सर्लाही, २३ भदौ । यो पुस्ता साँच्चै विपत्ति सहन सक्ने अनुभवी पुस्ता हो। २०५० साल देखी अहिलेसम्म आइपुग्दा यो पुस्ताले सामान्य जीवन मात्रै बिताएको छैन, समय–समयमा आएका राजनीतिक परिवर्तन, प्राकृतिक विपत्ति, महामारी, आर्थिक सङ्कट र सामाजिक उतारचढावलाई नजिकबाट भोग्दै आएको छ। एउटा विपत्तिको घाउ निको नहुँदै अर्को विपत्तिको लगातार सामना गर्नुपर्ने अवस्था यस पुस्ताको नियति जस्तै बनेको छ। प्रकोप , सामाजिक तथा राजनैतिक उतारचढाव र सङ्कट त आउँछ तर यति छिटो - छिटो भोग्नु पर्ने यो पुस्ता निकै जिम्मेवार रहेछ भन्न सकिन्छ ।
वि.सं. २०५२ सालदेखि सुरु भएको १० वर्षे जनयुद्ध यो पुस्ताले देखेको भोगेको ठूलो राजनीतिक र सामाजिक विपत्ति थियो। त्यस समयमा धेरै मानिसहरूले ज्यान गुमाए, धेरै परिवार विस्थापित भए र धेरैको जीवनमा कहिल्यै नमेटिने पीडा थपियो। त्यो समयको डर, त्रास र पीडा भोगेको पुस्ता आज पनि त्यसलाई सम्झिँदा झस्किन्छ।
त्यसपछि देशमा अर्को ठूलो राजनीतिक परिवर्तन भयो। वि.सं. २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्य भयो र नेपाल गणतन्त्रमा प्रवेश गर्यो। एउटा व्यवस्था अन्त्य भएर अर्को व्यवस्था सुरु भएको ऐतिहासिक परिवर्तन पनि यही पुस्ताले देख्यो। आशा र अपेक्षासँगै राजनीतिक अस्थिरता र परिवर्तनका अनेकौँ उतारचढाव पनि यही पुस्ताले सहँदै आयो। राजतन्त्र देखि गणतन्त्र सम्मको यात्रा साथै महत्त्वपूर्ण दस्ताबेज नेपाल को संविधान २०७२ लाई समेत यहीँ पीढीले नजिक चियो गर्यो ।
प्राकृतिक विपत्तिले पनि यो पुस्तालाई पटक–पटक सताइरह्यो। कोशी तथा सप्तकोसी क्षेत्रमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति गर्यो। सयौँ घरपरिवार विस्थापित भए। बाढीले घर मात्र बगाएन, मानिसका वर्षौँका सपना, सम्पत्ति र जीवनयापनका आधारसमेत बगायो उर्भर भुमि मरुभूमि बन्यो सडक यत्रामा निकै लामो समय सम्म कष्ट भोग्न बाध्य हुनुपर्यो ।
त्यसैगरी काभ्रेमा बहने रोशी खोला निकै शान्त र रमणीय मानिन्छ तर अविरल वर्षा र बाढीले पनि स्थानीय बस्तीमा ठूलो असर पार्दै आएको छ त्यो दुःख लाई यस पुस्ताले सम्झन पनि सकिरहेको छैन । खोलानाला र नदीको बहाव बढ्दा घर, खेतबारी तथा सडकमा क्षति पुग्ने र हजारौँ मानिसहरू विस्थापित हुनुपर्ने अवस्था पटक–पटक दोहोरिएको छ।
अझै ठूलो प्राकृतिक विपत्तिका रूपमा वि.सं. २०७२ सालको महाभूकम्पलाई कसरी बिर्सन सकिन्छ र? २०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पले हजारौँ मानिसको ज्यान लियो, लाखौँ घरमा क्षति पुर्यायो र धेरै परिवारलाई घरबारविहीन बनायो। भूकम्पले जमिन मात्रै हल्लाएन, त्यो भयावह परिस्थितिले प्रत्येक नेपालीको मनसमेत हल्लाइदियो।
भूकम्पको पीडाबाट देश उठ्न खोजिरहेको अवस्थामा भारतले नेपालमाथि लगाएको नाकाबन्दीले जनजीवन झनै कष्टकर बनायो। इन्धन, औषधि, खाद्यान्नलगायत अत्यावश्यक वस्तुको अभाव भयो। लामो लाइन, अभाव र दुःखको त्यो समय पनि यही पुस्ताले भोग्यो पक्कै पनि यो पुस्ता ले धेरै गुमायो केही अनुभूति महसुस गरेको छ ।
केही सहज बनेको विद्युतको पहुँच ले जनजीवन सरल हुन खोज्दै गर्दा १८ घण्टा सम्म को निरन्तर लोडसेडिङ को मार पनि भोग्न बाध्य हुन पर्यो।
समय अगाडि बढ्दै गयो, तर विपत्तिले यो पुस्तालाई छोडेन। सन् २०२० बाट सुरु भएको कोभिड महामारीले संसारलाई नै त्रसित बनायो। नेपालमा पनि बन्दाबन्दी भयो, विद्यालय बन्द भए, व्यापार–व्यवसाय ठप्प भए, रोजगारी गुम्यो र धेरैले आफ्ना आफन्त गुमाए। रोगको डरदेखि आर्थिक सङ्कटसम्म यो पुस्ताले सबै कुरा सहनुपर्यो।को आफ्नो को अर्को नजिक बस्ने र आपसमा दुःख साट्न समेत सकेनन् ।
त्यसपछि काठमाडौं उपत्यकामा आएको भीषण बाढी तथा डुबानले पनि अर्को चिन्ता थप्यो। अविरल वर्षापछि नदी तथा खोलाहरूमा पानीको बहाव बढ्दा काठमाडौँका विभिन्न क्षेत्रमा बाढी पस्ने, सडक तथा बस्ती डुबानमा पर्ने र जनजीवन प्रभावित हुने अवस्था देखियो। राजधानीजस्तो ठाउँसमेत प्राकृतिक विपत्तिबाट सुरक्षित छैन भन्ने सन्देश यस्ता घटनाले दिएका छन्।
पछिल्लो समय जेएनजी आन्दोलनबाट देशको राजनीतिक अवस्थामा आएको परिवर्तनले फेरि अर्को राजनीतिक मोड देखायो। आन्दोलन, असन्तुष्टि र त्यसबाट उत्पन्न परिस्थितिले सरकार परिवर्तनसम्मको अवस्था सिर्जना गर्यो। यसले पनि यो पुस्ताले राजनीतिक परिवर्तनका अनेकौँ उतारचढाव अझै भोग्दै आएको देखाउँछ। राजतन्त्र देखि गणतन्त्र सम्म को यात्रा अनुभूति गर्दै गरेको यो पीढी युवा सरकार को अगुवाइलाई सूक्ष्म तरिकाले तुलनात्मक अध्ययन गर्दै छ ।
अझै प्राकृतिक विपत्तिको अर्को ठूलो चोट नेपाल बाट मात्रै होइन कि छिमेकी मित्र राष्ट्र तिब्बत क्षेत्रमा भएको हिमताल विस्फोटबाट आयो। त्यसबाट आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, पर्सालगायतका जिल्ला प्रभावित भए। हजारौँ घरपरिवार विस्थापित भए भने ठूलो जनधनको क्षति भयो। एउटा विपत्तिबाट उठ्दै गर्दा अर्को विपत्तिले फेरि थला पार्ने अवस्था दोहोरिइरह्यो।
यी सबै घटनालाई फर्केर हेर्दा लाग्छ—यो पुस्ताले के मात्रै भोगेन? १० वर्षे जनयुद्धदेखि राजतन्त्रको अन्त्य र गणतन्त्रको उदयसम्म, कोशीको बाढीदेखि रोशी खोलाको बाढीसम्म, काठमाडौँको बाढी र डुबानदेखि महाभूकम्पसम्म, नाकाबन्दीदेखि कोभिड महामारीसम्म र पछिल्ला राजनीतिक तथा प्राकृतिक विपत्तिसम्म—यो पुस्ताले धेरै कुरा सहँदै आएको छ।
अब अझै के–के भोग्नुपर्ने हो यो पुस्ताले?
के अब आउने दिनहरूमा पनि विपत्ति, अस्थिरता र सङ्कटको चक्र यसरी नै दोहोरिइरहने हो? कि अब हामीले विगतबाट पाठ सिकेर देशलाई विपत्तिसँग जुध्न सक्ने, नागरिकलाई सुरक्षित राख्न सक्ने र बलियो आधार बनाउने हो?
यो पुस्ता साँच्चै विपत्ति सहन सक्ने अनुभवी पुस्ता बनिसकेको छ। तर अब आउने पुस्ताले पनि यस्तै पीडा, अभाव र सङ्कट भोग्न नपरोस्। हाम्रा सन्ततिले इतिहास पढ्नू, तर इतिहासका पीडा आफैँले भोग्न नपरोस् भन्ने कोण बाट समस्या लाई निकास दिने तर्फ योजना हुन आवश्यक छ ।
अब प्रश्न विपत्ति कहिले आउँछ भन्ने मात्र होइन,
विपत्ति आउँदा नागरिकलाई कसरी सुरक्षित राख्ने भन्ने हो।
- तीर्थ राज पौडेल (नबराज)
लालबन्दी ५ सर्लाही
(प्रस्तुत प्रकाशित लेख लेखको निजी विचार हो।)