शुक्रबार ११ जेठ, २०८१

नेपाली समय

नीति तथा कार्यक्रमबाट लघु उद्यम विकास कार्यक्रम नहटाउन माग

नीति तथा कार्यक्रमबाट लघु उद्यम विकास कार्यक्रम नहटाउन माग

काठमाडौं, ९ जेठ । राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपालले सरकारको नीति तथा कार्यक्रमबाट लघु उद्यम विकास कार्यक्रम नहटाउन माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अहिलेको बेरोजगारीको समस्या व्याप्त भइरहेको आवस्थामा लघु उद्यम विकास कार्यक्रम एकदमै प्रभावकारी भइरहेको भन्दै यसलाई नहटाउन ध्यानाकर्षण गराएको हो । आर्थिक मन्दीको कारण देखाउँदै लाखौँ साना उद्यमीलाई मारमा नपार्न उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपालकी अध्यक्ष देवकी घिमिरेले सरकारले लघु उद्यम विकास कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको बताइन् । आर्थिक मन्दीको आधार देखाएर राज्यले विभिन्न क्षेत्रको अनुदान कटौती गरिरहेको अवस्थामा लघु उद्यमसँग सम्बन्धित कार्यक्रम नहटाउनका लागि आफूहरूले खबरदारी गरेको उनले बताइन् ।

‘हामीहरूले उद्यम सिर्जना गर्नुपर्ने ठाउँमा उद्यमीहरूको भविष्य कतातिर गइरहेको छ ? भनेर ध्यानाकर्षण गराउनुपर्ने अवस्था आएको छ । विभिन्न किसिमका टिक्काटिप्पणीहरु यस विषयमा उठ्न सक्ला ।’ उनले भनिन्,‘हामीले मिडियाहरूबाट आएका समाचारका आधारमा अहिले आर्थिक मन्दीमा विभिन्न किसिमका अनुदानका कार्यक्रमहरू कटौती गर्ने कुरा भइरहेको हुँदा कतै यो (लघु उद्यम विकास) कार्यक्रम पनि सरकारको यस नजरभित्र परेको त होइन ? भनेर सरकारलाई ध्यानाकर्षण गराएको हो ।’

उक्त कार्यक्रम स्थानीयस्तरमा एकदमै प्रभावकारी रहेको उनको भनाई छ । उक्त कार्यक्रमको आधारमा बेरोजगार, गृहिणी, महिलालगायतले पनि रोजगारी पाएको र लघु उद्यममार्फत आयआर्जनको बाटो अवलम्बन गरिरहेको उनको भनाई छ ।

‘यो कार्यक्रम एकदम प्रभावकारी छ । उद्यमीहरूले उत्पादनलाई व्यवस्था पन र विभिन्न किसिमका कठिनाईहरु सरकारले सुनोस् भनेर सरकारलाई हामीले ध्यानाकर्षण गराएको हो,’– उनले भनिन् ।

सरकारले साना–साना उद्यम÷व्यवसायलाई प्रवर्द्धन, व्यवस्थापन गर्न र बजारीकरण गर्न आवश्यक रहेको उनले बताइन् । कुन सरकारको पालामा ल्याइएको भन्ने हेरेर भन्दा पनि यसको प्रभावकारिताको आधारमा निरन्तरता दिनका लागि उनले आग्रह गरिन् । बरु उक्त कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि नेपाल सरकारले आवश्यक कदम चाल्न आवश्यक रहेको उनको भनाई छ ।

त्यसैगरी ध्यानाकर्षण कार्यक्रमका प्रमुख अतिथि, लघु उद्यम कार्यक्रम विशेषज्ञ राजन केसीले अहिले देशमा रहेको विभिन्न समस्यामध्ये बेरोजगार समस्या मुख्य भएको बताए । स्थानीयस्तरका स्रोत र साधनलाई परिचालन गरेर विपन्न वर्गलाई पनि उद्यमी बनाउनका लागि उक्त कार्यक्रम प्रभावकारी रहेको उनको दाबी छ । विपन्न वर्गको आर्थिक अवस्था उकास्नका लागि लघु उद्यम कार्यक्रममार्फत राज्यले उद्यमीलाई सामाजिक परिचालन, उद्यमशीलता, लगानीमा पहुँच, बजारीकरण, प्रविधि र सल्लाह दिन आवश्यक रहेको उनको भनाई छ ।

‘विपन्न वर्गको आर्थिक स्थिति उकास्नका लागि एउटामात्रै कुराले पुग्दो रहेनछ । त्यसका लागि सामाजिक परिचालन, उद्यमशीलता, लगानीमा पहुँच, बजारीकरण, प्रविधि र उनीहरूलाई बेलाबेलामा सल्लाह/सुझाव दिने वातावरण मिलेको खण्डमा स्थानीयस्तरमा उपलब्ध भएका साधन तथा स्रोतको परिचालन गरेर आयआर्जन गर्न सकिन्छ,’–उनले भने ।

अहिले नेपाल सरकारले उक्त क्षेत्रमा काम गरिरहेको भएपनि त्यो पर्याप्त नभएको उनले बताए । सरकारले रोजगार सिर्जना गर्दा साँढे दुई अर्ब पैसाले एक सय जनालाई मात्रै रोजगार सिर्जना गर्न सक्ने उनको भनाई छ । सरकारकाको साँढे दुई अर्ब बजेटले लघु उद्यम कार्यक्रम मार्फत् करिब एक लाख पचास हजार रोजगार सिर्जना गर्न सकिने उनको दाबी छ ।

आर्थिक विपन्नता भएका वर्गहरूलाई उक्त कार्यक्रममा जोडेर उद्यमी बनाउन आवश्यक रहेको उनले बताए । विपन्न वर्गलाई उद्यमी बनाउन र बेरोजगारलाई रोजगारी प्रदान गर्नका लागि लघु उद्यम विकास भन्दा अर्को कार्यक्रम नभएको उनको दाबी छ । यस कार्यक्रमका लागि नेपाल सकारले लगानी बढाउन र कार्यक्रमको प्रभावकारी कार्यान्वयनको अर्को विकल्प नभएको उनको भनाई छ ।

राष्ट्रिय उद्यमिता सहजकर्ता महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष प्रेमराज जोशीले लघु उद्यम विकास कार्यक्रमले देशबाट गरिबी निवारण, वैदेशीक पलायनबाट रोक र देशको आर्थिक विकासको मेरुदण्डको रूपमा काम गरिरहेको बताए । सरकारको नीति तथा कार्यक्रममा लघु उद्यमीको माग र आवश्यकताहरुलाई खुम्च्याउन नहुने उनको भनाई छ ।

‘सरकारमा जोसुकै हुनुहुन्छ, जुनसुकै पार्टीको हुनुहुन्छ, हामीले हेर्ने भनेको बिरालोले मुसा मार्यो कि मारेन भन्ने मात्रै हो । बिरालोको रङ्ग सेतो कि कालो भनेर हामी हेर्दैनौंं । सात सय ५३ वटै पालिकामा यो कार्यक्रम सँगसँगै दक्ष जनशक्तिको रूपमा रहेको सिटीभिटीबाट लेवल टु, लेवल थ्री, डिप्लोमा कोर्ष गरेका उद्यम विकास सहजकर्ताहरु कार्यरत हुनुहुन्छ ।’ उनले भने,‘उनीहरुको भविष्य कार्यक्रमसँगै कतातिर गइराखेको छ ? यसमा सरकारको ध्यानाकर्षण होस् भनेर आजको कार्यक्रममा हामी भेला भएका छौं ।’

साथै, देशको उद्यम विकासका लागि उद्यम विकास सहजकर्ताहरुले गरेका कामको अनुगमनका लागि सम्बन्धित पालिकामा जान पनि उनले सकारसमक्ष आग्रह गरे ।

‘देशलाई औद्योगीकरणको रूपमा लानका लागि दक्ष जनशक्तिको रूपमा रहेका उद्यम विकास सहजकर्ताहरुले गरेको कामको परिणाम हामीले तपाईँहरुको अगाडि ल्याइसकेका छौं । त्यसलाई सर्टिफाई गर्न कतै जान पर्दैन, नेपाल सरकारले सम्बन्धित पालिकामा गएर अनुगमन गरे पुग्छ,’– उनले भने ।

देशलाई औद्योगीकरण नगरेर व्यापारीकरणको बाटोमा लैजाने सरकारको नीतिका बारेमा आफूहरूले पटक–पटक खबरदारी गरिरहेको उनको भनाई छ ।

लघु उद्यमी श्रीदेवी श्रेष्ठले लघु उद्यम कार्यक्रम स्थानीय तहका प्रत्येक घरघरमा पुगेको र यो महिलाहरूका लागि एकदमै प्रभावकारी भएको बताइन् ।

‘यो कार्यक्रम स्थानीय तहका गएर प्रत्येक घरघरमा पुगेको छ र प्रत्येक घरको महिलाहरूमा पुगेको छ । बेरोजगार भएर बसेर पुरुषको आशामा पालिनु परेको छ । घरमामात्रै सीमित भएर बस्नुपरेका महिलाहरुलाई कसरी अगाडि बढाउन किन्छ भन्ने कुरामा हामीले यो कार्यक्रमलाई बुझेका छौं,’– उनले भनिन् ।

लघु उद्यमी ट्रेनिङ लिएर आफूहरू स्वावलम्बी बनेको उनले बताइन् । उक्त तालिमपछि आफूहरूले महिला समूह मिलेर व्यवसाय सुरु गरेको पनि उनले सुनाईन् । आफूहरूले बेसिक लेवलको तालिममात्रै लिएकाले एड्भान्स तालिमको अपेक्षा गरेकोसमेत उनले बताइन् ।

उद्यमी समिता खनालले आफूहरूले यस कार्यक्रमबाट सिकेर पोते, क्रिष्टलको माला बनाउने काम गरिरहेको बताइन् । उनले आफूले सिकेको काममा आमा, काकी र ठूलो ममीहरुलाई समेत सहभागी गराएर स्वावलम्बी बनाएको बताइन् ।

लघु उद्यमी दिनेश विशुंके लघु उद्यमीहरूले अहिले आफ्नो लगानी भन्दा पनि कम रेटमा उत्पादन बेच्नुपर्ने अवस्था रहेको बताए । सरकारले यस समस्यालाई समाधान गर्नेतर्फ ध्यान दिन आवश्यक रहेको उनको भनाई छ । लघु उद्यमीहरूसँग लगानीको अभाव रहेको पनि उनले बताए । उद्यमीलाई बजारीकरणको तालिम प्रदान गर्नुपर्ने र लघु उद्यमीबाट उत्पादित उत्पादन बिक्री वितरणका लागि छुट्टै बजारको व्यवस्था भएको खण्डमा समस्या समाधान हुनसक्ने उनको भनाई छ ।

लघु उद्यमी सरला सुवालले यस  कार्यक्रमबाट महिलाहरुलाई विशेष सहयोग पुगेकोे बताइन् । गरिबी निवारणका लागि महिलाहरुलाई स्वरोजगार र उद्यमशील बनाउन आवश्यक रहेको उनको भनाई छ । सरकारले लघु उद्यमीलाई ऋण र बजारीकरणको व्यवस्था गर्नु अहिलेको आवश्यकता रहेको उनले बताइन् ।

पदम मग्रातीले देशमा लघु उद्यमबाट गरिबी र बेरोजगारीको समस्यामा रहेकाहरुको समस्या सम्बोधन भइरहेको बताए । त्यसलाई निरन्तरता दिनका लागि सरकारले विशेष ध्यान दिन आवश्यक रहेको उनको भनाई छ ।

राष्ट्रिय उद्यमिता सहजकर्ता महासंघ नेपालका उपाध्यक्ष शान्ता विकले लघु उद्यमको माध्यमबाट बेरोजगारीको समस्या समाधान गर्न आवश्यक रहेको बताइन् । उद्यम विकास सहजकर्ताहरु जागिरकै लागिमात्र नलडेको उनको भनाई छ ।

देशको अर्थतन्त्रलाई अगाडि बढाउनका लागि उद्योग र उद्यमी आवश्यक हो भन्ने कुरा राज्य आफैँले बुझ्न आवश्यक रहेको उनले बताइन् । उद्यम विकास सहजकर्तालाई व्यवस्थापन गर्नका लागि राज्यले अपनत्व ग्रहण गर्न आवश्यक रहेको उनको भनाई छ । अहिलेको विषम परिस्थिति र आर्थिक संकटको अवस्थामा राज्यले उद्यमको क्षेत्रमा बजेट काट्नु गम्भीर विषय भएको उनको बुझाई छ । राज्यले आफूहरुको माग सम्बोधन गर्न नसकेको खण्डमा आफूहरू आन्दोलनमा उत्रिने उनले चेतावनी दिईन् ।

उद्यम विकास अधिकृत कृष्णमाया रिजालले सरकारले विशेष महत्त्व दिनपर्ने कार्यक्रमलाई बेवास्ता गरेको  उनको आरोप छ ।

‘लघु उद्यम विकास कार्यक्रमहरू नेपाल सरकार, स्थानीय तह र राज्यले विशेष प्राथमिकतामा राख्नुपर्ने कार्यक्रमलाई किन प्राथमिकतामा राखिएन ? यो गम्भीर विषय हो,’– उनले भनिन् ।

कार्यक्रमको सञ्चालन राष्ट्रिय उद्यमिता सहजकर्ता नेपालकी सचिव गीता कुमारी कोइरालाले गरेकी थिइन् । कार्यक्रममा लघु उद्यमीहरूले उत्पादन गरेका उत्पादनसमेत प्रदर्शनीमा राखिएको थियो ।