नेपाल बंगलादेश बैकद्वारा मकवानपुरगढीमा किसान लोन कार्ड वितरण

काठमाडौं, २८ असार । नेपाल बंगलादेश बैकले मकवानपुगढी गाउँपालिकामा किसान कृषि लोन कार्ड वितरण गरेको छ । मकवानपुर जिल्लाको उक्त गाउँपालिकामा बैंक, आर एण्ड डी इनोभेटीभ सोलुसन, मकवानपुरगढी गाउँपालिका र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समितिबिच भएको चौ–पक्षीय सम्झौता अनुसार गाउँपालिकाको अध्यक्ष विदुर हुमागाईँले किसान कृषि लोन कार्ड हस्तान्तरण गरी २५ गतेबाट लगानीको सुरुवात गरेको जनाएको छ ।

बैंकको अनुसार यसबाट पहिलो चरणमा मकवानपुरगढी गाउँपालिका वडा नं ३ का २५ जना कृषकहरू लाभान्वित हुने छन् । यस योजना अन्तर्गत बिना धितो, एक प्रकारको व्यवसाय गर्ने र एउटै क्षेत्रका किसानहरूलाई सहुलियतपूर्ण कृषि कर्जा प्रदान गर्ने भएको छ ।

बैंकको अनुसार कृषकहरूले कर्जाको साथै त्यति नै सीमा बराबरको क्यूआर कोड अङ्कित किसान कृषि लोन कार्ड बैंकबाट प्राप्त गर्नेछन् । उक्त कार्डबाट कृषकहरूले सामान खरिद गर्दा कार्डको क्यू आर कोडबाट भुक्तानी गर्न सक्नेछन् ।

नगद रहित विद्युतीय भुक्तानी प्रणालीलाई प्रवर्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउने उद्देश्य सहित नेपाल बङ्गलादेश बैंकले सीमान्तकृत ग्रामीण भेगका कृषकहरूलाई पनि समेटेर यो योजना ल्याएको बैंकले जनाएको छ ।

बैंकको अनुसार पहिलो चरणमा पाइलट प्रोजेक्टको रूपमा मकवानपुरगढीे गाउँपालिकाबाट शुरु गरी नेपाल अधिराज्यभरीनै यस किसिमको कर्जा विस्तारित गर्दै ग्रामीण भेगका कृषकहरूलाई विद्युतीय माध्यमबाट बैंकिङ्ग कारोबार गर्न प्रोत्साहन गर्नुका साथै कृषकहरूको जीवनस्तर उकास्न सहयोग गर्ने पनि जनाएको छ । हाल बैंकले ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएम बाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको