काठमाडौँ, २३ वैशाख । यही वैशाख १७ गते काठमाडौँ महानगरपालिका–२९ इन्द्रचोकस्थित गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका डल्लु बस्ने ३४ वर्षीय अरुण भुजेल, भक्तपुर ठिमी नगरपालिका–९ बोडे बस्ने ३० वर्षीय विकेश राजवाहक तथा ललितपुर महालक्ष्मी नगरपालिका–६ का हरिकृष्ण महर्जन रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले राससलाई जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “इन्द्रचोकस्थित एक गहना पसलमा वैशाख १७ गते पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जनालाई पक्राउ गरिएको छ । उनीहरूका बारेमा थप अनुसन्धान भइरहेको छ ।” पक्राउ परेकाहरूले गहना (ज्वेलरी) पसलमा पेस्तोल ताक्दै लुट्ने प्रयास गर्ने क्रममा पसलमा रहेकी महिलाले उनीहरूलाई प्रतिकार गर्दै भगाएको र उक्त भिडियोका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक भट्टले बताउनुभयो ।