आधारभूत अस्पताल निर्माणको काम शिलान्यासमा सीमित

भोजपुर, ९ मंसिर । अघिल्लो सरकारले सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले अस्पतालहरूको शिलान्यास गरेको भएपनि कामको प्रगति भने न्यून रहेको छ । शिलान्यास गरिएका अधिकांश अस्पताल निर्माणको काम शिलान्यासमै सीमित भएका छन् ।
कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले सरकारले ०७७ मङ्सिर १५ गते देशभरसंगै भोजपुरका नौ ओटा स्थानीयतह मध्ये सात स्थानीय तहमा अस्पतालको शिलान्यास गरिएको थियो ।

सात ओटा स्थानीय तहहरूमा पाँचदेखि १५ बेडसम्मको आधारभूत स्वास्थ्य अस्पताल शिलान्यास भएका छन् । केन्द्रीय सरकारले नागरिकहरूलाई सहजरुपमा स्वास्थ्य सेवा दिने उद्देश्यले आधारभूत स्वास्थ्य अस्पतालको शिलान्यास गरे पनि निर्माण कार्यमा ढिलाई हुँदा दुर्गम भेगका नागरिक सरकारले प्रदान गर्ने स्वास्थ्य सेवाबाट वञ्चितसमेत बनेका छन् ।

यहाँका पौवादुङमा, अरुण, साल्पासिलिछो, टेम्केमैयुङ, रामप्रसादराई, आमचोक र हतुवागढी गाउँपालिकामा  पाँचदेखि १५ बेडको अस्पताल शिलान्यास गरिएको हो । सात ओटामध्ये पाँच ओटा अस्पतालको मात्र बोलपत्र आह्वानको काम भएको छ । तर निर्माण भने शुरु हुन सकेको छैन । यता अरुण गाउँपालिकाले कात्तिकमा बोलपत्र खुलाएको जनाएको छ, भने रामप्रसादराई गाउँपालिकाको भने जग्गा अभावका कारण सम्पूर्ण काम अलपत्र अवस्थामा रहेको गाउँपालिकाले जनाएको छ ।

पौवादुङमा गाउँपालिकाको अस्पताल निर्माणको काम भने २० प्रतिशत सम्पन्न भएको गाउँपालिका अध्यक्ष किरण राईले बताए । २०७७ फागुन महिनामा रु।चार करोड ८१ लाख १४ हजारमा बोलपत्र आह्वान भइसकेकोले अस्पताल पाँच बेडको निर्माण हुने प्रमुख प्रशासकीय अधिकृत रमेश राईले बताए ।

प्रमुख प्रशासकीय अधिकृत राईले भने, ूहाम्रोमा पाँच बेड क्षमताको अस्पताल निर्माण हुन्छ । यसको लागि आवश्यक प्रक्रिया शुरु भइसकेको छ ।’’ हालसम्म जग बसाल्ने काम भइसकेको उनको भनाइ छ ।

त्यस्तै साल्पासिलिछो गाउँपालिकामा पनि रु। छ करोड ६५ लाख लागतमा पाँच बेडको अस्पताल निर्माणको लागि २०७८ असार महिनामा टेण्डर प्रक्रियाबाट काम सुरु भएको गाउँपालिका अध्यक्ष महेश राईले जानकारी दिए । बर्षातका कारण सामान ढुवानी गर्न यातायातको समस्या हुँदा काममा केही ढिलाई भएको उनको भनाइ छ । बाटो राम्रो भएपछि कामले गति लिने अध्यक्ष राईको दाबी छ ।

अध्यक्ष राईले भने,‘ यहाँ अस्पताल निर्माण कामको प्रक्रिया शुरु भएको छ । वर्षातको कारण काममा  खास प्रगति हुन सकेन । अब निर्माण कामलाई तीव्रताका साथ अघि बढाउने योजना छ ।’

आमचोक गाउँपालिकामा रु।१२ करोड  ५० लाख लागतमा १० बेडको आधारभूत स्वास्थ्य अस्पताल निर्माणको लागि २०७८ बैशाखमा टेण्डर प्रक्रिया सम्पन्न भइसकेको गाउँपालिकाले जनाएको छ । भवनको विस्तृत परियोजना प्रतिवेदन तयार गर्दा केही ढिलाई भएको भएपनि समयमा नै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीसँग कुरा भइरहेको गाउँपालिका अध्यक्ष अशोक राईले बताए । केन्द्र सरकारले पाँच बेडको अस्पताल निर्माणको लागि निर्देशन गरेको भएपनि गाउँपालिकाका जनतालाई मध्यनजर गर्दै गाउँपालिकाको आर्थिक साझेदारीमा दश बेडको अस्पताल निर्माणको काम शुरु गरेको उनको भनाइ छ ।

हतुवागढी गाउँपालिकामा रु। १६ करोड लागतमा  गत असार महिनामा बोलपत्र मार्फत १५ बेड क्षमताको अस्पताल निर्माणको लागि प्रक्रिया शुरु भएको गाउँपालिकाले जनाएको छ ।

सरकारको एक स्थानीय तहमा एक आधारभूत स्वास्थ्य अस्पताल निर्माण कार्यक्रम अन्तर्गत अस्पताल निर्माण गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । अध्यक्ष राईले भने,‘ सरकारको योजना  अनुसार अस्पताल निर्माणको प्रक्रिया शुरु भएको छ । निर्माणको काम भने शुरु भएको छैन । तर काम गर्ने तयारीमा छौँ ।’

अस्पताल अभावका कारण गाउँपालिकाका नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको उनको भनाइ छ । अस्पताल निर्माण पश्चात् आधारभूत स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित हुनु नपर्ने अध्यक्ष राईको भनाइ छ ।

रामप्रसादराई गाउँपालिकाको भने जग्गा अभावका कारण अस्पताल निर्माणको कुनै काम सञ्चालन नगरेको गाउँपालिका उपाध्यक्ष सम्झना राईले बताइन् । राईले भनिन्,‘अस्पताल निर्माणको लागि नौ रोपनी जग्गा आवश्यक पर्ने रहेछ । हामीले भर्खर जग्गा टुङ्गो लगाएका छौँ । अव चाडै अस्पतालको नाममा जग्गा पास गरेपछि अस्पताल निर्माणको काम सुरु हुन्छ ।’

षडानन्द नगरपालिकामा भने १५ बेड क्षमताको गान्धी मेमोरियल अस्पतालबाट सेवा दिँदै आएको नगरपालिकाले जनाएको छ । यस अघि नै  अस्पताल निर्माण भएकाले अर्को अस्पताल निर्माण नगरिएको  नगर प्रमुख बीरबल राईले जानकारी दिए ।

भोजपुर नगरपालिकाकामा भने जिल्ला अस्पताल सञ्चालन भएकाले आधारभूत स्वास्थ्य अस्पतालको काम नगरिएको उपप्रमुख ममिता राईले बताइन् ।

यहाँ ६६ स्वास्थ्य चौकी, ११ आधारभूत स्वास्थ्य सेवा केन्द्र , तीन प्राथमिक स्वास्थ्य केन्द्र, तीन सहरी स्वास्थ्य केन्द्र, सात सामुदायिक स्वास्थ्य इकाई र एक जिल्ला अस्पताल रहेको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख फणिन्द्र थापाले बताए ।

स्थानीय तहमा आधारभूत स्वास्थ्य अस्पताल निर्माणको काम केन्द्र सरकारले  सिधै स्थानीय तहसँग काम गर्ने भएकाले आफूलाई त्यस विषयमा कुनै जानकारी नभएको प्रमुख थापाले बताए।

स्वास्थ्य प्रमुख थापाले भने,‘ स्थानीय तहमा निर्माणको प्रक्रियामा रहेका अस्पतालहरू केन्द्र सरकार मातहत बन्छन् । हामीलाई यसको विषयमा खास जानकारी छैन । स्थानीय तहहरूले नै त्यसको व्यवस्थापन गरिरहेका छन् ।’

सरकारले जनतालाई आधारभूत सेवा दिने लक्ष्यले शुरुवात गरेको काममा ढिलाई हुनु दुःखत रहेको स्थानीयहरूले बताउने गरेका छन् । कामलाई तोकिएको समयमा सम्पन्न गराउनको लागि सरोकारवाला पक्ष जिम्मेवार भएर लाग्नु पर्ने रामप्रसाद गाउँपालिकाका स्थानीय अविषेक मगरले बताए ।

मगरले भने,‘ सरकारले जनताको स्वास्थ्य सेवालाई ध्यानमा राख्दै थालेका यस्ता कामलाई समयमा सम्पन्न गराउन पर्ने दायित्व  स्थानीय सरकारको हो । आधारभूत अस्पताल नहुँदा जनताले अकालमा ज्यान गुमाउनु पर्ने अवस्था छ । शिलान्यास भएको छ महिना हुन लाग्यो तर कामको प्रगति शून्य छ प्रायः  । यस्ता महत्त्वपूर्ण कामलाई प्राथमिकताका साथ अघि बढाउनु पर्ने  हो । बेवास्ता गरेजस्तो देख्छु । धेरै स्थानीय तहले कामको प्रक्रियामा ढिलाई गरिरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको