राष्ट्रियताको असली परिभाषा के हो ?

विषय प्रवेश:

अन्यथा नमान्नुस्, आज म आफ्नै कथाबाट विषयवस्तु उघार्छु । नयाँ नेपाल निर्माणको खातिर सिंगै जनयुद्धमा एकैदिन गयल नभएपनि लोकतन्त्र आएपछिका एकैदिनपनि पार्टीमा हाजिर नभएको सामान्य नागरिक हुँ, किनकि मलाई देशकोनिम्ति दिनु थियो ! दिएँ/आएँ, लिनु थिएन पार्टीमा बसिँन ! त्यसैले आजको दिनमा मात्र होइन जिन्दगीभरि परिवर्तनकामी भएकोमा गर्व साँच्छु, मलाई माओवादी पार्टीमा लाग्नुमा जति गर्व छ, त्याग्नुमापनि सायद त्यति नै गर्व छ किनकि ममा कुनै व्यक्तिगत स्वार्थ थिएन, मात्र राष्ट्रनिर्माणको उत्कट चाहाना थियो सकुञ्जेल दिएँ फर्केर आफ्नै ब्यावसायमा लागेँ ।

मेरो कथा, देशको व्यथा

पार्टी छोडेपछि आरम्भ गरेको गाडी ब्यावसायमा मिस्त्रीकहाँ नियमित जानुपर्दथ्यो । धोविखोलाको नन्कीको कारखानामा तीन जना बच्चाहरू करिब १० देखि १२ वर्षपनि पुग् नपुग् होलान् । तिनीहरूलाई ठूला मिस्त्रीहरु पस्न नसक्ने अप्ठेरो ठाउँका नट बोल्ट खोल्ने कस्ने लगायत अन्य इन्जिन, गियरवक्स, क्रस, पम्प, भ्याकुम लगायतका मेसिनरीहरु खोल्दा त्यसको सरसफाइ गर्न लगाउँथे । करिब ०६४ देखि ०७४ मैले ब्यावसाय छेड्ने बेलासम्म ती बच्चाहरू १९ देखि २१ का लक्का जवानमा माात्र नभई राम्रो मिस्त्रीमासमेत रूपान्तरित भइसकेका थिए । भारतीय मिस्त्रीहरुको एउटा प्रचलन नै रहेछ प्राय ६–८ महिनामा घर जाने, आउँदा १०–१२ वर्षका बच्चाहरू लिएर आउने र उनीहरूलाई हरेक ढङ्गले पर्फेक्ट मिस्त्री बनाउने ।

तर हाम्रो नेपालमा… जन्मेर १ वर्षदेखि मण्टेश्वरीमा पठाउने टेन्सन्, २ वर्षमा राम्रो बोर्डिङ खोज्ने टेन्सन्, त्यसपछि महँगो फी भर्दै १० वर्ष अनेकौँ झमेलासँग जुध्दै ठिक्क ! जब एस.ई.ई. दिनेबेलासम्म आफूलाई ठिक्कको जोडीसँग आँखा जुधाइसकेका हुन्छन् । उमेरको काँचोपन, जातीय बेमेल वा क्षेत्रीय दुरी आदि देखाएर उनीहरुको अपरिपक्वतालाई परिपक्व नवनउञ्जेल परिवारवारिले जोडिएको पूर्णतामा अवरोध सिर्जना गर्दछन् । त्यसपछि एकाध दिन चुरोट तान्ने, पछि गाँजा तान्ने, पछि सुई हान्ने हुनथाल्छ । लौ भन्नोस् जन्मेदेखि न्यूनतम २२–२५ वर्षसम्म कुन दिन सन्तानको चिन्ता आमा बाउले नलिएको होला ?

तर उता मधेसी भनी हेपिएकाहरुको बाल बच्चा घाँस दाउरामा जाँदा जन्माएर पोल्टामा पोको पारी ल्याउँछन्, चोख्खिनेबित्तिकै आमा बाउ आफ्नो ज्यालामजुरीमा लाग्छन् बच्चा धुलो माटो कसिङ्गरसँग आते ताते गर्दै हुर्कन्छ, ८–९ वर्षसम्म तिनले कट्टु देखेका हुँदैनन्, नाकभरी सिँगान, टाउकाभरी जुम्रा र खटिराका पाप्रा हुन्छन् भने ढाडभरी कन्याउँदा नङ्गले खोस्रेका डामहरू, मैलोको पाप्रो उप्किँदा निस्केको सेत्तै कत्लाहरू हेर्न कुनै ब्राण्डको चस्मा लाउनु पर्दैन । किताब कापी कलम त अर्काले बोक्या हेरेर आँखा लोलाउने मात्रै हो । तर “जब पुग्यो दश, चढ्यो काठमाण्डुको बस !” यसरी मधेसी भनी हेपिएका एउटा नागरिक कुशल शिल्पी बन्छ योग्य इन्जिनियर बन्छ । तर आफूलाई अब्बल मान्ने नेपालीको सन्तान १८ वर्षमा कुशल गँजडी बन्छ, असल जँड्याहा बन्छ र एउटा पेशेवर ड्रगिष्ट बन्छ र सच्याउनको निम्ति पैसा हुनेहरूले युरोप अमेरिकाको शयर गराउँछन् नहुनेहरूले खाडीको बास्…

एकाधवर्षमा उताबाट फर्केर आउँदा बाँझो बारी जोत्न नसकिने हातमा अन्य सीप नहुने, सरकारी जागिर नपाइने… यसरी नेपाली “यता न उता मुलावारी भित्ता…!” आजको यथार्थ यही हो । अनि कसरी देशको उत्पादन प्रणालीले निर्वाहमुखीबाट औद्योगिक उत्पादनमा गएर देश सक्षम सबल र स्वाधीन बन्दैजान्छ ? राष्ट्रियता भनेको प्रतिगामीको पोल्टामा बसेर अग्रगामीहरूलाई गाली गर्नु मात्र होकि ? देशलाई आत्मनिर्भर अर्थतन्त्रमा लगेर समृद्ध बनाउनु हो ? देशको स्वाधीनता केवल प्रचण्ड–बाबुरामले मात्रै जोगाउने हो कि त्यो स्वाधीनता जोगाउने आम नेपालीले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्छ ?अर्थात् प्रचण्ड–बाबुरामलाई गाली गर्दै गर्दा हामीले हाम्रो भागको राष्ट्रियता जोगाउन पहल ग¥यौं कि गरेनौँ ? समीक्षा गर्ने ?

बिचार पक्ष

हाम्रो जस्तो देशमा “राष्ट्रियताको सेन्टीमेन्ट” असाध्यै बिकाऊ उद्वेलन हो । हरेक प्रकारका अधिकारवादी सवालहरूलाई “राष्ट्रियताको कसीमा घोट्ने” परम्परा नै बसिसकेको छ । कसले कति साँचो यथार्थ राखेको छ ? के गर्दा देशको भविष्य सुनिश्चित हुन्छ ? त्यसको महत्त्व तथ्य भित्रको सत्यता खोज्ने भन्दापनि कसले बोलेको हो त्यो अनुसार धारणा बनाउने गलत परम्परा बस्दैआएको छ । अधिकारवादी प्रसंगहरुकोपनि क्याटागोरी बनिसकेको छ, उच्चजातीय ब्राम्हणहरुले न्याय अन्यायको कुरा उठाउँदा मानवअधिकारको प्रसङ्ग बन्छ, त्यही कुरा जनजातिहरूले उठाउँदा देश टुक्राएर राष्ट्रियता कमजोर बनाउने साजीसको रूपमा बुझिन्छ, भने मधेसी समुदायले उठाउँदा त सिधै भारतीय संस्थापनसँग जोडेर जस्तो कूतर्क पनि गरिरहेका छन् । दलित तथा अल्पसंख्यकहरुले उठाउँदा धार्मिक बितण्डतासंग गाँसेर कृष्चियन मिसिनरी र पश्चिमा साम्राज्यवादीहरूको अतिक्रमणसँग जोडेर तिरस्कार गरिन्छ । आखिर के हो राष्ट्रियता ? के गर्दा यसको संरक्षण र संवर्धन हुन्छ ? यसको बहुआयामिक अस्तित्वको रक्षा गर्न क–कसको, के–कस्तो भूमिका निर्वाह गर्नुपर्छ ? त्यो चासोको विषय होइन, सत्ताधारी जाति बर्गर र पार्टीबाहेक अन्यलाई अधिकारवादको वकालत गर्ने अधिकारै नभएजस्तो व्याख्या गर्ने परम्परा बसालियो । जो मण्डले राष्ट्रवादको विरासत हो ।

कसैले सत्ताधारीहरूलाई आफ्ना हुर्केका सन्तान कता छ ? भन्यो भने अमेरिका, युरोप, क्यानडा, वा अन्य त्यस्तै विकसित देशमा छ भन्नमा गर्व गर्दछन् । देशको रकम विदेशी भूमिमा कनिका झैँ छर्दा उनीहरूलाई कुनै पश्चात्तापको अनुभूति हुँदैन । बल्की राज्यको खर्च आफ्नो बुता र पहुँचको कारणले उपभोग गर्न सकेकोमा घमण्ड गर्दछन् भने नसक्नेलाई निम्छरो वा नामर्दीपनको संज्ञाले सिँगार्छन् ।

विदेशमा झैँ सुबिधासम्पन्न शिक्षालय स्वास्थ्य केन्द्र बनाएर देशको रकम देशमै जोगाउने कुनै भित्री आकाँक्षा जाग्दैन । स्वदेशी रकम बाहिर जानुमा उनीहरू कदाचित पश्चात्ताप मान्दैनन् । घडी कताको ? लुगा कताको ? या घर सिँगार्ने विभिन्न वस्तुहरू कताको ? भनी सोध्दा “विदेशबाट ल्याइएको !” भन्नपाउँदा मखलेल हुन्छन् । शिरदेखि पैतालासम्म सिँगार्ने वस्तुहरू विदेशबाट आएको भन्न पाउनुलाई उनीहरू गर्वको विषय मान्दछन् । किनकि उनीहरू राज्यलाई दिनसक्नुमा होइन राज्यबाट लिन सक्नुमा गर्व भेट्छन्, बहादुरी सम्झन्छन् । यही धर्तीमा बसेर यहीँको माटो सिँगार्ने किसान मजदुर साना व्यवसायी, अधिकांश हिस्सा ओगटेको नेवार, तामाङ, राई लिम्बु थारु मधेसी लगायतका समुदायलाई ज्यापु, भोटे, थाक्से, विहारी मधिसे भन्नमा गर्व गर्दछन् । के राष्ट्रियताको संरक्षण यसरी देशमै पसिना बगाउनेहरूलाई हेप्दै चेप्दै बनाएको कथ्यौरी गाँस्दै गरिएको चौतारोगफले हुन्छ ?

राष्ट्रियताको शाब्दिक अर्थ खोज्दा केवल भूगोल मात्र जनाउँदैन, यसले यहाँका तमाम नागरिकहरूको भावनाको सामूहिक हितको प्रतिनिधि शब्द मानिन्छ । तर नेपालको राजनीतिक चौतारीमा खामोसमयदेखि सत्ताको वरपर बसेर त्यसैको रहलपहलमा रमाएका ब्राह्मण क्षेत्रीहरूले उठाउँदै आएको पाउँछौँ । किनकि जाति जनजातिलाई अधिकार दिँदा उनीहरू आफ्नो अधिकार खोसिने कल्पना गर्दछन्, र राजनीतिक सांस्कृतिक, आर्थिक अधिकार उनीहरुको हातबाट वञ्चित गराउन हजार प्रयत्न गर्दछन् र त्यसैको प्रपञ्चमा जनजाति, दलित समुदाय लगायत सम्पूर्ण उत्पीडनको भारी बोकेका अल्पसंख्यक जनसमुदायपनि भ्रममा साँचिरहेका छन् । कि: “आफ्नो अधिकारको तथ्य राख्नु वा वकालत गर्नु राष्ट्रघात हो ।” किनकि सारा सत्ताधारी समुदायले आफ्नो लुटको स्वर्ग जोगाउन यति नभनी धर पाएका छैनन् ।

पञ्चायत कालामा राज्यसत्तामा हालीमुहाली चलाउँदै आएका पञ्चेहरूले आफू इतरका मानिसहरूलाई “अराष्ट्रिय तत्त्व” भन्दै आए । हाल अधिकार खोज्ने तमाम आदिवासी जाति, जनजाति, थारु, मधेसी, महिला मुस्लिम लगायत सम्पूर्ण अल्पसंख्यकहरुलाई समेत पनि हरेक सवालमा राष्ट्रिय मूलधारमा देख्न रुचाइरहेका छैनन् । उत्पीडितहरूले आफ्नो वास्तविक पिडा व्यक्त गर्ने बित्तिकै “यो जातीय कुरा, यो राष्ट्र विखण्डन गर्ने कुरा, या यो त राष्ट्रघाती कुरा !” भन्दै आफू मात्रै अब्बलको राष्ट्रवादी र अन्य सबै राष्ट्रघाती बताउँदै आए । अर्थात् पञ्चायतको मूल नारा “एउटै भाषा एउटै भेष एउटै जाति एउटै देश”को वास्तविक लिगेसीले अझै छोडेको छैन । तर पञ्चायतकलामा क्षेत्री–बाहुनहरूले बोक्थे, हाल ब्राह्मण–क्षेत्रीहरूले बोक्छन् ।

तमाम जाति जनजातिलाई राष्ट्रिय मूलधारबाट अलग्याएर अढाई सय वर्षदेखि उनीहरुको सार्वभौम अधिकार खोसेर उनीहरूलाई दाश बनाइरह्यो उक्त वास्तविकता छोप्नको निम्ति पृथ्वी नारायण शाहलाई देवत्वकरण गर्ने र त्यसैको पाखण्डपूर्ण “गोर्खा राज्य बिस्तारलाई ”कथित “नेपाल एकीकरण”को नाम दिँदै राष्ट्रियताको अर्थ केवल भूगोलमा सङ्कुचित गरियो । अर्थात् तमाम जाति जनजातिको राष्ट्रिय पहिचान कुल्चँदै गरिएको गोर्खा राज्य बिस्तारलाई राष्ट्रको श्री वृद्धि मान्दै, तमाम नागरिकहरूको सार्वभौमिक अधिकारमाथि हस्तक्षेप गर्दै औपनिवेशिक नीति लागू गर्नुलाई आफ्नो बहादुरी सम्झँदै आए, र त्यसैलाई निरन्तरता दिनु हालसम्मका सत्ताधारी शासक वर्गले कर्तव्य सम्झँदै आए ।

खासगरी राणा कालादेखि पञ्चायत कालसम्म क्षेत्रीहरू राज्य सञ्चालनका हर्ता कर्ता बने भने ०४६ सालको परिवर्तन पश्चात् सत्ताको हरेक मोहरीमा उच्च जातीय ब्राम्हणहरु राज्यका सञ्चालक बन्दै आए । यद्यपि “कालो बादलमा पनि चाँदीको घेरा वा पूर्ण चन्द्रमामापनि दाग” भनेझैँ त्यही ब्राह्मण परिवार भित्रैबाट डा. बाबुराम र प्रचण्ड जस्ता नेताहरू जन्मिए जसले केवल भूगोललाई मात्र राष्ट्रियता मान्ने सङ्कीर्ण मान्यताबाट देशलाई मुक्त गरेर यहाँका तमाम देशवासीको भावना, उनीहरुको सर्वाङ्गीण विकास र उनीहरू सबैलाई समान उन्नतिको मार्ग निर्माण गर्नु नै राष्ट्रिय एकीकरणको मूल अभिष्टको रूपमा परिभाषित ग¥यो र पृथ्वी नारायण शाहले गरेको भूगोलको एकीकरणलाई भावनात्मक एकीकरणसमेत गरेर एकीकरणको अभियानलाई पूर्णता दिने महान् कार्यको शुभारम्भ ग¥यो । तर विभेदमा रमाउने, अरूलाई पीडा दिनुमा, होच्याउनुमा आफ्नो उचाइ बढेको अभिमान साँच्नेहरूले यसलाई उल्टोपाल्टो व्याख्या गरे र अझै पनि अधिकांश जाति जनजातिहरू भ्रमित हुने र दमनकारी, अत्याचारीहरूलाई देव र मुक्तिदाताहरूलाई मानवीकरण गर्ने सम्भावना टरेको छैन । यसको नेतृत्व गर्ने राप्रपाको युग सकिएको भान भएपनि एमालेले त्यसको विरासत धान्ने र त्यो अझ नयाँ र मौलिक रूपमा अघि बढ्ने सम्भावना टड्कारै देखिन्छ ।

राजनीतिक पक्ष

यहाँनेर देश भित्र देखिएको राष्ट्रवादको विभिन्न अवतारहरूको विवेचना गर्दा एमालेले महाकालीको राष्ट्रघातको कालो पोतिएको अनुहार नाकाबन्दी काण्डले धुने प्रयत्न ग¥यो, र नयाँ ढङ्गले आफ्नो अनुहारमा नकाब लगाउन सफल भयो । तर उनको नक्कलीपना कञ्चनपुरमा तटबन्ध बाँध्दा निस्कियो । महोत्तरीमा लगभग ५०० एकड जमिन मिच्दा एक बचन पनि भारतको विरुद्धमा नबोलेर देखायो । तैपनि आम मानिसहरूमा यसको प्रभाव खासै पर्न सकेन, उनको नक्कली राष्ट्रवादको नकाब उतार्न सकेन । तर जब चुच्चे नक्साको सवाल सर्वप्रथम देशका सम्पूर्ण पार्टीहरूले एकमतले पास गरे तब भारतीय सेना प्र. मनोज मुकुन्द नरवाँडेलाई अभिनन्दन तथा मानार्थ सेनापति घोषित गर्ने निर्णय गरेर भारतसँग सम्बन्ध नबिग्रिएको सन्देश दिएको मात्र होइन मनोज मुकुन्द नरवाँडे यता आउँदा प्रधानमन्त्री कार्यालयमा राखिएको नक्सामा चुच्चा काटेर “नक्सा प्रकरण नाटक मात्र भएको” राष्ट्रियताको ममता भावले एक स्वरमा संविधान संशोधन गर्ने सांसदहरू केवल उनको झुटको खेतीमा गोडमेल गर्ने ज्यामी खेतालामात्र भएको सन्देश समेत दिए ।

केपी ओलीको यस्तो झुटमुठका हजारौँ काण्डहरू छन्, जसको फेददेखि टुप्पासम्म हेर्दै जाँदा जतिखेरपनि माछो समात्न खोज्दा भ्यागुता मात्रै समातिन्छ । तैपनि नानीदेखि लाग्या बानी भनेझैँ केपी ओलीलाई छोड्न नसकेकाहरूको कानमा अलिकति मात्रै पसिदिए हुन्थ्यो । भारतीय पत्रकार आउँदा नक्सा मात्र बुच्चो बनाएन केपी आफैले हेलिकप्टर चार्टर गरेर सगरमाथाको बेसक्याम्प कालापथ्थर पु¥याएर सगरमाथा नेपालको नभई भारतको, र यसको नामसमेत परिवर्तन गर्न भारतीय नागरिकहरूमा जागरण ल्याउनुपर्ने उद्घोष समेत गरेर गए । गणतन्त्र दिवसको दिनमा वितरण गरिएको तक्मामा समेत चुच्चोबुच्चो भयो । सामन्त गोयल आउँदा त एउटा सार्वभौम राष्ट्रको सम्पूर्ण नियम कानून र परम्पराको उल्लङ्घन गरेको पाइन्छ । मध्यरात कूटनीतिक नियोग, दूतावास तथा परराष्ट्र मन्त्रालय समेतलाई जानकारी नदिईकन खुसुक्क भेट्यो । त्यतिखेर सार्वजनिक भएको फोटोमा पनि नक्साको चुच्चो बेपत्ता थियो । जसले उनी साँचो राष्ट्रवादी नभएको जनाउँछ । तैपनि नेपाली राजनीतिमा सफेदपनाको भन्दा पनि झुट्टा र फरेव बिक्छ ।

त्यसैले उनको अराष्ट्रिय झुट–मुठलाई अझै पनि आम नागरिकले चिन्न मुस्किल परिरहेछ । तर जबसम्म उनको नक्कली राष्ट्रवादको मुकुण्डो राम्रोसँग च्यातिन्न तबसम्म देशले स्वाधीनता र स्वावलम्बीपनाको विकाश गर्न मुस्किल पर्ने तथ्य बिर्सनु हुँदैन ।

खासगरि एमालेका नेता कार्यकर्ताहरू देशको श्रीबृद्धीको निम्ति राष्ट्रियताको राग अलाप्दैनन् ! बल्की आफूभन्दा इतरका सबैलाई देश विरोधी देखाएर आफू मात्र संसारकै अव्वल राष्ट्रवादी खेखिँनको निम्ति राष्ट्रियताको वकालत गर्दछन् । त्यसैले यसको आधार अपूर्ण एकाङ्गी तथा दुबिधापूर्ण आधारहीन देखिनु स्वाभाविक नै छ । जस्तो उनीहरू धार्मिक रूपमा क्रिस्चियनीटीलाई पश्चिमाहरूको अतिक्रमण र राष्ट्रिय नीति संस्कृति परम्परा विरोधीको रूपमा चित्रित गर्दछन्, र यसको अपराधीको रूपमा न्यायपूर्ण रूपमा अधिकार माग्ने दलित, तथा आदिवासीहरूलाई आरोपित गर्दछन् र पार्टीको शीर्ष नेताको रूपमा डा. बाबुराम–प्रचण्डलाई दोषारोपण गर्दछन् । तर यसको यथार्थ हेर्दा डलर भित्रिने जातीय रूपमा ८५ प्रतिशत बाहुनहरूको हालीमुहाली छ, र त्यसमा ९० प्रतिशत आई.एन.जी.ओ.मा एमालेकै नेतापत्नीहरुको हालीमुहाली छ । अव अनुमान लगाऊँ यो दृष्टिकोणले केपीको राष्ट्रवादको धोती बाँकी छ कि खुस्कियो ?

त्यस्तै संघीयता, समानुपातिक–समावेशिता आदिलाई विदेशीले बोकाएको गलगाँडको रूपमा असाध्यै व्याख्या गरेको पाउँछौँ । उनीहरू यसलाई राष्ट्रघातको कुँजीको रूपमा व्याख्या गर्दछन्, डा. बाबुराम–प्रचण्ड यसैकारण भारतको वा अमेरिकाको ऐजेण्ट भएको भनिटोपल्छन् । तर यसको यथार्थमा पस्दापनि, समानुपातिक समावेशिताले आम नागरिकमा राज्यप्रति अपनत्व भाव पैदा हुँदै गएको छ भने संघीयताले देशको मूल बजेटले कुना कन्दरामा विकासको निकास भेट्टाएको छ । वर्ग क्षेत्र, लिङ्ग, जाति जनजाति लगायत सम्पूर्ण धर्म संस्कृति र सम्प्रदायहरूले आफूलाई राष्ट्रिय मूल प्रवाहमा भेट्टाउन थालेका छन् के यो कुनै विदेशीको ऐजेण्डा भन्दा कसैले पत्याउने ठाउँ रहन्छ ? अर्थात् जाति जनजाति अल्पसङ्ख्यक समुदायले अधिकार पाउँदा सबै नागरिकहरू समानतामा बाँच्दा ऐठ्ठन पर्ने समुदाय अराष्ट्रिय बन्छ कि सबैलाई समान अवसर प्रदान गर्ने अराष्ट्रिय हुन्छ ?

जहाँसम्म माओवादी आइसकेपछि देशको नीति संस्कृति रीतिरिवाज बिग्रियो भन्ने सवाल छ, माओवादी आइसकेपछि हिजो डाङ्ग्रा, चमार, पोडे वा ज्यापु भोटे आदि भन्दै हेप्दै आएका समुदायलाई आज सम्मानकासाथ उनको नाम लिएर बोलाउनुपर्ने भयो । हिजो बिना ज्याला दाशको रूपमा हली गोठाला बनाउँदै आएका हरुवा चरुवा राख्दै आएका, वादी वा कमलरी राख्दै आएका समुदायहरूलाई आज राख्न नपाइने भयो । उनीहरूलाई काममा लगाउँदा निश्चित रुपैयाँ दिनुपर्ने कडा नियम बस्यो । के यसरी निम्न वर्गले पसिनाको मोल पाउनु, निमेकको ज्याला पाउनु परम्परा विरोधी हुन्छ ? मानवताको उपर्युक्त सन्मान पाउनु चालचलनको विपरीत हुन्छ ? यदि कसैले त्यसो भन्छ भने उनलाई जनविरोधी मान्ने कि नमान्ने ?

राष्ट्रियता एकान्तमा तपस्या गर्दा कसैले नबुझिने शब्दमा बोलिने श्लोक वा सूत्र होइन, यो जीवन व्यवहार हो ! यो अदृश्य कुनाबाट होइन, सदृश्य विधि–प्रकृया र पद्धतिबाट चल्छ । यो अरूलाई सरापेर बिगारेर वा भत्काएर आफ्नो राष्ट्रियता जोगिँदैन, सबैलाई सद्ब्यवहर गर्दै आफ्नो बनाएर राष्ट्रियता जोगिन्छ । जसको निम्ति राष्ट्रिय उत्पादन बढाउने, बेहद अवसरहरूको सिर्जना गर्ने, दलाल तथा नोकरशाही पुँजीको ठाउँमा राष्ट्रिय पुँजीले प्रतिस्थापन गर्ने, शिक्षा स्वास्थ्य लगायत अनेकौँ द्वारबाट बाहिरिने रकमलाई देशमै रोकेर पूर्वाधार निर्माणमा खर्च गर्ने गर्दा राष्ट्रियता जोगिन्छ । जसको लागि यहाँका जाति जनजातिको हातमा रहेका सिपको उपयोग, शिल्प समुदायको मस्तिष्कमा रहेको कलात्मक जादु, नेवार, थारु लगायतका आदिवासी समुदायसँग रहेको व्यापार व्यवसाय लगायत व्यवस्थापनको कलाको २१औँ शताब्दी सुहाउँदो प्रयोग गर्दा नै सम्भव हुन्छ । यसको लागि पृथ्वी नारायणले एकीकरणको नाममा गरेको राज्य विस्तारपछि टुटेको, हजारौँ बर्सदेखिको धर्म संस्कृतिको नाममा झेल्दै आएको जातीय विभेदलाई जरैदेखि निर्मूल गरेर भावनात्मक रूपमा एकीकरणको निम्ति सिर्जना गरिएको संघीतालाई पूर्णता दिने, राज्यको मूल प्रवाहमा आउन नसकेका सम्पूर्ण जाति जनजाति, अल्पसङ्ख्यक लगायत सम्पूर्ण समुदायलाई आरक्षण, समानुपातिक समावेशिताको सिद्धान्तलाई पूर्णता दिने र आआफ्नो परम्परा, संस्कार संस्कृतिप्रति सबैले अपनत्व ग्रहण गराउन पहिचानको मुद्दालाई राज्यले सम्बोधन गर्ने गर्नाले नै हामी राष्ट्रियताको संवर्द्धन र संरक्षण गर्न सक्छौँ । अन्यथा मुखले राम राम बगलीमा छुरा ।

निष्कर्ष

राष्ट्रियता बलियो बनाउन राष्ट्रिय उत्पादन बढाउनुपर्छ, त्यसकालागि देशका सम्पूर्ण जाति जनजातिहरूको भावनात्मक एकता र राज्यमा सबैको समान सहभागिताले नागरिकहरूमा देशप्रति अपनत्व भाव पैदा हुने र त्यसको सकारात्मक सन्देश जान्छ । तर सरकारमा बस्नेहरू श्रमिकहरूको श्रमद्वारा उत्पार्जित वस्तुहरू आफ्नो नाममा पार्न अनेकौँ हर्कत गर्ने, त्यो पनि नसक्दा उत्पादन नै बिनष्ट गर्ने नीतिहरू पारित गर्दै आएका छन् । हरेक सकारात्मक उपलब्धिहरूलाई नकारात्मकढंगले व्याख्या गरेर परम्परा र रीतिरिवाजको निरन्तरताको नाममा पुरानै विभेद र शोषण कायम गर्ने प्रपञ्च हुँदै छ, त्यसको अन्त्यको प्रयास नै वास्तविक राष्ट्रियता हो भन्ने भुल्नु हुँदैन ।

माओवादी आएपछि राष्ट्रियता कमजोर भएको, विदेशीले खेलेको जस्तो कपोलकल्पित तथ्यहीन आरोप पत्याउनु अगाडि माओवादीले कुन असमान सम्धीमा ल्याप्चे ठेकेका छन् ? कुन ढङ्गले नेपाली रकम विदेश पठाउने प्रपञ्च गरेका छन् वा उनीहरुको निर्णयले स्वदेश हित वा विदेश हित के हुने हो राम्रोसँग बिचार गरौँ अनि आरोप लगाऊँ ।

जाति जनजातिहरूको आत्मसम्मान बढाउने पहिचानलाई सुसङ्गत बनाउँदा राष्ट्रियता कमजोर हुने नभई सबैले आ–आफ्नो हक अधिकार आत्मसम्मानका साथ पाएपछि देशप्रतिको दायित्व निर्वाह गर्न सघाउ पु¥याउने र देशोन्नतीमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने हुन्छ । उनीहरुको श्रम र सीपले देश सिँगार्ने अवसर मिल्छ । तर उत्पीडन विरोधी हरेक सवाललाई जातीय सवालको रूपमा निषेध गर्दै समाजमा भ्रमित पार्नु भनेको विभेदकारी परम्पराको निरन्तरता दिनु नै हो यसले देशमा असंगतिमात्र सिर्जना हुन्छ । यसले राष्ट्रियता कमजोर मात्र हुन्छ ।

जाति जनजातिको अधिकारवादी सवालहरूले राष्ट्रियतामा बिखण्डनको सम्भावना देखाउँदै लोकतान्त्रिक उपलब्धिहरूलाई निस्तेज गर्ने खोज्नेहरूले के बुझ्नुपर्छ भने सुगौली सम्धीदेखि हालसम्मको कुनै पनि राष्ट्रघातमा जनजातिहरूको हात छैन । तर जसले राष्ट्र कमजोर बनाउने अपराध गर्छ उसैले अरूलाई विषयपिच्छेको आरोप लगाउँदै आफू चोखो बन्न खोज्नु भनेको आकाशतिर फर्केर चुक्नु, वा कागले आफ्नै नाम काढेजस्तै हो ।

अपराधीहरू त आफ्नो अपराध लुकाउनको निम्ति अरूको किचड छाल्छन् तर आफूले अपराध नगरेका अझ कैयौँ अवस्थामा आफै पनि पीडित भएकाहरू नै एकाध गुलिया भाषण, एकाध सुधारवादी कार्यक्रमको आधारमा अपराधीहरूलाई बोकेर हिँड्दा देशको उन्नति र प्रगति रोकिएको मात्र नभई सिङ्गै राष्ट्रियता नै कमजोर बनेको छ ।

धन्यवाद !

-श्रीराम खाईजु

(भक्तपुर)


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको