वैदेशिक रोजगारी र वर्तमान अवस्था

नेपाल एक गरिब र विकासोन्मुख देश हो, जहाँको अर्थतन्त्र विप्रेषणमा आधारित छ । अर्थात् नेपालको युवाहरूको मुख्य पेसा नेपाल कृषि प्रधान देश भएपनि वैदेशिक रोजगारी रहेको छ। वैदेशिक रोजगारीको तथ्याङ्क हेर्ने हो भने कोरोना महामारीको समयमा लकडाउन पछि ह्वातै बढेको छ ।

नेपालमा पनि लकडाउनको प्रभाव निकै नराम्रोसँग पर्‍यो, जसले स्वदेशमा भएका रोजगारीका अवसरहरू त गुम्यो नै विदेशमा भएका युवाहरू ज्यान जोगाउन भनी नेपाल आए तर नेपालमा अवसरको कमी र पूँजीको अभावमा आफैलाई नेपालमा स्थापित गर्न नसकी कोरोना केही मत्थर हुने बित्तिकै पुन: बिदेशिनुको विकल्प थिएन । युवा त युवा अचेल युवतिहरूको पनि चाहना वैदेशिक रोजगारी बन्दै गएको छ। वैदेशिक रोजगारीमा विद्यमान अवस्था हेर्ने हो भने एकातिर सामाजिक सञ्जालको राम्रा फोटो तथा ठलठूला महलहरूले युवा युवतिहरूको ध्यान मोहित गरिरहेको छ, भने अर्कोतिर वैदेशिक रोजगारीको क्रममा विभिन्न घटनाहरू तथा ठगीमा परी कतिपय घरपरिवारको उठीबास भएको छ ।

नेपाल सरकारले वैदेशिक रोजगारीको क्षेत्रमा कुनै पनि किसिमको मध्यस्थकर्ता एजेन्ट नरहेको अर्थात् दर्तावालाहरू समेतलाई २०७५ अषाढमा नै खारेजी गरिसके भएपनि नेपालको मुख्य वैदेशिक रोजगारी मै मुख्य स्थानको रूपमा रहेको रौतहट जिल्लाको व्यक्तिहरू अझैपनि एजेन्ट कै भर पर्ने कागजात जिम्मा लगाउने ऋण काढेर ल्याएको रकम जिम्मा लगाउने गरेको दिनहुँ सुन्न र हेर्न पाइन्छ। नेपाल सरकारले पहिला त सेवा शुल्क बापत दश हजार १०,०००/- लिन पाउने भनिएको भए तापनि लाखौँ रुपैयाँ लिएर पनि समयमा भिसा नलगाइदिने, पासपोर्ट हराइदिने जस्ता समस्याहरू पनि नभएका पनि होइनन् ।

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारी सम्बन्धी सामान्य प्रकृतिका मुद्दा तथा समस्या हेर्ने अभिभारा प्रमुख जिल्ला अधिकारीलाई दिएको छ, जसअनुरूप जिल्ला प्रशासन कार्यालयको मुद्दा फाँटमा मुद्दाहरू दर्ता भएर बसेको महिनौँ बितिसक्दापनि त्यसको समाधान भएको हुँदैन। त्यसको भित्री कुरा बुझ्दै जाँदा जिल्ला प्रशासन कार्यालयले पटक-पटक एजेन्टलाई उपस्थित गराउन भनी जिल्ल प्रहरी कार्यालयलाई पत्र काटे पनि एजेन्ट उपस्थित गराउन नसकेको र कारण बुझ्दा मान्छे नै फेला नपरेकोले उपस्थित गराउन सकेको कुरा जिल्ला प्रहरी कार्यालयबाट उत्तर आउँछ । डाइरेक्टर म्यानपावर कम्पनीमा सम्पर्क गर्दा जानकारी गराइरहँदा एक त कम पढेलेखेका कति त झन् निरक्षर नै हुन्छन्।

उनीहरुको भनाई अनुसार काठमाडौँ जाऊआउ चिनजान छैन, आफैले प्रक्रिया अगाडी बढाउदा चाँडो भिसा आउँदैन की भने भयको कारण  एजेन्टलाई समात्ने गरेको बताउँछन् । फेरि ती एजेन्टहरूले पनि अनजान नभएर आफ्नै नातागोता पर्ने र गाउँलेहरु नै अधिकांश हुन्छन् । यी त केही मैले झल्को मात्र देखाउने प्रयास गरेको छु। हालसालै रौतहटको बौधिमाई न.पा. वार्ड नं ६ का एक व्यक्तिले सबै प्रक्रिया पुरागरी दुबई गएका थिए। उनले आफूले पाएको काम गर्न नसकेपछि र उनको मानसिक अवस्थामा समेत समस्या देखिएपछि घर फर्कन खोज्दा म्यानपावरले एजेन्टसँग कुरा गर्नु र एजेन्टले एक लाख पचास हजार १,५०,०००/- लिएर मात्र फिर्ता पठाएको र २ महिना मात्रै हुँदापनि निजलाई फर्काउन १,८५०००/- (एकलाख पचासी हजार) मागेकोमा उनको श्रीमतीले जिल्ला प्रशासन कार्यालयको हाताभित्र रहेको आप्रवासी श्रोत केन्द्र आए पश्चात् आप्रवासी श्रोत केन्द्र(MRC) (CMIR)को संयुक्त पहलमा १ महिनाको प्रयासपछि सुरक्षित नेपाल फर्काउन सफल भएको थियो ।

यो त एउटा प्रतिनिधि घटना मात्र हो, यस्ता कैयौँ दृष्टान्तहरु साउदी, कतार, दुबई र मलेसियाको प्रक्रियामा रहेको छ।यस्ता समस्या आउन नदिनको निम्ति वैदेशिक रोजगारीमा जाने व्यक्तिहरु स्वयम पनि शुसूचित तथा राम्ररी सुझबुझ गर्नु आवश्यक छ। विदेशमा पैसाको बोटै छ भन्ने सोच भएका व्यक्तिहरू राम्ररी विदेशीक रोजगारीमा जानु अगाडी बुझ्नु जरुणी छ की विदेशमा १८-२० घण्टा काम गरे जसरी स्वदेशमा पनि गर्न सक्ने हो भने स्वदेशमै पनि त्यति पैसा कमाउन सकिन्छ ।

(लेखक निलु झा आप्रवासी स्रोत केन्द्र रौतहटका सूचना अधिकृत हुन)


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको