शनिबार २४ असोज, २०८३

नेपाली समय

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानले तोक्यो सूचना अधिकारी

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानले तोक्यो सूचना अधिकारी

कीरितपुर, २२ भदौ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान डीनको कार्यालयले प्रशासन प्रमुखलाई सूचना अधिकारी तोकेको छ । अध्ययन संस्थान कार्यान्वयन समितिको भाद्र १७ गतेको बैठकको निर्णय नं. ५८२४ बमोजिम प्रशासन प्रमुख निर्मल मिश्रलाई भाद्र १८ गते सूचना अधिकारीको जिम्मेवारी दिएको कार्यालयले जनाएको छ ।

सूचना अधिकारीलाई डीन कार्यालयबाट प्रवाह हुने सेवा सम्बन्धमा कार्यालयसँग सम्बन्धित सूचनाहरू सार्वजनिक गर्न, व्यवस्थापन गर्न र माग भएका सूचनाहरू कानून बमोजिम उपलब्ध गराउने प्रयोजनका लागि जिम्मेवारी तोकिएको पत्रमा उल्लेख गरिएको छ ।

अध्ययन संस्थानका डीन प्रा.डा. मोहन राज शर्माद्वारा हस्ताक्षरित पत्रमा सूचना अधिकारीको रूपमा सम्पादन गर्नुपर्ने कार्यहरू प्रचलित ऐन तथा नियमावलीको परिधिभित्र रही निष्पक्ष र उत्तरदायी ढङ्गले सम्पादन गर्नुहुने विश्वास लिएको पनि उल्लेख गरिएको छ ।

सूचना अधिकारीको नियुक्तिसम्बन्धी पत्रको बोधार्थ त्रिवि केन्द्रीय कार्यालय अन्तरगत कर्मचारी प्रशासन महाशाखा, सूचना तथा सम्पर्क महाशाखामा पठाइएको छ भने अध्ययन संस्थानका एक दर्जन शाखा, महाशाखाहरूमा सम्प्रेषित गरिएको छ ।