हरुवा चरुवा अधिकार मंचद्वारा २४ पालिकालाई ज्ञापन पत्र

वीरगंज, ०७ मंसिर। राष्ट्रिय दलित नेटवर्कको सहजीकरणमा गठित हरुवा चरुवा अधिकार मञ्चले एकै दिन प्रदेश नं. २ का ६ जिल्लाका २४ वटा पालिकाहरूमा विभिन्न माग राखी ज्ञापन पत्र बुझाएको छ । प्रदेश नं. २ का पर्सा, बारा, रौतहट, धनुषा, सिराहा र सप्तरीका २४ पालिकाहरूमा हरुवा चरुवा अधिकार मञ्चका पालिका समितिहरूले बाध्यकारी बधुवा श्रममा आधारित एउटा शोषणमूलक दास प्रथाको रूपमा रहेको हरुवा चरुवा प्रथा अन्त्य गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

उक्त समितिहरूद्वारा विभिन्न पालिकाहरूमा पेस गरिएको ज्ञापन पत्रमा दास प्रथाको अवशेषको रूपमा रहेको कृषि बधुवा श्रमिकहरू हरुवा चरुवाहरूको नागरिकता, जन्मदर्ता, सामाजिक सुरक्षा भत्ता लगायतका सवालहरूलाई सहज ढङ्गले सम्बोधन गर्न माग गरिएको छ । हरुवा चरुवाहरूको पहिचान, प्रमाणीकरण र परिचयपत्र बितरण गरियोस् साथै हरुवा चरुवाहरू भूमिहीन भएकोले भूमि माथि उनीहरूको स्वामित्व कायम गर्न ज्ञापनपत्रमा उल्लेख छ ।

हाल स्थानीय सरकारहरूबाट नै सम्बोधन हुन सक्ने खालका विभिन्न मागहरू जस्तै हरुवा चरुवाहरूको आय आर्जन प्रवर्द्धन गर्नका लागि जीबिकोपर्जन सीप विकास तालिमहरूमा समेत उनीहरूको पहुँच कायम गरियोस् भने मागहरू ज्ञापन पत्र मार्फत प्रस्तुत गरिएको राष्ट्रिय दलित नेटवर्कका जनवकालत अधिकारी रूपनारायण पासवानले बताए ।

सदियौँदेखि हरुवा चरुवा प्रथाबाट प्रताडित भई सामाजिक, आर्थिक राजनीतिक र शैक्षिक दृष्टिले पिछाडि परेकाहरूलाई राज्यको मूलधारमा ल्याउनु राज्यको प्रमुख दायित्व भएकोले हाम्रा मागहरू अविलम्ब सम्बोधन हुनु पर्ने हरुवा चरुवा अधिकार मंच बिरगंजका अध्यक्ष जयप्रकाश माझिले बताए ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको