काठमाडौंमा मंसिर १८ गते प्रथम विद्यापति स्मृति महोत्सव हुने

काठमाडौं, १५ मंसिर । काठमाडौंमा मंसिर १८ गते शनिबार विद्यापति स्मृति पर्व महोत्सवको आयोजना गरिने भएको छ । कमलपोखरीस्थित अग्रवाल भवनमा डिसेम्बर ४ मा हुने महोत्सवमा प्रमुख अतिथि पूर्व उपराष्ट्रपति परमानन्द झा हुने मैथिल ब्राह्मण महासभा नेपालका अध्यक्ष इन्जिनियर तथा समाजसेवी भगवान् झाले जानकारी दिएका हुन् ।

उनले कलकत्ताबाट मैथिली विकास परिषदका अध्यक्ष अशोक झा, दरभंगा मैथिली विभागका प्रोफेसर तथा विभिन्न संस्थामा आबद्ध प्रो.चन्द्रमोहन झा उर्फ परवा, विहारका अररिया, सुपौल, मधुबनीबाट विभिन्न व्यक्तित्वहरू उपस्थिति रहने बताए ।

उनले जनकपुर, राजविराज, विराटनगर, बिर्तामोड, लहानसहित केही जिल्लाका उच्च व्यक्तित्वहरूलाई आमन्त्रित गरेको समेत जानकारी दिए । महोत्सवमा समाजमा राम्रो काम गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रममा रहेको छ ।

बाबा विद्यापतिलाई पुष्प अर्पित गरेर कार्यक्रमको सुरुवात हुनेछ । मैथिल विद्धानका वक्ता कोकिलले विद्यापतिको जीवनीबारे प्रकाश पार्नेछन् भने यसैबीचमा सांस्कृतिक कार्यक्रम पनि हुनेछ । भारतीय गायक निखिल महादेव र नेपालका गायक प्रदीप पाठक र रुपेशको समूहले प्रस्तुति दिने भएका छन् । कार्यक्रममा मैथिल गीत तथा नृत्यमा पनि स्थानीय कलाकारहरूले प्रस्तुति दिनेछन् ।

झाले पहिलो पटक काठमाडौंमा हुन लागेको विद्यापति पर्व महोत्सव अब प्रत्येक वर्ष हुने बताए । उनले कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको