काठमाडौ/चितवन, १३ भदौ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५५३ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न जिल्लाबाट अहिलेसम्म ५५३ जनाको शव फेला परेको हो ।
प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार शुक्रबार साँझसम्ममा रसुवामा १३, धादिङमा ४०, तनहुँमा ३१, नुवाकोटमा ३८, गोरखामा ४७, चितवनमा २२२, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ ।
एक हजार ४७३ जनाको उद्धार
नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म एक हजार ४७३ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाबाट ५७२, नुवाकोटबाट ८९८ र धादिङबाट तीन जना रहेका छन् ।
बाढीमा परी घाइते भएकालाई विभिन्न स्थानबाट उद्धार गरी केहीलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । प्रहरीका अनुसार काठमाडौँका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि घरफिर्ता (डिस्चार्ज) भएका गरी हालसम्म ९७ जना रहेका छन् ।
बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, भन्सार कार्यालय तथा अध्यागमन कार्यालयका कर्मचारीसमेत सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७, सशस्त्र प्रहरी बल नेपालका १३ जना कर्मचारी हालसम्म सम्पर्कविहीन छन् ।
बाढीमा परी सर्वसाधारणसहित हालसम्म दुई हजार ३८१ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धारकार्यलाई तीव्र पारिएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत सम्बन्धित निकायका सुरक्षाकर्मीले सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धारकार्य जारी राखेका छन् ।
शव व्यवस्थापन गर्न जटिल
त्यसैगरी, यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर निधन भएकाको शव व्यवस्थापनमा जटिलता देखिएको छ । नारायणी र त्रिशूली नदी किनारमा मानवसहित पशु चौपायाका शव र अङ्ग फेला परेका छन् । यस्ता शव उचित ठाउँ व्यवस्थापन गर्न कठिन भएको जनाइएको छ ।
नदी किनारबाट शव एम्बुलेन्समार्फत् ल्याइएको छ । भरतपुर अस्पतालमा ल्याइएका शवलाई टेन्टमुनि राख्नुपर्ने बाध्यता छ । भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष एवं फिजिसियन डा भोजराज अधिकारीले शवलाई कुहिने र गन्हाउने समस्या आउन नदिन विशेष चनाखो अपनाउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “यस्तो अवस्थामा पानीजन्य सङ्क्रमणको जोखिम रहन्छ ।”
भरतपुर अस्पतालमा शवको सरसफाई गरी अनुहारको तस्बिर लिने, शरीरमा भएका कुनै चिह्नको पहिचान गर्ने र नम्बर लगाएर औद्योगिक विकास प्रतिष्ठानको कार्यालयमा बनाइएको अस्थायी शव गृहमा राख्ने गरिएको छ । यसको व्यवस्थापन जटिल हुँदा नदीमा फेला परे लगत्तै शव ल्याउन कठिन भएको छ ।
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगाले शव व्यवस्थापन गर्न समस्या भएको बताउनुहुन्छ । अस्पतालसँग केवल २४ शव राख्ने ठाउँ भएको जनाउँदै अहिले २३३ शव आएको बताउनुभयो । तीमध्ये चार जनाको पहिचान भएको छ । पहिचान हुनेमा रसुवाका मदन थापा मगर, भुवन थापा मगर, बाँकेका कबिरलाल चौधरी र नुवाकोटका रामकाजी पौडेल छन् । यहाँ ठाउँ अभावमा शवगृह बाहिर टेन्ट राखेर शवहरु राखिएका छन् ।
भरतपुर अस्पतालमा भर्ना भएका बिरामी निजी अस्पताल र मेडिकल कलेजले निःशुल्क रूपमा बाँडेर उपचार गरिदिए आफूलाई शव व्यवस्थापन गर्न सहज हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो “बिरामी पनि हेर्नुपर्ने र थोरै जनशक्तिमा शवको व्यवस्थापन पनि गर्नुपर्दा समस्या भएको छ ।” प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा बगालेले भन्नुभयो “शव गृह नजिक रहेका भवनका बिरामीलाई बढी प्रभावित हुन नदिन सचेत छौँ ।”
कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)का नेफ्रोलोजिष्ट डा माधव घिमिरे शवको व्यवस्थापन छिटोभन्दा छिटो गर्नुपर्ने बताउनुभयो । यस्तो अवस्थामा झाडापखालादेखि फोक्सोसम्मको सङ्क्रमणको जोखिम फैलिन सक्ने उहाँ बताउनुहुन्छ ।