भोजपुर, ३० जेठ । जिल्ला समन्वय समिति भोजपुरको नर्वौ जिल्ला सभामा निवर्तमान समन्वय प्रमुख सहित स्कुल, विद्यार्थी र नगरलाई सम्मान गरिएको छ । कोशी प्रदेश सांसद बिनोद वान्तवाको प्रमुख आतिथ्यता तथा कार्यवाहक समन्वय प्रमुख अनिशा खडकाको सभाध्यक्षतामा जिल्ला समन्वय समिति भोजपुरको शुक्रवार जिल्ला सभामा भएको हो ।
जिल्लासभामा निर्वतमान समन्वय प्रमुख कमल थुलुङ राईलाई दोसल्ला सहित सम्मान गरिएको छ । समन्वय समितिमा रहँदा खेल्नु भएको भूमिकाको कदर गर्दै उहाँलाई सम्मानपत्र सहित सम्मान गरिएको शाखा अधिकृत मनोज कुमार मेहताले जानकारी दिनुभयो ।
भोजपुरका नौ वटा स्थानीय तहहरु मध्ये महालेखा परीक्षकको ६३ औँ प्रतिवेदन अनुसार कम शून्य दशमलव १६ प्रतिशत बेरुजु ल्याएकोमा भोजपुर नगरकार्यपालिकालाई कदरपत्र प्रदान गरिएको छ । नगर प्रमुख कैलाश कुमार आलेलाई कदरपत्र हस्तान्तरण गरिएको छ ।
यस्तै २०८२ को एसइई परीक्षामा सामुदायिक तर्फ उत्कृष्ट ४ जिपिए ल्याउने जिल्लाको षडानन्द नगरपालिका ११ मा रहेको शारदा माविका छात्रा रितिना राई र सत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने टेम्केमैयुङ गाउँपालिका ८ मा रहेको विद्येश्वर मावि गोगनेलाई पनि सम्मानपत्र र नगद पाँच हजार सहित सम्मान गरिएको छ ।
सोक्रममा जिल्ला समन्वयमा कार्यरत कार्यालय सहयोगी रविन खडकालाई पनि उत्कृष्ट कार्य गरेकोमा नगद दुई हजार पाँच सय र सम्मानपत्रबाट सम्मान गरिएको छ । सम्मानितहरुलाई प्रमुख अतिथी प्रदेश सांसद बिनोद वान्तवा र कार्यवाहक समन्वय प्रमुख अनिशा खडकाले सम्मान गर्नुभयो । यस्तै सभाले पेश भएका विषयहरू सर्वसम्वतरुपमा छलफलपछि पास भएको थियो ।
सभा सदस्य चन्द्र किरातीले आगामी आर्थिक बर्षका नीति तथा मार्गदर्शनहरु सहित समन्वय समितिका तर्फबाट भएका कार्य तथा अनुगमनका बिषयमा प्रतिवेदन पेश गर्नु भएको थियो । कार्यसुची अनुसार कार्यवाहक समन्वय प्रमुख खडकाले पेश गर्नु भएको विषयहरू छलफलपछि सर्वसम्मतरुपमा सभाले पास गरेको थियो ।
सभामा पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, समन्वय समितिका सदस्यहरू, समन्वय अधिकारी, कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।