सोमबार २५ साउन, २०८३

नेपाली समय

प्रतिनिधिसभाः सांसदद्वारा शुद्धपानीदेखि सार्वजनिक शौचालय व्यवस्थापनको विषय उठान

प्रतिनिधिसभाः सांसदद्वारा शुद्धपानीदेखि सार्वजनिक शौचालय व्यवस्थापनको विषय उठान

काठमाडौँ, २९ जेठ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले शुद्ध खानेपानीदेखि राजमार्गमा सार्वजनिक शौचालयको व्यवस्थापन गर्नुपर्नेलगायतका जनसरोकारका विषय उठान गर्नुभएको छ ।

सांसद आशिका तामाङले राजमार्गमा प्रत्येक एक सय मिटरको दूरीमा सार्वजनिक शौचालय निर्माण गर्न माग राख्नुभयो । सांसद अम्बिका विकले पानी उत्पादन गर्ने कम्पनीलाई गुणस्तरता कायम गर्न र पिउने योग्य पानी आमनागरिकको पहुँचमा पुग्न सक्ने वातावरण सिर्जना गर्न माग गर्नुभयो ।

सांसद अनुष्का श्रेष्ठले नेपाल सरकारको सबै वेबसाइटलाई चुस्त र प्रभावकारी बनाउनु आग्रह गर्नुभयो ।  सांसद डा अमरेशकुमार सिंहले सुशासनको लागि राष्ट्रिय सदाचार नीति अवलम्बन र सरकारी सार्वजनिक गुठी जग्गाको प्रतिवेदन कार्यान्वयन गर्न माग गर्नुभयो । 

सांसद अम्बिकादेवी सङ्ग्रौलाले विभिन्न संस्थामा हाल रिक्त भएका पदहरू पूर्ति गर्न माग गर्नुभयो ।  सांसद अरबिन्द साहले शिक्षा, स्वास्थ्य, मालपोतलगायत क्षेत्रको सेवामा गुणस्तर कायम हुनुपर्ने बताउनुभयो । सांसद डा अर्जुनकुमार कार्कीले शिक्षा प्रणालीको सुधारबारे शिक्षकको उच्च मनोबल बढाउन आग्रह गर्नुभयो । सांसद अर्जुननरसिंह केसीले जनताप्रति प्रधानमन्त्रीको जवाफदेहिताको माग गर्नुभयो । सांसद आकृति अवस्थीले विमानस्थलहरुमा हुने उडानको ढिलाइका कारण यात्रुहरूले भोग्नुपरेको सास्तीबारे ध्यानाकर्षण गराउनुभयो ।

सांसद आनन्दबहादुर चन्दले तरकारी विषादी जाँच प्रयोगशालाको गुणस्तरीयताको विषय उठाउनुभयो । सांसद् आरेन राईले बाँदर व्यवस्थापन कहिले हुन्छ सरकार ? भनी प्रश्न गर्नुभयो ।   

सांसद आशा झाले जीर्ण अवस्थामा रहेको विराटनगर जुटमिल सञ्चालन गर्न जोड दिनुभयो । सांसद ऐनबहादुर महरले सरकारको बजेट, नीति तथा कार्यक्रममा बझाङ जिल्ला समेटिनुपर्ने बताउनुभयो । सांसद ओजस्वी शेरचनले मेडिकल क्षेत्रमा कार्यघण्टा व्यवस्थित गर्न र उचित पारिश्रमिक व्यवस्थापन गर्न माग राख्नुभयो । 

सांसद अङ्किता ठाकुरले रात्रिकालीन भत्ता वृद्धि सबै स्वास्थ्यकर्मीमा समान रूपमा लागू गर्न आग्रह गर्नुभयो । सांसद खुश्बु ओलीले राज्यले दिने कृषि अनुदान वितरणमा हुँदै आएको विकृतिबारे ध्यानाकर्षण गराउनुभयो । सांसद गणेश कार्कीले पूर्वाञ्चल विश्वविद्यालयको बेथिति सुधार्न सरकारको ध्यानकेन्द्रित गर्नुभयो । 

सांसद गणेश पौडेलले रौतहट जिल्लाका नदी दोहन भइरहेको बताउँदै गैरकानुनी रूपमा क्रसर प्रयोग कार्य नियन्त्रण गर्न ध्यानाकर्षण गराउनुभयो । सोही समयमा सांसद गणेशबहादुर विश्वकर्मा, गणेशसिंह ठगुन्ना, गीताकुमारी सेन्दाङ, गुरुप्रसाद बरालले विपी राजमार्ग अत्यन्त दूरावस्थामा रहेको बताउँदै छिटोभन्दा छिटो मर्मत गर्न सरकार समक्ष आग्रह गर्नुभयो । 

यसैगरी, सांसद गोपाल शर्मा, गोविन्द पन्थी, गङ्गादेवी श्रेष्ठ, गङ्गालक्ष्मी अवाल, चन्दनकुमार सिंह, चन्द्रेश्वर मण्डल, एशुदाकुमारी बराल र गणेश धिमाल, कन्हैया बनिया, कमल सुवेदी, कामिनी कुमारी, कालीबहादुर सहकारी, कुलभक्त शाक्य, कुशुम महर्जन, कृपा महर्जन, कृपाराम राना, कृष्णहरि बुढाथोकी, केपी खनाल, खगेन्द्र कर्ण, खगेन्द्र सुनार, खडकबहादुर बुढा, खड्ग शाहीले सार्वजनिक सरोकारका विषयमा ध्यानर्कषण गराउनुभएको थियो ।