नेपालमा नम्बर एक बैकल्पिक पार्टी बनाउने संकल्पकासाथ जनता समाजवादी प्रदेश नं. १ को समायोजन कार्यक्रम सम्पन्न 

सुनसरी, ०८ मंसिर। सुनसरी जिल्लाको इटहरीमा मंगलबार नेपालमा नम्बर एक वैकल्पिक पार्टी बनाउने संकल्पकासाथ जनता समाजवादी पार्टी नेपालले समायोजन कार्यक्रम सम्पन्न गरेको छ। पूर्व समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबिच मंगलबार एक कार्यक्रमको गरेर १३३ सदस्यीय प्रदेश नम्बर १ कमिटी घोषणा गर्दै समायोजन सम्पन्न गरेको हो ।

जसपा नेपालको समायोजन हुँदै आएपनि प्रदेश नम्बर १ मा भने समायोजनको कार्य बाँकी रहेको थियो। जसपा प्रदेश नम्बर १ ले सुनसरी जिल्लाको इटहरीमा एक कार्यक्रम गर्दै प्रविण चाम्लिङको अध्यक्षतामा १३३ सदस्यीय प्रदेश कमिटी चयन गरेर समायोजनको कार्य सम्पन्न गरेको हो। समायोजित नयाँ बनेको प्रदेश नम्बर १ को अध्यक्षमा प्रवीण चाम्लिङ रहनु भएको छ। चाम्लिङ विगत पूर्व समाजवादी पार्टीको तर्फबाट प्रदेश नम्बर १,  प्रदेश कमिटीमा अध्यक्ष पदको जिम्मेवारी समाल्दै आउनु भएको थियो। मंगलबार समायोजित प्रदेश नम्बर १ कमिटीमा अध्यक्ष पदको लागि पुन: चयन हुनुभएको हो। साथै समायोजन पश्चात् जसपामा गुटको रानीति नचल्ने र जसपा आगामी दिनमा एक ढिक्का भएर मिलेर अगाढी बढ्नेमा आफू ढुक्क रहेको बताउनु भयो।

यसैगरी पूर्व समाजवादी पार्टीकै तर्फबाट मुख्य सचिवमा प्रभुराम श्रेष्ठ सर्वसम्मत चयन हुनु भएको छ। डा. बाबुराम भट्टराईको तत्कालीन  नयाँशक्ति पार्टीबाट राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएका श्रेष्ठ पूर्व समाजवादी पार्टीको प्रदेश नम्बर १, प्रदेश कमिटीका मुख्य सचिव पदमा हुनुहुन्थ्यो। मंगलबार समायोजित जसपामा पनि प्रदेश कमिटी मुख्य सचिव पदमा चयन हुनुभएको छ।

नव निर्वाचित मुख्य सचिव प्रभुराम श्रेष्ठले आज चयन हुनु भएको सबै प्रदेश कमिटीलाई बधाई एवं शुभकामना आदानप्रदान गर्दै आगामी दिनमा जसपा नेपाल नेपालकै एक नम्बर पार्टी बनाउने र देशको बागडोर पनि जसपाले नै नेतृत्व गर्ने विश्वास व्यक्त गर्नु भयो। नेपालमा काँग्रेस, एमाले, माओवादी र अन्य पार्टीहरूमा राजनैतिक खडेरी परेको तथा नेपालको नेतृत्व गर्नै नसक्ने गरी बुढो भइसकेको हुँदा नेपालको राजनीति शुद्धीकरण गर्दै देशलाई समृद्ध बनाउन आफू र आफ्नो पार्टी लागि पर्ने बताउनु भयो।

कार्यक्रलाई सम्बोधन गर्ने क्रममा नेता श्रेष्ठले भन्नु भयो, “गुटको राजनीति सकिएको छ, त्यसतर्फ कोही पनि नलाग्न र पार्टीको स्पिरिट, पार्टीको मूल्य मान्यतालाई आत्मासाथ गर्दै नेपालको आर्थिक समृद्धीमा लग्न आग्रह गर्दछु।”

त्यसै गरि नेता परशुराम बस्नेतले पार्टीले संचालन गरिरहेको सुज अभियानमा सशक्त भएर लग्न र सुज अभियानलाई सफल पार्न आग्रह गर्दै धर्मको नाममा जथाभावी नबोल्न समेत आग्रह गर्नु भयो।

आज समायोजित जनता समाजवादी पार्टी नेपाल, १ नम्बर प्रदेश कमिटीमा राजपाबाट समेत थप गरेर  प्रविण चाम्लिङको नेतृत्वमा दुई उपाध्यक्ष, दुई सचिव थप गर्दै जम्मा १३३ सदस्यीय प्रदेश नम्बर १ कमिटी घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको