कुन नियम कानुन र मापदण्डको आधारमा यस वर्ष पुरस्कार वितरण नगरिएको हो ?

काठमाडौं, २८ पुस । नेपाल पत्रकार महासंघ शाखा सप्तरीले प्रत्येक वर्ष पुस २६ गते एक जना पत्रकारलाई वर्षेनी पुरस्कृत गर्दै आएको स्वर्गीय पत्रकार लोकेन्द्र बुढाथोकीको स्मृति दिवसमा यस वर्ष भने पुरस्कृत गरिएन ।

यस वर्षका लागि पनि महासंघ शाखा सप्तरीले उक्त पुरस्कार छनौटका लागि तीन सदस्यीय छनौट समिति गठन गर्दै इच्छुक पत्रकारहरूलाई नियम कानुन बमोजिम पुरस्कारका निम्ति आवेदन गर्न समेत सार्वजनिक आह्वान गरेको थियो । केही आवेदकहरूले आवेदन पनि दिएका थिए ।

यस शाखाको इतिहास मै सम्भतः पहिलो पटक आवेदन लिएर पनि कसैलाई पुरस्कृत नगरिएको आवदेन दिएका पत्रकारहरूले जनाएका छन् । स्वर्गीय लोकेन्द्रको स्मृति दिवस त मनाइयो, पुरस्कार बाँडिएन् । कसैको आवेदनमा पनि प्रक्रियागत पूर्णता नरहेको भन्दै महासंघले घुमाउरो पारामा आवेदकहरूलाई अयोग्य नै घोषणा गरिदिएको समेत पत्रकारहरूले आरोप लगाएका छन् ।

वर्षौँदेखि यस शाखामार्फत वितरण हुँदै आएको लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार सम्बन्धी हालसम्म कुनै ऐन, कानुन, विनिमय र विधान केही पनि रहेको छैन । सुरुदेखि नै चलन चलती र एउटा प्रचलनको आधारमा वर्षैनी सप्तरी कार्य क्षेत्र बनाएर पत्रकारिता गर्ने एक जनालाई पुरस्कृत गर्ने कार्यलाई महासंघले निर्विवाद रूपमा निरन्तरता दिँदै आएको हो । यद्यपि, वर्षौँ पुरानो परम्परालाई तोडिनुको औचित्यबारे पत्रकारहरू अनभिज्ञ भएको उनीहरुको भनाई छ ।

हामी आवेदकहरू अयोग्य भयौ वा पुरस्कार बाँड्न नसक्ने महासंघ शाखा सप्तरी नेतृत्व यसबारे वृहत् छलफलको खाँचो रहेको उनीरुको मुंल्याकन रहेको छ । महासंघ पत्रकारहरूको साझा संस्था हो र यसको सम्मानका निम्तीसबैलाई सजग बस्नु पर्ने अहिलेको खाँचो रहेको उनीहरुको ठहर छ । महासंघको यस आवेदकहरूको क्षमता र योग्यतामाथि अनावश्यक प्रश्न मात्रै उठाइएको छैन, स्वर्गीय पत्रकार लोकेन्द्र बुढाथोकीको नाममा स्थापित पुरस्कारको गरिमालाई समेत अवमूल्यन गरिएको उनीहरुको बुझाई  छ ।

कुन नियम कानुन र मापदण्डको आधारमा यस वर्ष पुरस्कार वितरण नगरिएको हो? यसबारे महासंघ शाखा नेतृत्वले सार्वजनिक अभिव्यक्ति जारी गर्नुपर्ने उनीहरुको माग छ । आवेदकहरूको फाइल अध्ययनका निम्ति शाखाका पूर्व अध्यक्ष र वरिष्ठ पत्रकारहरू सम्मिलित टोली बनाएर र पछिल्लो वर्षहरूको नजिरको आधारमा हाम्रो फाइल पनि अध्ययन गर्न नेपाल पत्रकार महासंघ शाखा सप्तरी लाई आग्रह गरेका छन् । पत्रकारहरू सौरभ यादव, नानीमैया कटवाल, प्रिया सिंह थारु (पार्वती) र रामनाथ यादवले प्रेस विज्ञप्ति जारी गरेका हुन् ?


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको