियान शुरू गरिएको थियो । सिरिञ्ज अभावको कारण अझै पनि उपत्यकाबाहेक अन्य जिल्लाका लागि निर्णय गर्न सकेको छैन । समाचारपत्र


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको