नेपाली भन्नुको गर्व : पृथ्वीनारायण शाह

अमेरिकीहरू जर्ज वाशिंटनलाई मान्छन्, चिनियाँहरू माओत्सेतुङलाई मान्छन्, भारतीयहरू महात्मा गान्धीलाई मान्छन् । नेपाललाई कुनै भगवानले बनाइदिएका होइनन्, न त माओत्सेतुङले नेपाल चिने, न जर्ज वाशिंटनले देखे, न त गान्धीको कुनै योगदान, कसैले यो देश नेपाल बनाउनुमा कुनै योगदान गरेको छ भने त्यसको श्रेय राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई दिन हिचकिचाउनु हुन्न । नेपाली हुनुको गौरव नेपालको इतिहासमा पृथ्वीनारायण शाहलाई जान्छ। उहाँको देन राष्ट्र निर्माण नभइदिएको भए सायद नेपाल र नेपाली पहिचान नरहन पनि सक्थ्यो । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानलाई कुनै पनि सभ्य र शिक्षित नेपाली नागरिकहरुले कम आकलन गर्नु भनेको इतिहास प्रतिको अपमान नै हो ।

अधिकांश राज्यहरूमा आफ्नो देश निर्माणमा योगदान गर्ने हरेक अग्रज र पुर्खाहरूका निम्ति सधैँ सम्मान गर्ने विश्वव्यापी परम्परा छ । तत्कालीन नेपालमा छरिएर रहेका बाइसे र चौबीसे राज्यहरू एकीकरण गरेर इतिहासमा नेपाल भनेर चिनाउने उनै पृथ्वीनारायण शाहलाई आज नेपालका तथाकथित प्रगतिशील दलहरूले उनलाई सामन्तवादको प्रतीक भनेर सम्बोधन गर्नु भनेको नेपाल एकीकरण हुनु ठिक थिएन भन्नु सरह नै हो । हामी नेपाली भनेर गर्व गर्नुको सम्पूर्ण श्रेय सायद उनैमा जान्छ । नेपाल एकीकरण नभएको भए यी दलहरूको अस्तित्व पनि रहने थिएन। राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई सम्मान दिन नसक्नु अहिलेका दलहरूको कमजोरी मात्र नभएर इतिहासप्रतिको अपमान पनि हो।

समयको गतिसँगै इतिहासले पनि कोल्टे फेर्छ, व्यवस्था परिवर्तन हुन्छ, स्वाभाविक प्रकृया हो, तर पनि राष्ट्र निर्माता, इतिहासका रचनाकार कहिले परिवर्तन हुँदैन । राज्य व्यवस्था र अहिलेको संविधानमा पनि धेरै खोटहरू छन्, तथापि अहिलेको व्यवस्थामा राष्ट्र निर्माताको लागि सम्मान दिँदा व्यवस्थाको अपमान हुँदैन । राष्ट्रप्रति योगदान नै नभएका पूर्वमन्त्री, पूर्वप्रधानमन्त्री, विशिष्ट नेताहरूले अनाहकमा राज्यको दोहन गर्न मिल्छ भने राष्ट्र निर्मातालाई सम्मान दिन किन सकिन्न ? के यस्तो परम्परालाई प्रगतिशील मान्न सकिन्छ ? वर्षको एक दिन उहाँको योगदानलाई कदर गर्दै राष्ट्रिय एकता दिवस मनाउँदा राज्य व्यवस्थाप्रतिको अपमान हुँदैन, न त कुनै दुष्परिणाम नै आउँछ । सारा जनताले सम्मान र आदर व्यक्त गरेको यति ठूलो राष्ट्रिय एकता दिवसलाई जनमत प्राप्त सरकारले बेवास्ता गर्न कति पनि सुहाउँदैन। गौरवपूर्ण नेपालको इतिहास र राष्ट्र निर्माताको सम्मान गर्न नसक्नु भनेको लाचारीपना हो। राष्ट्र निर्मातालाई सम्मान दिन नसक्नु भनेको नेपाल कसैको आदेश र इशारामा चलेको छ भन्ने कुराको ज्वलन्त उदाहरण मान्न सकिन्छ ।

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्तीको अवसरमा पुष २७ गते हुने राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाएर राष्ट्रलाई चिरस्थायी बनाउन पृथ्वीनारायणको प्रेरणालाई आम जनमानसमा उजागर गर्दै राज्य निर्माताको सम्मान गर्न राज्यलाई पनि दबाब सिर्जना गर्न अपरिहार्य भएको छ । राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको इतिहासको सम्मान गरौँ ।

-जय प्रकाश बगाले

काठमाडौँ,

(प्रकशित लेख, लेखको निजी विचार हो। )


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको